१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

तिम्रो 'माया' आयातित बजारको...

काठमाडौं- काठमाडौंको बजारमा हिजोआज मायाको चर्चा अलि धेरै हुन थालेको छ। कफीसप, सपिङ मल, फूलपसल, खुला पार्क होस् या बाटोघाटो, मायाको चर्चा सुनिन्छ। यसको कारण हो– फेब्रुअरी १४ अर्थात् 'भ्यालेन्टाइन्स डे'। यसैका कारण उपत्यकाका फूलपसलमा भिड बढ्न थालेको छ। मायाको प्रतीक मानिने गुलाफबाट आफ्नो मुटुभित्रको माया दर्साउन प्रेमीप्रेमिका गुलाफका फूल रोज्न थालेका छन्।

प्रेमीप्रेमिकाले 'माया' दर्साउने यी गुलाफका फूल भने स्वदेशी होइनन्, आयातित हुन्। तपाईंले मायालुलाई उपहार दिने गुलाफ भने लामो यात्रा गर्दै भारतबाट आइपुग्छन्।  

यस वर्ष नेपाली प्रेमीप्रेमिकालाई भनेर भारतबाट एक लाख गुलाफ (स्टिक रोज) आयात भइसकेका छन्। 'यस वर्ष भ्यालेन्टाइन्स विकमा २ लाख गुलाफका फूलको कारोबार हुने अनुमान गरिएको छ,' फ्लोरिकल्चर एसोसियसन नेपालका अध्यक्ष कुमार कसजूले भने, 'त्यसमध्ये १ लाख फूल भारतबाट आएको छ।'

गत वर्षको 'भ्यालेन्टाइन्स डे'मा १ लाख ८० हजार गुलाफका फूलको कारोबार भएको थियो। त्यसमध्ये ८० हजार फूल भारतबाट आयात भएको थियो। हरेक वर्ष नेपालमा १२ देखि १५ प्रतिशतका दरले गुलाफ फूलको माग बढ्दै गएको छ। सामान्य दिनमा दैनिक ५ देखि ७ हजार गुलाफको फूलको कारोबार हुन्छ भने भ्यालेन्टाइन्सको एक साताभर झन्डै २ लाख गुलाफ प्रयोग हुन्छन्।

केही समय पहिले नेपालमा भारतबाहेक नेदरल्यान्ड, इटली, अमेरिकाबाट गुलाफको फूल ल्याइन्थ्यो। नेदरल्यान्डका व्यवसायीले भारतमै गुलाफको फूल उत्पादन गर्न थालेपछि नेपालले पनि भारतबाट गुलाफ ल्याउन थालेको छ।

विदेशबाट आयत भएको गुलाफ र स्वदेशी उत्पादनको मूल्यमा भने खासै फरक नपर्ने कसजूले बताए। उनका अनुसार अहिले बजारमा ४० देखि सय रुपैयाँका गुलाफका फूल पाइन्छन्। 'गुणस्तरअनुसार मूल्यमा फरक पर्छ,' कसजूले भने।

हाल नेपालमा गुलाफका फूल उत्पादन गर्ने जम्मा सातवटा फर्म छन्। तीमध्ये छवटा काठमाडौं उपत्यका, एउटा चितवनमा। यी फर्मले वार्षिक जम्मा एक लाख गुलाफ उत्पादन गर्छन्। यो परिमाण उत्पादन क्षमताभन्दा धेरै कम हो। 'यी फर्मले आफ्नो क्षमताको जम्मा १५ प्रतिशत मात्र उत्पादन गरिरहेका छन्,' कसजूले भने, 'गुलाफलाई चाहिने अनुकूल वातावरण (हिटिङ पुलिङ सिस्टम) र प्रविधि बनाउन नसक्दा उत्पादन राम्रो हुन सकेको छैन।'

आर्थिक वर्ष २०७३/७४ सम्म थप एक लाख गुलाफका फूल उत्पादन गर्ने योजना यी व्यवसायीको रहेको कसजूले सुनाए। त्यसको लागि उनीहरूले शून्य डिग्रीमा तापक्रम नझर्ने अलि न्यायो क्षेत्र खोज्दै छन्। हाइटेकमा नजाँदासम्म नेपाललाई चाहिने गुलाफको फूल उत्पादन गर्न नसकिने उनको भनाइ छ। 'व्यवसायीहरू पनि लगानी गर्न तयार छन्,' कसजूले भने, 'यसमा सरकारले सहयोग गर्नुपर्छ।' सरकारले दिने अनुदानलाई पनि त्यतातिर प्रयोग गर्ने योजना व्यवसायीको छ।

