खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कडा चट्टान नै चट्टानले ढाकिएको ककनी डाँडालाई ‘रक गार्डेन’कारुपमा विकास गर्ने तयारी थालेको छ। त्रि–धार्मिकस्थल हलेसी नजिकै रहेको ककनी डाँडालाई पर्यटकीय क्षेत्रकारुपमा विकास गर्नका लागि नगरपालिकाले ढुंगे बगैँचाकारुपमा विकास गर्ने तयारी थालेको हो। विभिन्न आकृतिका ढुंगैढुंगाले ढाकिएको डाँडालाई रक गार्डेनकारुपमा विकास गर्नका लागि डिपिआरको काम अन्तिम चरणमा पुर्याइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने ककनी डाँडामा करिब १६० रोपनी सरकारी जग्गा चट्टानै–चट्टानले ढाकिएको छ। सिंगो डाँडा खोपेर बनाएजस्ता चुच्चो–चुच्चो परेका ढुंगाले ढाकिएको छ। त्यसमध्ये ५६ रोपनी जग्गाभित्रका चट्टानलाई समेटेर रक गार्डेन बनाउने लक्ष्य राखिएको छ। प्राकृतिक चट्टानले बनेको ककनीको मन्दीरभन्दा केहीमाथि रहेकाले ककनीमा पुग्ने पर्यटकलाई रक गार्डेनमा पुर्याउन सकिने सम्भावना रहेको मेयर राईले बताए। हलेसीमा आए लगत्तै फर्किने पर्यटकलाई घुमफिर गराउने र केही दिन अलमल्याउने उपायको खोजीमा ककनी डाँडामा रक गार्डेनको परिकल्पना गरिएको हो।
रक गार्डेन बनाउनका लागि डाँडामा रहेका कुनै पनि ढुंगालाई नबिगारी/नचलाई सजावटका काम गरिने तयारी गरिएको छ। ‘ककनीडाँडामा सुन्दर र कलात्मक आकृतिका ढुंगा छन्, हामी त्यसलाई अशर नपुग्ने गरी सजावटका काम मात्र गर्ने छौँ,’ मेयर राईले भने, ‘यसलाई नगरपालिकाको महत्वपूर्ण पर्यटकीय क्षेत्रकैरुपमा विकास गर्ने हाम्रो लक्ष्य हो।’
ककनीडाँडा उत्तरतर्फका हिमश्रृंखला र वरपरका दृश्यावलोकनका लागि चर्चित छ। झट्ट हेर्दा बालुवा सिमेन्टले बनाएजस्ता सेतो रंगका ढुंगाले ढाकिएको ककनी डाँडा वारपार गर्न ३० मिनेटदेखि ४५ मिनेट लाग्छ। मध्यपहाडी लोकमार्गबाट पैदल उकालो करिब ३० मिनेटमा पुग्न सकिने सो ठाउँमा स्थानीय घुमफिर र पिकनिक जाने गरेका छन्। रक गार्डेन बनाएपछि सो डाँडालाई ‘चुरेडाँडा रक गार्डेन’ नामाकरण गर्ने प्रस्ताव गरिएको छ।
ककनी डाँडालाई आकर्षकस्थल बनाउनका लागि प्राकृतिकरुपमै सजिसजाउ ढुंगालाई सजाउने, ढुंगाका बीचबीचमा सुहाउँदो फूल रोप्ने, ठाउँ–ठाउँमा ढुंगे गेट बनाउने, ढुंगे धारा निर्माण गर्ने, ढुंगा कुँदेर महादेवलाई भस्मासुरले लखेटेको दृश्य झल्काउने मूर्ती बनाउने, प्राकृतिक ढुंगालाई नचलाईकन कालो, सेतो र रातो ढुंगा मिश्रण गरेर फूलको आकृति बनाउने, विभिन्न कला संस्कृति झल्कने सजावट गर्ने तयारी गरिएको छ।
यस्तै, सगरमाथा लगायतका हिमालको तस्बिर खिच्न, दृश्यावलोकन गर्न र रम्नका लागि ढुंगाकै स–साना गेट निर्माण गर्ने, रक गार्डेनको चारैतिर तारवार तथा वाल लगाउने, एक क्षेत्रबाट अर्को क्षेत्र पुग्नका लागि ढुंगाकै कलात्मक सिँढी निर्माण गर्ने, पर्यटक बिसाउने वा रिल्याक्स गर्नका लागि डाँडाडाँडामा काठबाट बनेको बिसौनी राख्नेगरी डिपिआरको काम भइरहेको मेयर राईले बताए।
यस बाहेक रक गार्डेनमा विद्युत, पिउनेपानी, विश्रामस्थल, केवलकार, भोजनालयसम्मको परिकल्पना गरिएको छ। ककनी डाँडाकै एकापट्टीको भीरमा रक क्लाइबिङको सम्भावना छ। आवश्यक संरचना निर्माण गर्न सके ककनी डाँडा पर्यटकको गन्तव्यस्थलकारुपमा विकास हुने सम्भावना रहेको स्थानीय रेवती केसीले बताए। भस्मासुरले महादेवलाई लखेट्दा ककनी डाँडामा महादेवको पाईला परेपछि कलात्मक ढुंगा निस्किएको किंवदन्ती रहेको छ।
प्रकाशित: १० फाल्गुन २०७६ ०८:३८ शनिबार