काठमाडौं - प्याकेजिङ तथा खाद्य प्रशोधन उपकरणसम्बन्धी एक्स्पो ‘प्याकप्रोटेक २०१९’ काठमाडौंमा हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको प्रांगणमा फागुन २८ देखि ३० गतेसम्म एक्स्पो हुन लागेको हो। पहिलो एक्स्पो मेसे इन्डिया, इन्स्टिच्युट अफ प्याकेजिङ मेसिनरी म्यानुप्याक्चरर्स अफ इन्डिया तथा इआरएम कन्सेप्ट्सको संयुक्त आयोजनामा गर्न लागिएको हो ।
नेपालको खाद्य तथा एफएमसिजी बजार १७ प्रतिशतको द्रुत दरमा वृद्घि भइरहेको छ, जुन विश्वको औसत दुईदेखि तीन प्रतिशतको आँकडाभन्दा धेरै गुणा ठूलो हो । नेपालमा चाउचाउ, कन्फेक्सनरी र चुरोटको बजार सबैभन्दा बढी वृद्घि हुने क्षेत्रमा पर्छन् भने पेय पदार्थ २० प्रतिशत र वस्तु उत्पादनको वृद्घि २५ प्रतिशतमा रहेको छ । यसैगरी, प्लास्टिक उद्योग ११ प्रतिशतको दरले वृद्घि भइरहेको जारी विज्ञप्तिमा उल्लेख छ।
थोरै लगानी तथा कामको माग रहेको नेपाली बजारमा प्याकप्रोटेक २०१९ ले संसारमा प्रचलित विभिन्न प्याकेजिङ तथा यसमा आएका प्रविधिको प्रदर्शन गर्नेछ । एक्स्पोमा फ्लेक्जिबल प्याकेजिङ सिस्टम, सेकेन्डरी प्याकेजिङ, कार्टन र विभिन्न प्रकारका लेबलहरुको पनि प्रदर्शनी गरिने आयोजकले जनाएको छ।
एक्सपाेमा प्याकेजिङ इनोभेसन एण्ड सोल्युसन शीर्षकमा एकदिने सम्मेलन हुनेछ । फागुन २९ मा हुने सम्मेलनमा प्याकेजिङको महत्व र यसबाट व्यापारलाई हुने फाइदाका बारेमा जानकारी दिइनेछ । यो सम्मेलनले प्याकेजिङ प्रविधिहरु नेपाली बजारमा बृहत् रुपमा चिनाउने छ र सहकार्यका अवसरहरु नेपाली व्यापारीलाई दिनेछ । सम्मेलनका साथसाथै फागुन २८ र ३० गते ‘पिच सेसन’ हुनेछन्, जसमा यस उद्योगका अनुभवी कम्पनी/व्यक्तिद्वारा प्याकेजिङ सम्बन्धी प्रस्तुति गरिने बताइएको छ ।
करिब सयवटा स्टल राखिने यस एक्स्पोमा प्याकेजिङ, प्रिन्टिङ, खाद्य प्रशोधनका उपकरण, एफएमसिजी, फर्मास्युटीकल्स आदिसँग सम्बन्धित कम्पनी र व्यक्तिहरुको उपस्थिति रहनेछ । प्याकप्रोटेक नेपालको एकमात्र प्याकेजिङ इभेन्ट हो । कम्पनी तथा ब्रान्ड, खाद्य–प्रशोधन तथा पेय पदार्थ, फर्मास्युटीकल्स उपकरण तथा वस्तु उत्पादनसँग सम्बन्धित उद्योगमा संलग्न व्यक्तिहरुको सहभागिता यस एक्स्पोमा रहने बताइएको छ।
प्रकाशित: २६ फाल्गुन २०७५ ०५:१० आइतबार