८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

किसानलाई उन्नत घाँस दिँदै जुम्ला पशु कार्यालय

जुम्लाका किसानले उन्नत घाँस पाउने भएका छन्। जुम्लामा घाँस अभावले पशु चौपाया पालन गर्न कठिनाइ भएपछि पशु अस्पताल तथा पशु सेवा कार्यालयले जुम्लाका किसानलाई उन्नत घाँस उपलब्ध गराउन लागेको हो।

पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ्थापाका अनुसार जसका लागि विभिन्न उन्त जातका घाँसका बिउहरूको नुमना परीक्षण भइरहेको छ। बुढ्थापाले पशुपालनको मुख्य चुनौती घाँसको अभाव भएको बताउँछन्।

उनले भने, ‘बढ्दै गएको जनसंख्याका कारण चरिणचरणका क्षेत्र अतिक्रमण हुँदै छन्। घाँस उत्पादन हुने क्षेत्र नै नभए पनि घाँस अभाव भएको देखिन्छ। घाँस अभाव हुन नदिन घरबारी र खेतबारीमै लगाउन मिल्ने उन्नत घाँसका जात किसानलाई उपलब्ध गराउने योजना बनाएको छ’, उनले भने।

टेलफस्क्यु, कक्सफुड, चाइनिज राइ र लुसुन जातको घाँसको बिउ किसानले लिइसकेका छन्। विगत तीन वर्ष पहिलेदेखि नमुना परीक्षण गरेर यो जुम्लाका दर्जन किसानलाई घाँसको बिउ दिइएको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ।

केही समययता रेडप्लोभर, नेपियर, जइलगायतका विभिन्न जातका डालेघाँसको परीक्षण भइरहेको बुढ्थापाले नागरिकसँग बताए। अघिल्लो वर्ष जई नामक घाँस ११ क्विन्टल किसानलाई उपलब्ध गरिएको थियोे।

‘जुम्लामा हिउँदका १२ महिना हरियो घाँस पाइँदैन। त्यसका लागि सुकेको संकलित घाँस संरक्षण गर्ने विधि सिकाइरहेका छौं,’ प्रमुख ज्ञानेन्द्र सिंहले भने, ‘घाँस संकलन गर्ने परम्परागत विधि परिवर्तन गर्दैंछौं। यो अपरिहार्य छ। किसानलाई टौवा सिस्टममा घाँस संकलन गर्न आग्रह गरिएको छ। पशुलाई घाँस खुवाउने विधि र उन्नतजातको बिउ दिइरहेको अवस्था छ।’

घाँस काट्ने समयका बारेमा किसानलाई सुझाव दिइरहेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ। घाँस काट्नुपर्ने भदौ अन्तिमसम्म हो।’ यो अवस्थामा घाँस फुलेर फल लागिसकेको हुँदैन’, उनले भने, ‘असोज–कात्तिकमा घाँस काट्ने भएकाले सुकिसकेको घाँसमा पशुलाई चाहिने प्रोटिन नष्ट हुने गर्दछ।’

तीव्र जनसंख्या वृद्धिका कारण चरिचरण क्षेत्र अतिक्रमण भएकाले पशुपालनमा संकट हुँदै आएको सिंजा– ५ का किसान सोभखर बुढाले बताए। उनी भन्छन्, ‘पहिले एउटै घरमा न्यूनतम एक सय एक हजारसम्म भेडा पालिएका हुन्थे। १० देखि २० गाइगोरु पालिरहेका हुन्थे। बाख्रा, घोडा, खच्चरसमेत प्रायः प्रत्येक घरमा पालिरहेका हुन्थे। तर अहिले मुस्किलले एक घरमा बढीमा एक सय भेडा पालिएको भेटिन्छ। गाइगोरु त अधिकांश घरमा पाल्नसमेत छाडिसकेका छन्।’

पहिले भेडाहरू सुर्खेत, दैलेख, अछाम र जाजरकोटमा हिउँदमा पाल्न लैजाने जुम्लाको चलनचल्ती थियोे। घोडा–खच्चर सुर्खेतसम्म लिन्थ्यौं । उनले भने, ‘तर घोडा खच्चड त लोप हुँदै गइरहेका छन्। चरण क्षेत्र छैन। पशुवस्तु पाल्न किसानलाई निकै कठिन छ।’

अर्का किसान हरिबहादुर बुढाले भने, ’थोरै भए पनि किसानलाई पशुपालनका लागि सहज होस् भनेर उन्नत जातका घाँस उत्पादनमा पशु सेवा कार्यालयले जोड दिइरहेको छ।’

जुम्ली खेतबारीमा हुने घाँसको मात्रा मिलाएर खुवाउन पनि सल्लाह दिइरहेको पशु विज्ञहरू बताउँछन्। पशु अस्पताल तथा पशु सेवा कार्यालयको तथ्यांकमा हेर्दा जुम्लामा गाइगोरुको संख्या ६४ हजार ७ सय ४७ छ।

भैंसी राँगा २ हजार ८ सय ६४, खसी, बोका र बाख्राको सख्या ४६ हजार ३ सय ६ र भेडाभेडीको संख्या ८४ हजार ३ सय ८८ रहको कार्यालय प्रमुख बुढ्थापाले बताए। चौंरीहरू ५ सय ८७ र घोडा खच्चड १ हजार ३ सय ६० छन्।

प्रकाशित: १४ फाल्गुन २०८० ०७:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App