१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

ढिके नुन

लघुकथा

टंकबहादुर आले मगर

विजय जुलुसले पूरै वाडा परिक्रमा गर्याे। विजय वडा प्रतिनिधिहरू अबिर, फूल र खादाले नचिन्ने भएका थिए। आफ्नो चिह्न मार्की घरघर पुगेर विजय भोजका  लागि  निमन्त्रणा गर्दै थिए।

गाउँको प्राथमिक विद्यालयको तीनोटै भवन टन्नै भरिएका थिए मान्छेले। पत्रकारहरूलाई विशेष खानपानको व्यवस्था थियो। शुरूदेखि प्रतिनिधिहरूको भिजिवल रिपोर्टिङ गर्ने, प्रत्यक्ष प्रसारण गर्ने पत्रकार दिनेश, विजय अध्यक्षको प्रिय पात्र थियो।

पत्रकारको जमघटमा दिनेशलाई नदेखेपछि अध्यक्ष छटपटायो। अन्ततः अध्यक्षले ढिपी गरे पनि दिनेशले पेटको समस्या देखाउँदै खान मानेन। त्यो भोजको पानीदेखि एक टुक्रो सुपारीसम्म खाएन।

एकदिन पत्रकार महासंघको कार्यालयमा रुपेले विजय भोज नखानुको कारण कोट्यायो, ‘उम्मेदवारी दिएपछि रत्नेको पुच्छरै भा’थिस्। हरेक पलको रिपोर्टिङ गर्थिस्। भोजको दिनचाहिं किन नखाको? हामीलाई शंका पनि थियो, कतै मोटो खाम उपहार त पाइनस्।’

दिनेशले पत्रिकालाई दिनुपर्ने रिपोर्ट सच्याउँदै भन्यो, ‘रिपोर्टिङ मेरो कर्म थियो। वाडभित्र भएको हरेक उम्मेदवार र उनका भावी योजना जनतासम्म पुयाउनु धर्म थियो।’

‘त्यो दिन किन नखा हुन्त?’

‘ढिके नुन खाएपछि नुनको सोझो गर्नुपर्छ। जे गरे पनि नुन खाको कुखुराझैं झोक्रेर बस्नुपर्छ। त्यसैले नखा’को।’

‘अस्ति त खाथिस्।’

‘अस्ति रत्नबहादुरको खाथें। अब अध्यक्षको खान्नँ।’

‘किन...?’

दिनेशले सगर्व भन्यो, ‘पाँच वर्षसम्म गर्ने भ्रष्चारको समाचार, उसलाई विश्वास गरेर भोट दिने जनतासम्म पुयाउनुपर्छ मैले। सकभर तुको तु कार्यवाही गरून्। नसके फेरि उसलाई विश्वास गरेर मतदान नदिऊन् जनताले।’

प्रकाशित: १३ जेष्ठ २०७९ ०८:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App