१५ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

अनुदानको प्रांगारिक मल प्रयोग भएन

काठमाडौं- असन्तुलित रसायनिक मल प्रयोगले माटोको उर्वराशक्ति ह्रास भएपछि प्रांगारिक मलको प्रयोग बढाउन सरकारले यसमा अनुदान दिए पनि किसानले उपयोग गरेका छैनन्। कृषिजन्य उत्पादन बढाउन कृषि मन्त्रालयले आर्थिक वर्ष ०७२/७३ मा १० हजार मेटि्रक टन प्रांगारिक मलमा अनुदान दिने व्यवस्था गरेको थियो। तर किसानले २ हजार मेटि्रक टनमा मात्र अनुदान लिए।

'प्रांगारिक मलप्रति किसानलाई आकर्षित गर्न किलोमा १० रुपैयाँ अनुदान दिएका थियौं,' कृषि मन्त्रालयका प्रवक्ता शंकर सापकोटाले भने, 'आठ हजार मेटि्रक टनमा अनुदान रकम उपयोगै भएन।' यो अनुदान ७५ वटै जिल्लाका लागि व्यवस्था गरिएको थियो।

किसानले प्रांगारिक मलमा कम चासो दिएपछि अनुदानका लागि विनियोजन भएको ८ करोड रुपैयाँ फि्रज भएको छ। १० करोड रुपैयाँमध्ये २ करोड रुपैयाँ मात्र अनुदान वितरण भएको छ।

मन्त्रालयले प्रांगारिक मलको भरपुर प्रयोग गर्न आग्रह गरेको थियो।  मलको विषयमा पर्याप्त प्रचारप्रसारको अभाव, जिल्ला कृषि विकास कार्यालयको निष्त्रि्कयता, मल प्रयोगबाट हुने फाइदा बारेमा जानकारी नहुँदा किसानले कम लाभ लिएको मन्त्रालयको ठहर छ।

आर्थिक वर्ष ०७१/७२ मा २४ जिल्लामा प्रांगारिक मलका लागि ३ करोड ११ लाख रुपैयाँ अनुदान व्यवस्था गरिएकोमा ०७२/७३ मा बढाएर १० करोड रुपैयाँ पुर्‍याएको थियो। प्रांगरिक मलमा गत आर्थिक वर्ष छुट्याइएको अनुदान बजेट खर्च नभएपछि मन्त्रालयले चालु आर्थिक वर्ष (०७३/७४ ) मा उक्त शीर्षकमा बजेट घटाएको छ। देशभरका किसानलाई  अनुदान व्यवस्था गरिएकोमा १५ जिल्लाका कृषि कार्यालयले चासो नदिएपछि ६० जिल्लामा सीमित गरिएको छ। १० करोड रुपैयाँको अनुदान घटाएर ७ करोडमा झारिएको छ। 'बजेट विनियोजन गरेर खर्च नभएपछि यो वर्ष कार्यक्रम घटाइएको छ,' माटो विकास निर्देशनालयका निर्देशक दुर्गा दवाडीले भने, 'प्रांगारिक मलको फाइदा बारेमा ज्ञान नहुँदा किसानले अनुदानको फाइदा लिन सकेनन्।'

मन्त्रालयले किसान माझ चेतना अभिवृद्धि गर्ने रणनीति बनाएको छ। अनुदानको प्रांगरिक मल प्रयोग बढाउन मन्त्रालयले १८ उद्योगलाई उत्पादनको आधारमा न्यूनतम ५ लाखदेखि पौने २ करोड रुपैयाँ अनुदान दिएको थियो। करिब दुई दर्जन प्रांगारिक मल उद्योग मुलुकभर सञ्चालनमा छन्।

ग्रामीण क्षेत्रभन्दा व्यावसायिक खेती भइरहेको चितवन, ललितपुर, काठमाडौं, काभ्रेलगायत जिल्लामा यी उद्योग सञ्चालनमा छन्। मन्त्रालयले स्थानीय साम्रग्रीको प्रयोग गरेर प्रांगारिक मल तयार गर्न पनि तालिम दिने गरेको छ।

मल गुणस्तर आधारमा २३ रुपैयाँ किलोदेखि ८० रुपैयाँसम्म बिक्री हुने गरेको छ। रसायनिक मल र प्रांगारिक मलको मात्रा मिलाएर प्रयोग गरे उत्पादनमा वृद्धि भई दीर्घकालीन रुपमा किसानलाई फाइदा पुग्ने विज्ञ बताउँछन्। 'प्रांगारिक मलमा न्युट्रेनको मात्रा कम भए पनि माटोका लागि आवश्यक जीवाणु हुन्छन्,' निर्देशक दवाडीले भने, 'उर्वराशक्ति बढाउने भएकोले यसको प्रयोग बढाउन आवश्यक छ।'  २ प्रतिशत मात्रै नाइट्रोजन हुने भएकाले प्रांगारिक मल माटोका लागि गुणस्तरीय मानिन्छ। १ हेक्टरमा प्रांगारिक मल डेढदेखि २ मेटि्रकटनसम्म प्रयोग गर्दा लाभदायक हुने विज्ञ बताउँछन्।

किसानले नजिकै रहेको कृषि सेवा केन्द्र वा उपकेन्द्रले सिफारिस गरेका आधारमा अनुदानको प्रांगारिक मल लिनसक्ने व्यवस्था गरिएको छ। आफ्नो जग्गा धनीपुर्जासहित किसानले विवरण बुझाएपछि केन्द्रले अनुदान मल वितरण गर्ने सहकारी, बिक्रेता वा डिलरलाई सिफारिसपछि अनुदान पाउने व्यवस्था छ। मलको बिलबिजक जिल्ला कृषि विकास कार्यालयमा पेस गर्ने र आवश्यक मूल्यांकन र निरीक्षण गरी बजार मूल्यअनुसार भुक्तानी दिइन्छ।

 

प्रकाशित: ८ श्रावण २०७३ ०५:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App