बैंक तथा वित्तीय संस्थाले कर्जाको साँवा र ब्याजदर बढाएर धरपकड गरेको भन्दै पोखराका उद्योगी–व्यवसायीले आन्दोलन गर्ने भएका छन्। पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा भएको भेलाबाट उनीहरुले संघर्ष समिति समेत गठन गरेका छन्।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संयोजक तथा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सहसंयोजक रहेको सो संघर्ष समितिले बैंक तथा वित्तीय संस्थाले कर्जाको साँवा र ब्याजको लागि धरपकड विरुद्ध संयुक्त संघर्षका कार्यक्रम गर्ने व्यवसायीले बताएका छन् । संघर्ष समितिमा पोखरा र लेखनाथस्थित विभिन्न बस्तुगत संघका अध्यक्षहरु सदस्य रहेका छन्।
‘बैंक तथा वित्तीय संस्थाका कर्मचारीबाट साँझ–बिहान र रातमा पनि टेलिफोन गरेर मानसिक तनाव दिने, घर र पसलमै पुगेर बालबच्चाको सामु धम्क्याउने, पसलमा दिनभर बिक्री भएको पैसा बोकेर हिँड्ने काम भएपछि बाध्य भएर संघर्ष गर्ने निर्णय गरिएको हो,’ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले भने, ‘संघर्ष समितिले बैंक तथा वित्तीय संस्थाहरुबाट भएका यस्ता कामको सामूहिक प्रतिवाद गर्नेछ।’ उनले कसैमाथि बैंक तथा वित्तीय संस्थाले ज्यादति गरेको भए संघर्ष समिति वा पोखरा र लेखनाथ उद्योग वाणिज्य संघलाई जानकारी दिन अनुरोध पनि गरेका छन्।
बैंक तथा वित्तीय संस्थाबाट एकाएक कर्जाको ब्याजदर बढाउँदा धेरै उद्योगी व्यवसायी मर्कामा परेको र तनावकै कारण आत्महत्या गर्न बाध्य हुनुपरेको बताउँदै उनले ज्यादती तत्काल रोकिनु पर्ने बताए। विषम परिस्थितिमा कुनै बैंक तथा वित्तीय संस्थाले कुनै व्यवसायीहरुको धितो लिलामी प्रक्रिया अगाडि बढाए त्यसको पनि प्रतिकार गरिने अध्यक्ष प्रजापतिको भनाई छ। उनले समितिको आउँदो बैठकले संघर्षका थप कार्यक्रम र स्वरुप निर्धारण गर्ने जानकारी दिए।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले कुनै बैंक तथा वित्तीय संस्थाबाट धम्कीपूर्ण टेलिफोन र पत्र आए त्यसको जानकारी संघर्ष समितिलाई दिन आग्रह गरे। उनले दुःख दिने बैंक तथा वित्तीय संस्थालाई परिआए एकमुष्ठ लालपूर्जा लगेर बुझाइने समेत चेतावनी समेत दिए।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दामु अधिकारीले व्यवसायीहरु उठ्नै नसक्ने अवस्थामा पुगेको बेला बैंक तथा वित्तीय संस्थाहरुले गरेको व्यवहार मान्य नहुने बताए। उनले कर्जाको समयसीमा बढाउन र ब्याजदर घटाउन माग पनि गरे। लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम ढकालले बैंकहरुबाट कर्जामा एकाएक बढाइने ब्याजका कारण व्यवसायीहरु मर्कामा परेको बताए।
प्रकाशित: २० माघ २०७९ ०९:३४ शुक्रबार