राष्ट्र बैंकले शेयर बजारलाई इगो राखेर धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति ल्याएको शेयर लगानीकर्ताहरुले बताएका छन्।
शेयर लगानीकर्ताहरुले राष्ट्र बैंकले विगत दुई वर्षदेखि शेयर बजारप्रति नकारात्मक बनेर मौद्रिक नीति ल्याउनु पुँजीबजारको विकासको लागि राम्रो नभएको बताए।
उनीहरुले नेपाली पुँजीबजारको विकास र साना लगानीकर्ताको संरक्षण गर्नु पर्नेमा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लगानीकर्तालाई कन्फ्युज बनाउने काम गरेको आरोप लगाए।
लगानीकर्ताहरुले राष्ट्र बैंकले लगानीकर्ताहरुलाई कन्फ्युज बनाउने भन्दा पनि स्पष्ट नीति लिएर पुँजीबजारको विकासमा जोड दिएर नीति बनाउनु पर्नेमा उल्टो भइरहेको बताए।
उनीहरुले राष्ट्र बैंकले शेयर लगानीकर्ताहरुको दुई वर्ष देखिका साना मागलाई समेत सम्बोधन नगर्नु शेयर बजारप्रति नकारात्मक दृष्टिकोण रहेको स्पष्ट भएको बताए। नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लगानीकर्तालाई कन्फ्युज बनाउने काम गरेको बताइन्। उनले मौद्रिक नीतिमा एकथरी भाषा प्रयोग गरिएको र त्यसपछि आयोजित पत्रकार सम्मेलनमा फरक कुरा सार्वजनिक गरेर लगानीकर्तालाई कन्फ्युज बनाउने काम गर्नु गलत भएको बताइन्।
उनले मौद्रिक नीतिको पूर्णपाठ हेर्दा केही भएपनि शेयर बजारलाई राहत दिने खालको मौद्रिक नीति आएको महशुस भएको भएपनि दुई घण्टाको बीचमा बिरोध गर्नुपर्ने अवस्था आएको बताइन्। सबै साइजका कर्जाको जोखिमभार नघट्ने गभर्नरको अभिव्यक्तिले लगानीकर्ताहरुलाई प्यानिक बनाएको उनको भनाइ छ। उनले राष्ट्र बैंकले घुमाउरो भाषा प्रयोग गरेर लगानीकर्तालाई कन्फ्युज बनाउने काम गर्दै धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति आएको बताइन्।
शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने भन्ने उल्लेख गरेकाले सकारात्मक प्रतिक्रिया दिएको उनले बताइन्। अध्यक्ष पोखरेलले लगानीकर्ताहरुको कुनै पनि माग सम्बोधन नहुनु पुँजीबजारप्रति राष्ट्र बैंक नकारात्मक रहेको स्पष्ट हुने बताइन्।
उनले भनिन्,‘ विगत दुई वर्षदेखि निरन्तर रुपमा गिरावट रहेको शेयर बजार विगतमा नीतिहरु परिवर्तन भएर मलम पट्टिको काम गर्छ भन्ने लगानीकर्ताहरुको अपेक्षा थियो। लगानीकर्ताहरुको त्यो अपेक्षा मौद्रिक नीतिबाट पूरा भएन। लगानीकर्ताहरुलाई भ्रममा पारेर मौद्रिक नीति ल्याइयो त्यसले लगानीकर्ताहरु थप प्यानिक भएका छौं। मौद्रिक नीतिले आम लगानीकर्ताको माग सम्बोधन भएको छैन। शेयर बजार घटबढ राजनीतिक विषय,बजारमा तरलता र ब्याजदरको कारण हुन्छ। मुुलुकको अर्थतन्त्र नै संकटमा रहेको अवस्थामा शेयर बजार राम्रो हुन्छ भन्ने अपेक्षा थिएन। तर दुई वर्ष देखिको मौद्रिक नीतिकै कारण बजार प्यानिक भइरहेको छ। शेयर कर्जाको जोखिमभार १०० बाट १५० पु¥याएको छ। त्यसलाई १०० मात्रै कायम गर्नुपर्छ र १२ करोडको सीमा खारेज गर्नुपर्छ भन्ने माग हो। तर लगानीकर्ताको माग कुनै पनि सम्बोधन भएन। राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा स्वागत गरौं। जसमा शेयर कर्जाको जोखिमभार पुनरावलोकन गरिने छ भनिएको थियो। लगानीकर्ताको माग सम्बोधन भयो भन्ने अपेक्षा थियो। मौद्रिक नीतिले लगानीकर्ताको माग सम्बोधन ग¥यो भनेर स्वागत गर्दा दुई घण्टापछि गभर्नर ज्युले सबै लगानीकर्ताको लागि ल्याएको छैन भनेपछि त्यसको बिरोध गरेका छौं। नीति बनाउँदा नीति निर्माताहरुले लगानीकर्ताहरुको स्पष्ट कुरा गर्नुपर्छ। सरकारले नीति बनाउँदाबीचमा लुपहोल राखिन्छ। तर सरकारले नीति ल्याउँदा सबै लगानीकर्ताले स्पष्ट बुझ्ने गरी ल्याउनुपर्छ। राष्ट्र बैंकले दुई वर्षदेखि शेयर बजारलाई प्यानिक बनाउने गरी नीति बनाउन राजनीतिक अवस्था जस्तो लाग्छ। शेयर बजारलाई आफ्नो लयमा चल्न दिनुपर्छ। दुई वर्षदेखि साना लगानीकर्ता मर्काका रहेका छन्’
त्यस्तै नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले मौद्रिक नीति लगानीकर्ताहरुले सोचे जस्तो नआएको बताए। उनले दुई वर्षअघि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिकै कारणले पुँजीबजार धरासायी बनाएको बताए। उनले शेयर कर्जा संकुचन गर्न ४/१२ को नीति र भारित औसतलाई १०० बाट १५० बनाउँदा धरासायी बनेको पुँजीबजार यो मौद्रिक नीतिले पनि सम्बोधन गर्न नसकेको बताए। मौद्रिक नीतिको कारणले ३२ सय नजिकको इन्डेक्स १८ सयमा पुगेको उनको भनाइ छ।
उनले लगानीकर्ताहरुले राष्ट्र बैंकस विगतमा पाएको सुविधा १२ करोड सीमा खारेज र भारित औसत १०० मा ल्याउन माग गर्दा समेत सम्बोधन नभएको गुनासो गरे। लगानीकर्ताको माग सम्बोधन हुन नसके पुँजीबजारको विकास र साना लगानीकर्ताको संरक्षण हुन नसक्ने उनले बताए।
त्यस्तै शेयर विश्लेषक नवराज घिमिरेले नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारी गभर्नर हुँदासम्म पुँजीबजार मैत्री मौद्रिक नीति आउन नसक्ने बताए। उनले गभर्नर अधिकारी कहिल्यै पुँजीबजारप्रति सकारात्मक नभएकाले पुँजीबजारमैत्री नीतिहरु आउन नसकेको बताए। गभर्नरको कार्यकाल सकिएपछि मात्रै नेपाली पुँजीबजारले छलाङ मार्ने उनले दाबी गरे।
उनले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजीबजारलाई नियन्त्रण गर्न खोजे पनि मौद्रिक नीतिको असर केही दिन रहेपनि पुँजीबजार अब कसैले रोकेर नरोकिने बताए। उनले अब नेपाली पुँजीबजार बुलिस भएर जाने बताए।
प्रकाशित: ९ श्रावण २०८० १२:०८ मंगलबार