पछिल्लो समय ग्रामीण क्षेत्रमा गुन्द्री बुन्ने चलन हराउँदै छ। प्लाष्टिकका गुन्द्री बजारमा प्रशस्त पाइन थालेपछि पराल तथा गुदका गुन्द्री बुन्ने चलन लोप हुँदै गएको स्थानीय बताउँछन्।
हाल आधुनिकतासँगै जनजीवन परिवर्तन भएर कुर्सीको प्रयोग गर्नेको संख्या बढ्न थालेपछि गुन्द्रीमा बस्ने व्यवहारमा पनि परिवर्तन आउन थालेको छ। सहरी क्षेत्रका साथै ग्रामीण क्षेत्रमा पनि अधिकांशले अहिले प्लाष्टिकका कुर्सी उपयोग गर्दछन्।
परालको गुन्द्रीसँगै सीमान्तकृत दरै (दराई) समुदायले प्राकृतिक तथा जैविक कच्चा पदार्थ प्रयोग गरी गुदको गुन्द्री बुन्ने गर्दछन्। तनहुँको व्यास नगरपालिका– १ भादगाउँका ६८ वर्षीया मनसुलीमाया दरैले सानो उमेरदेखि गुदको गुन्द्री बुन्दै आएको बताइन्। उनले भनिन्, ‘साउन अन्तिमदेखि कात्तिकसम्म गुद संकलनका लागि विभिन्न स्थानमा जानुपर्छ। पुस, माघमा हर्रोको लेदोले पोतेर सुकाइन्छ। प्राकृतिक रुपमा जंगलमा रहेका कच्चापदार्थ संकलन गरी माघ, फागुन र चैतसम्म बुन्ने गरेका छौं।’
गुदको गुन्द्री बुन्ने निकै समय र मेहनत लाग्ने मनसुलीमायाले जानकारी दिइन्। ‘राम्रो र बुट्टेदार देखिए पनि बुन्न भने लामो समय लाग्छ। मौलिक संस्कार र संस्कृति जोगाउन हामीले अझै गुदका गुन्द्री बुन्ने गरेका छौं’, उनले भने। अतिथि सत्कार मात्रै नभई संस्कार र पहिचानका लागि पनि गुन्द्री बुन्ने गरिएको उनको भनाइ छ।
स्थानीय ६६ वर्षीया फूलमाया दरैले भनिन्, ‘पहिले–पहिले त बाबियाको डोरीले गुन्द्री बुनिन्थ्यो। अहिले फेरिँदै गएको छ। हामी अल्छी हुन थालेका छौं। अहिले सुतरीको डोरीमा नै गुदको गुन्द्री बुन्छौं।’ पहिलेपहिले धेरै ठाउँमा पाइने गुद अहिले पाउन अलि कठिन हुन थालेको उनको अनुभव छ।
फूलमायाले भनिन्, ‘पहिले त चार÷पाँच दिन लगाएर विभिन्न स्थानमा पुगेर खोला किनारमा पाइने गुद लिएर आउने गथ्र्यौं। ल्याएर घाममा सुकाएर पुस लागेपछि भने बुट्टेदार गुन्द्री बुन्नका लागि रंग्याउने कार्य थालनी हुन्छ।’ साधाभन्दा बुट्टेदार बुन्ने प्रचलन बढी रहेको भन्दै यो आकर्षित पनि देखिने उनले बताइन्।
पहिले हिँडेर गुद ल्याउने गरिएको थियो भने अहिले सवारीसाधनमा जाने हुँदा एकै दिनमा ल्याउने गरिएको फूलमायाले बताइन्। सुविधाको पनि उपयोग गरिरहेको भन्दै परालको भन्दा गुदको गुन्द्री बुन्न कठिन हुने उनको अनुभव छ। ‘परालको गुन्द्रीमा बिट सजिलो हुन्छ। गुदको गुन्द्रीमा बुट्टासँगै बिट मार्नै फरक तरिका हुने भएकाले अलि समय लाग्छ’, उनले भनिन्।
परालको गुन्द्रीमा जस्तो बिटले गुदको गुन्द्री एकैछिनमा फुस्किने भएकाले पनि यो फरक तरिकाले बनाउनुपर्ने फूलमायाले बताइन्। ‘यो फरक र कसिलो हुन्छ। जोकोहीलाई यो बिट मार्नै मुस्किल हुन्छ। अहिलेका बच्चा सिक्नै मान्दैनन्’, उनले भनिन्, ‘बस्न र चलाउन खोजे पनि कच्चापदार्थ खोज्न सहज छैन। अलि बुढा भइसकेका महिला सकिएपछि हाम्रो त गुदको गुन्द्री पनि हराउँछ होला।’
हर्रोको बोक्रालाई पानीमा उमालेर बनाइएको लेदो गुदमा लगाइ घाममा सुकाइन्छ। सुकाइसकेपछि हिलो गाडेर कालो बनाउनु पर्दछ। दरै समुदायका महिलाले कालो र सेतो रङमा बुट्टा बनाएर गुन्द्री बुन्ने गर्दछन्। हिलो राम्रो नभएको स्थानमा गाड्दा कालो राम्रो नआउने उनीहरुको भनाइ छ।
