९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

चार वर्षमा सुनको मूल्य दोब्बर, अहिले उछाल आउनुको कारण इजरायल–हमास युद्ध

कात्तिक ३० गते नेपाली बजारमा प्रतितोला एकलाख १३ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य दोस्रो दिन मंसिर १ गते एकाएक दुई हजार तीन सय बढेर एकलाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। 

त्यसयता लगातार सुनको मूल्य लगातार उकालो लागेर दिनहुँ नयाँ रेकर्ड कायम गर्दै चुलिइरहेको छ। आजसम्म आइपुग्दा छापावाल सुनको मूल्य एकलाख २० हजार ८०० पुगिसकेको छ। यस्तै तेजाबी सुनको मूल्य प्रतितोला एकलाख २० हजार २०० सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

नेपाली बजारमा यसरी ह्वात्तै सुनको मूल्य आकाशिदैँ जानुको कारण इजरायल–हमास युद्ध रहेको व्यवसायीहरू बताउँछन्। ‘सुनको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजारकै प्रभाव हुन्छ। हामीले यहाँबाट केही गर्दैनौँ,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मानिकरत्न शाक्यले भने, ‘अहिले ह्वात्तै बढ्नुको एक मात्र कारण त इजरायल–हमास युद्ध हो।’

महासङ्घकै महासचिव धर्मसुन्दर बज्राचार्य पनि शाक्यको धारणासँग सहमत छन्। ‘अहिले इजरायल–हमास युद्धकै प्रभावले मूल्य बढेको हो,’ उनले भने,‘अर्कोतर्फ विश्व बजारमा बढ्दै गएको आर्थिक मन्दीले पनि सुनको अन्तर्राष्ट्रिय मूल्यमा प्रभाव पारिरहेको छ।’ बज्राचार्यले बजारमा मन्दी चलिरहँदा लगानीकर्ताहरूले व्यवसायी लगानीमा, सेयर बजारमा लगानी गर्न नचाहेर सुनमा लगानी गर्न थालिरहेका छन्। ‘सुन तुलनात्मक रुपमा सुरक्षित र विश्वभर सर्वस्वीकार्य सम्पत्तिको रुपमा रहेकाले धेरैले सुन किनेर राख्न थालेको बताइन्छ। यसरी एकै पटक सुनको माग बढेपछि पनि सुन महँगिएको हो,’ बज्राचार्यले भने।

नेपाली बजारमा सुनको मूल्यश्रृंखला उछाल मार्न थालेको कोभिड–१९ को महामारी देखि नै हो। २०७६ सालको साउनमा प्रतितोला ६८ हजार रुपैयाँको हाराहारीमा सुनको कारोबार भइरहेको थियो। त्यसपछि कोभिड–१९ को महामारी, रुस–युक्रेन युद्ध र अहिले आएर हमास–इजरायल युद्धको प्रभावले चार वर्षमै सुनको मूल्य दोब्बर भएको छ।

प्रकाशित: १७ मंसिर २०८० ०७:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App