नेपाल विद्युत् प्राधिकरणले कोसी प्रदेशका मोरङ र सुनसरी जिल्लास्थित औद्योगिक करिडोरमा प्रवाहित विद्युत्लाई भरपर्दाे बनाउने भएको छ। प्राधिकरणले त्यस क्षेत्रका औद्योगिक र अन्य ग्राहकलाई भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरणतर्फका चालु लाइनहरूको सुधार गर्ने, नयाँ लाइन बनाउने, सबस्टेसनहरूको क्षमता स्तरोन्नति गर्ने र नयाँ सबस्टेसन निर्माणलाई योजनावद्ध रूपमा अगाडि बढाउने दाबी गरेको छ।
मोरङ र सुनसरीका उद्योगीहरूले मुख्य रूपमा गर्मीयाममा उद्योगहरूमा पटकपटक लाइन जाने र आउने (ट्रिपिङ) हुने गरेको गुनासो गर्दै आएका छन्। यसलाई सम्बोधन गर्न प्राधिकरणले मोरङ र सुनसरी औद्योगिक करिडोरमा विद्युत् आपूर्तिका लागि सुनसरीको दुहबीस्थित १३२ केभी ग्रिड सबस्टेसनको भार (लोड) घटाउन पुराना लाइनहरूको सुधार र थप लाइन तथा सबस्टेसन निर्माण गरिरहेको छ।
केहीअघि सञ्चालनमा आएको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित ४०० केभी क्षमताको इनरूवा सबस्टेसनबाट विद्युत् आपूर्ति गर्नका लागि प्रसारण तथा वितरणतर्फका लाइन र सबस्टेसन निर्माणाधीन छन्।
इनरूवामा ४००, २२०, १३२ र ३३ केभी प्रणालीमा आधारित सबस्टेसन भएकाले त्यहाँबाट स्थानीय रूपमा विद्युत् आपूर्ति गर्न सकिने छ। यसले गर्दा दुहबी सबस्टेसनमा हाल रहेको विद्युत् आपूर्तिको भार घट्ने छ।
अरूण तथा तमोर नदी र तिनीहरूका सहायक खोलानालामा निर्माण गरिएका/हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् कोसी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरूवा सबस्टेसनमा जोडिने छ।
ताप्लेजुङ, पाँचथर, इलाम जिल्लास्थित खोलाहरूमा उत्पादित विद्युत् काबेली करिडोर प्रसारण लाइन हुँदै झापाको दमकमा आउने छ। यसले गर्दा त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि स्रोतको अभाव छैन।
सुनसरी र मोरङको विद्युत् आपूर्ति सुधार र १३२ केभीको दुहबी तथा विराटनगर क्षेत्रमा रहेका ३३/११ केभी रानी र टंकिसिनुवारी सबस्टेसनहरूको भार घटाउन १३२ विराटनगर सबस्टेसन निर्माणाधीन छ। सुनसरीको बर्जु गाउँपालिकामा निर्माणाधीन सबस्टेसनसम्म विद्युत् पुर्याउन इनरूवा सबस्टेसनबाट १३२ केभी प्रसारण लाइन निर्माण भइरहेको छ।
ठेकेदार कम्पनी सानडोङ ताइकाई इन्जिनियरिङ र मुडभरी एन्ड जोशी कन्सट्रक्सनको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेसन निर्माणमा ढिलाइ भइरहेको छ।
सबस्टेसनमा रहने उपकरणहरू राख्न आवश्यक अधिकांश सिभिल संरचनाहरू निर्माण भइसकेका छन्। सबस्टेसनका अधिकांश उपकरणहरू पनि निर्माणस्थलमा आपूर्ति भइसकेका छन्। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केहीअघि निर्माणस्थलको अनुगमन गरी आगामी फागुनभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिए।
आगामी फागुनभित्र निर्माण सम्पन्न गर्न नसकिए विद्युत् उपलब्ध भएर पनि आपूर्ति दिन नसकी बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै यस्तो संवेदनशील आयोजनाको काम उक्त अवधिमा नसकिएमा कारबाही गर्ने चेतावनी उनले दिएका छन्।
त्यस क्षेत्रका ओद्योगिक करिडोरमा रहेको विद्युत् आपूर्तिका समस्या समाधन गर्न भइरहेका कामको जानकारी दिन उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानालाई समेत टोलीमा सहभागी गराइएको थियो।
‘यस वर्ष सुनसरी र मोरङमा सञ्चालित उद्योगहरूलाई विश्वसनीय र गुणस्तरीय विद्युत् आपूर्तिका लागि अधिकतम प्रयास गरिरहेका छौं, विकल्पहरू धेरै छन्, सञ्चालित योजनाहरू गर्मी सुरु हुनुभन्दा पहिले नै सक्नु बाध्यकारी अवस्थामा छौं’, कार्यकारी निर्देशक घिसिङले भने, ‘यसका लागि जनशक्ति थप्नुहोस्, स्थानीय रूपमा भइरहेका अवरोध हटाउन स्थानीय तहका जनप्रतिनिधि, प्रशासन, उद्योगी व्यसायीहरूलगायतका साथ र सहयोग आवश्यक छ।’
इनरूवा–विराटनगर २३ किलोमिटर १३२ केभी प्रसारण लाइनमा पर्ने ८० वटा टावरमध्ये ७३ वटाको जग हालिएको छ। ७२ वटा खडा गरिएका छन्। प्रसारण लाइनको तार आपूर्ति भइसकेको छ। स्थानीयको अवरोधका कारण दुई वटा र प्राविधिक समस्याले पाँच वटा टावर निर्माण सुरु हुन सकेको छैन।
इनरूवा सबस्टेसनबाट खनारसम्म ३३ केभी डबल सर्किट लाइन निर्माण अन्तिम चरणमा छ। यो लाइन सञ्चालनमा आएपछि दुहबी सबस्टेसनको करिब ४० मेगावाट भार घटाउन सकिने छ ।
प्रकाशित: १५ कार्तिक २०८० ०१:२३ बुधबार