हिलोमा गाडेर कालो भएपछि घर ल्याएर सुकाई केही समय राखेर मात्रै बुन्न सकिन्छ। ४५ वर्षीया सुनिता दरैले भनिन्, ‘मेरो छोरा २४ वर्ष लाग्यो। मैले छोरा नपाउँदै बुनेको गुदको गुन्द्री अझै राम्रै छ। गुदको गुन्द्री टिकाउ पनि हुन्छ।’ साथीहरुसँग गुद खोज्न जाने गरिएको भन्दै हालसम्म परम्परा जोगिए पनि पुस्ता हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको उनले बताइन्।
ज्येष्ठ र अधबैंसे महिलामा यो आकर्षण भए पनि युवामा चासो नदेखिएको सुनिताको भनाइ छ। विगतमा पुरुष र महिला भएर जाने गरे पनि हाल महिला मात्रै गुद खोज्न जाने उनले बताए। संस्कार र संस्कृतिसँग नै जोडिएकाले संरक्षण गर्नुपर्ने उनीहरुको जोड छ।
आधुनिक परिवेशसँगै फेरिँदै गएको नयाँ प्रविधिको गुन्द्री (म्याट) भन्दा बढी प्राकृतिक तथा जैविकरुपमा बुनिएका गुदका गुन्द्री उपयुक्त हुने भादगाउँ दरै समाजका कोषाध्यक्ष वीरबहादुर दरैले बताए। ‘पहिले हामीलगायत पुरुषसमेत गुद खोज्न जाने गरेका थियौं। अहिले पुरुष गुद खोज्न जान छाडेका छन्’, उनले भने, ‘हाम्रो समुदायको हरेक संस्कारमा आवश्यक मानिएको गुदको गुन्द्री बुन्ने प्रचलन लोप हुँदै छ। यसको संरक्षणमा सबै जुट्नुपर्ने देखिएको छ।’
जन्मदेखि मृत्यु संस्कारका लागि अन्य किसिमका गुन्द्री दरै समुदायले उपयोग गर्दैनन्। आफूसँग नभएको अवस्थामा खोजेर ल्याउने गरिन्छ। मृत्यु संस्कारबाट मुक्त हुनका लागि पनि गुदको गुन्द्रीमा बसेर कर्म गर्ने प्रचलन दरै समुदायमा रहेको भन्दै यसको संरक्षण गर्नुपर्नेमा कोषाध्यक्ष वीरबहादुरले जोड दिए।
दरै उत्थान समाज नेपालका वरिष्ठ उपाध्यक्ष चीजबहादुर दरैले व्यास नगरपालिका, ऋषिङ र घिरिङ गाउँपालिकामा बसोवास गर्ने दरै समुदायका महिलाले गुद खोज्न टाढा पुग्नुपर्ने अवस्था रहेको बताए। गुद खोला किनारमा पाइने भएकाले यसको कच्चा पदार्थ संरक्षणमा तीनै तहका सरकारको सहयोग आवश्यक रहेको उनले बताइन्।
‘खोला, नदी किनारमा पाइने भएकाले कच्चा पदार्थ संरक्षण गर्नु पहिलो प्राथमिकता हो। पहिले दरै समुदायले मात्रै प्रयोग गर्ने गरिएको थियो’, उपाध्यक्ष चीजबहादुर भन्छन्, ‘यसको उपयोगिता दीर्घकालीन हुने हुँदा अन्य जातिले पनि सिक्ने प्रचलन बढ्दै गएको छ। जसले गर्दा अझ यसको कच्चा पदार्थ पाउन मुस्किल बन्दै गएको छ।’ खोला, नदीनाला किनारमा पाइने कच्चा पदार्थलाई संरक्षण गर्दै गुदको गुन्द्री बुन्ने प्रचलन प्रवद्र्धन गरी व्यावसायिक बनाउन आवश्यक रहेको उनको भनाइ छ।
बुट्टेदार राम्रा र बलिया गुदका गुन्द्री लामो ससम्म टिकाउ हुने भएकाले पनि बजारमा माग हुने गरेको स्थानीय महिला बताउँछन्। मेहनत र समय बढी लाग्ने भएकाले यसको मूल्य महँगो हुने दरै समुदायले जनाएको छ। गर्मी समयमा बिछ्याउँदा सितलता दिने विशेषता रहेको गुदको गुन्द्री ३० देखि ३५ वर्षसम्म टिक्छ।
गाउँघरमै हुने जैविक कच्चा पदार्थ उपयोग गरी बुनिने गुदको गुन्द्रीको प्रयोग मानवीय र वातावरणीय स्वास्थ्यका दृष्टिले लाभदायक छ। मौलिक संस्कृति तथा जैविक पदार्थको संरक्षण गरी दरै समुदायमा स्वरोजगार सिर्जना गर्न आवश्यक छ। गुदको गुन्द्री उत्पादनलाई आयआर्जनसँग जोड्नतर्फ सरोकारवालाको ध्यान जानुपर्ने स्थानीयको माग छ। –रासस
प्रकाशित: २ चैत्र २०८० १४:०८ शुक्रबार