हरेक वर्ष पाँच प्रतिशतले आयात घटाउँदै जाने योजना रहेको कसजूले बताए। गुलाफको बिरुवा रोपेको दुई वर्षमा मात्र फूल दिन तयार हुन्छ। नेपालमा उत्पादन सम्भावना भए पनि भारतको फूलले नेपाली बजार धान्ने गरेको छ। नेपालमा आयात हुने सम्पूर्ण फूलमध्ये ७५ प्रतिशत भारतबाट आउने गरेको छ।

'गत आर्थिक वर्ष नेपालमा ६ करोडको फूल आयात भएको छ,' व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईंले भने। त्यस्तै, चालू आर्थिक वर्षको पहिलो छ महिनामा विदेशबाट ३ करोडको फूल आयात भएको छ जुन गत आर्थिक वर्षको सोही समयको भन्दा ११९ प्रतिशतले बढी हो।

नेपालमा फूल उत्पादन कम र चाडवाडको समयतालिका नमिल्दा भारतबाट धेरै फूल ल्याइने गरेको व्यवसायी बताउँछन्। नेपाल धेरैजसो फूलमा आत्मनिर्भर हुन सक्छ तर व्यावसायिक प्रक्रिया भने सुधार गर्नुपर्ने देखिन्छ। 'वर्षभरि नेपालमा प्रयोग हुने फूलमध्ये २० प्रतिशत भारतबाट आउने गरेको छ,' कसजूले भने।

पछिल्लो समय बुकी बास्केटको भन्दा सजाउने फूलको प्रयोग धेरै हुन थालेको छ। विशेष समारोह, घर, सौखिनहरूले बेड रुमसम्म फूलले सजाउने कल्चर बढ्दै जाँदा फूलको कारोबार पनि बढ्दै गएको कसजूले बताए। 

नेपालमा दसैतिहार, भ्यालेन्टाइनजस्ता चाडबाडमा फूलको माग ह्वात्तै बढ्ने गर्छ। अन्य बेला अत्यन्तै कम प्रयोग हुने हुँदा उत्पादन प्रक्रिया नमिलेको व्यवसायिको भनाइ छ। नेपालमा चाहेको समयलाई फूल उत्पादन गर्न सक्ने प्रविधि छैन। फूल उत्पादनका लागि आधुनिक प्रविधि नहुँदा विदेशको फूल आयात हुने गरेको छ। किसानले नयाँ प्रविधि अपनाउन सक्ने र उपभोक्ताले पनि स्वदेशी फूलको प्रयोग गर्ने हो भने धेरैजसो फूलमा आत्मनिर्भर हुन सक्छ। सयपत्री, गुलाबजस्ता धेरैजसो फूल नेेपाली बजारलाई पुग्ने उत्पादन गर्न सक्ने क्षमता नेपालमै छ तर केही फूल भने विदेशबाट ल्याउनुको विकल्प छैन।

एसोसियसनका अनुसार नेपालमा साढे ६ सयभन्दा धेरै फूल उत्पादन गर्ने फर्म छन्। एसोसिएसनमा साढे ५ सय फर्म दर्ता पनि भइसकेका छन्। त्यसबाहेक व्यक्तिगत रुपमा घरघरमा पनि फूल उत्पादन गरिन्छ। यसरी फूल उत्पादन गर्नेले मन्दिर, पूजा र विभिन्न चाडका लागि प्रयोग गरिन्छ। घरघरमा उत्पादन गर्ने सानो स्तरको फूललाई व्यावसायिक रुपमा प्रयोग गर्न सक्ने हो भने धेरै फूल उत्पादन गर्न सकिन्छ। सरकारले किसानलाई व्यावसायिक हुन प्रेरित गर्न आवश्यक छ।

काठमाडौं उपत्यकाको सेरोफेरोमा व्यावसायिक रुपमा धेरै फूल उत्पादन हुने गरेको छ भने काभ्रे, चितवन, कास्की, मकवानपुर, धादिङ, झापा, रुपन्देहीलगायत जिल्लामा पनि व्यवसायी फूल उत्पादन हँुदै आएको छ। भारतको फूल उत्पादन क्षमता उच्चस्तरको हुनु, त्यहाँको फूल गुणस्तर र लागत कम हुँदा नेपालमा आयात हुने गरेको व्यवसायीको भनाइ छ। भारत सरकारले किसानका लागि विभिन्न सहुलियत दिने र यसले लागत कम हुँदा यहाँको भन्दा सस्तो पर्ने गरेको छ।

प्रकाशित: २ फाल्गुन २०७३ ०३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App