१५ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

मर्मत गरेर नभ्याउँदै पड्कन्छन् ट्रान्सफर्मर

काठमाडौं-अत्यन्त कम गुणस्तरका कारण मर्मत गरेर नभ्याउँदै ट्रान्सर्फमर पड्कन थालेका छन्। विगतमा कमिसनको लोभमा कम गुणस्तरका ट्रान्सर्फमर जडान गरिएका कारण त्यसरी भटाभट पड्कन थालेका हुन्।

अहिले नेपाल विद्युत प्राधिकरणका प्रविधिक कर्मचारीलाई पडकिएको ट्रान्सर्फमर फेर्न र मर्मत भइसकेको ट्रान्सर्फमर जडान गर्न भ्याइनभ्याई छ । नियमित मर्मतको काम त छँदैछ, त्यसमाथि ट्रान्सफर्मर पड्कन थालेपछि झनै प्राविधिक कर्मचारीलाई कामको लोड थपिएको छ ।

नियमित बिजुली आपूर्ति हुन थालेपछि एकैछिन पनि बिजुली गयो कि हाहाकार नै मच्चिने भएकाले पनि मर्मतका लागि दौडन बाध्य हुनुपरेको नेपाल विद्युत प्राधिकरणका एक प्राविधिकले नागरिकलाई बताए । ‘मर्मत सम्भारमा खटिँदा हैरान भएका छौं,’ उनले भने, ‘पहिला लोडसेडिङ हुँदा प्रसारण लाइन, ट्रान्सर्फमर पडकँदा पनि लोडसेडिङ भएको होला भनेर सेवाग्राही त्यत्ति धेरै आत्तिदैनथे, तर अहिले लोडसेडिङमुक्त भनेर घोषणा गरिएको छ । एकैछिन बिजुली गयो कि किन लोडसेडिङ गरेको लोडसेडिङ हुँदैन भनेको होइन ? भन्दै थर्काउने गर्छन् ।’

कुनै न कुनै स्थानमा दिनहुँ जसो बिजुली जान थालेको छ । अघिल्लो साता नयाँ बानेश्वरमा रहेका दुईवटा ३६ एमभिए क्षमताका ट्रान्सफर्मरमा समस्या आयो । त्यस्तो समस्या आएपछि उपत्यकाका केही स्थानमा विद्युत आपूर्ति बन्द हुन पुग्यो । गुणस्तहीन ट्रान्सर्फमरकै कारण यस्तो समस्या आएको प्राधिकरणका प्राविधिक कर्मचारी बताउँछन् ।

बानेश्वर मात्र होइन ललितपुरको इमाडोललगायत धेरै स्थानमा त्यसै दिन विद्युत आपूर्ति बन्द भयो । इमाडोलको केबल पड्केपछि लामो समय बिजुली आपूर्ति नै बन्द हुन पुगेको प्राधिकरणको भनाइ छ ।

कात्तिक २६ गते पनि यही फिडरमा यस्तै समस्या आएपछि दिनभर विद्युत आपूर्ति बन्द भएको थियो ।

केही दिनअघि ६६ केभी स्टेसनमा समस्या आएपछि राजधानीको सिंहदरबार लगायत केही क्षेत्रमा विद्युत आपूर्ति बन्द भयो ।

गत सोमबार सुकेधारा, मण्डिखाटार र चप्पल कारखानामा विद्युत अवरोध भयो । न्यु–चाबहिल सबस्टेसनबाट निस्कने ११ केभी ओम फिडरको ओभरहेड लाइन सुरु हुनुअघिको भूमिगत केबलमा मेलम्ची खानेपानी आयोजनाको काम गराइबाट क्षति हुन पुगेपछि उक्त क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका प्राविधिक कर्मचारी भने गुणस्तरीय सामानको अभावका कारण बारम्बार यस्तो समस्या दोहोरिने गरेको बताउँछन् । ‘अहिलेको मुख्य चुनौती बिजुली नभएरभन्दा पनि गुणस्तरिय सामग्री नभएका कारण लोडसेडिङ हुने अवस्था आएको छ,’ ती कर्मचारीले भने, ‘अहिले प्राधिकरणले खेप्नुपरेको मुख्य समस्या नै गुणस्तरीय सामग्रीको अभाव नै हो ।’

प्राधिकरण प्रमुखमा कुलमान घिसिङ आएपछि काठमाडौं उपत्यका, पोखरा लगायत स्थानमा लोडसेडिङ अन्त्य गरेका छन् । उनको यो अभियानलाई प्राधिकरणका केही कर्मचारीहरुले साथ दिएका छैनन् । घिसिङको लोकप्रियता गिराउन प्राधिकरणकै केही कर्मचारी प्रसारण लाइनका पोल ढलाउने, ट्रान्सफर्मर पड्काउने काममा संलग्न रहेको आरोप पनि लाग्दै आएको छ ।

के कारणले बारम्बार विद्युत आपूर्तिमा अवरोध आइरहेको छ भन्नेबारे छानबिन गर्नुपर्ने आवाज पनि पछिल्लोपटक प्राधिकरणभित्रै उठ्न थालेको छ ।

बारम्बार बिजुली जान थालेपछि प्राधिकरणले ठूलो घाटा बेहोर्नु परेको छ । उच्च मूल्यमा किनेको बिजुली त्यत्तिकै खेर जाँदा प्राधिकरणलाई नोक्सान पर्छ ।

अहिले पनि २३ प्रतिशत बिजुली चुहिएरै खेर जान्छ । एकातिर चुहावटका कारण प्राधिकरणले नोक्सानी बेहोरिरहेको छ भने अर्कोतिर सर्वसाधारणसमेत दिनहुँ अँध्यारोमा बस्नुपर्ने बाध्यता छ ।

अत्यधिक बिजुली चुहावट भएर, प्राविधिक गडबडी लगायत कारणले प्राधिकरणको नोक्सानी बढ्दै गएको छ । प्राधिकरणका अनुसार, हुकिङ गरेर, मिटर बिगारेर, कर्मचारीको मिलेमतो एवं प्राविधिक गडबडीले झन्डै २३ प्रतिशत बिजुली खेर गइरहेको छ । त्यसमा पनि करिब १२–१५ प्रतिशत प्राविधिक रुपमै चुहावट हुने गरेको छ ।

ऊर्जामन्त्री जनार्दन शर्माले प्राविधिक रुपमा हुने चुहावटलाई क्षमता बढाएर कम गरिरहेको बताए । केही दिन पहिला प्राधिकरणले प्रहरीको सहयोगमा चुहावटमा सघाउने आफ्नै कमचारीलाई नियन्त्रणमा लिएको थियो । प्राधिकरणकै कर्मचारीको मिलोमतोमा ४–५ प्रतिशत बिजुली चोरी हुने गरेको जानकार बताउँछन् ।

प्राविधिक चुहावट बढ्नुमा पुराना ट्रान्सफर्मर तथा वितरण लाइनलाई क्षमतायोग्य र व्यवस्थित बनाउन नसक्नुलाई कारणको रुपमा औंल्याउने गरिन्छ ।

प्रकाशित: ३० फाल्गुन २०७३ ०४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App