‘होलीले मेरो रंगायो नयाँ चोली...
इन्द्रेणी रंग लिई आयो होली,
फागुन महिनामा खेलौं होली’
जब होली नजिकिन्छ, गाउँसहरमा यो र यस्ता गीत बज्न थाल्छन्। यस्ता गीतले मन प्रसन्न पार्छन्, अझै यी गीतमा रङ मिसाउने हो भने अर्थात् रङ्गीन भएर यस्ता गीत गाउने हो भने शिशिरको सिरेठो अनि कक्रक्क परेको चिसो जीवन एकाएक तात्न थालेको अनुभूति हुन्छ। यी गीतसँगै पूर्वीय धरतीमा वसन्त मज्जाले घुलमिल भएजस्तो लाग्छ।
‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग?
कौन तालपर गोरिया नाचे कौन तालपर हम?
जोगिरा सररर...’
खुसियालीमा मान्छे रंगीन बन्ने हो। रङले तनावमुक्त पार्छ। अबिर खुसियालीमा लगाइन्छ। नेपाली संस्कृतिमा रङका पर्व छन्, जुन हर्षोल्लाससाथ मनाइन्छन्। तिहार, होली यसका उदाहरण हुन्। ‘होरी’ होलीमा सांगीतिक रङ भर्ने लोकगीत हो। पर्वका अवसरमा गाइने हुनाले यो लोकगीतको पर्वगीत शाखामा पर्छ। यसलाई फागु वा फगुवा पनि भनिन्छ। काठमाडौंको वसन्तपुरमा हनुमान ढोकाअगाडि अष्टमीका दिन लिङ्गो उभ्याएर त्यसमा रङ्गीबिरङ्गी चीर वा धजाहरू झुन्ड्याएर होलीको प्रारम्भ गरिन्छ। पूर्णिमासम्म फागु खेलेर यो पर्व मनाई पूर्णिमाका दिन लिङ्गो ढलाइन्छ र भद्रकाली मन्दिरनजिक पुर्याएर चीर दहन गरिन्छ।
लोकगीत प्राचीन, लोकप्रिय र सर्वव्यापी लोक साहित्यिक विधा हो। कुनै एक व्यक्तिको मुखबाट निस्के पनि समाजका अनेक व्यक्तिका विशेषता मिसिएर यसको सिर्जना हुन्छ। त्यसैले यसलाई साझा सम्पत्तिका रूपमा लिइन्छ। संसारको कुनै पनि समाज लोकगीतविहीन हुँदैन। यसको जन्मदाता लोक भएकाले यसको अजस्र स्रोत कहिल्यै सुक्दैन। सुरुमा लोकको कुनै एक व्यक्तिबाट निस्के पनि क्रमशः यसमा अनेक व्यक्तिका भाव, भाषा, लय र सिप मिसिँदै जान्छन्। फलतः यो लोकको साझा सम्पत्ति बन्छ र लोककै संरक्षणमा जीवित रहन्छ।
लोकगीतका सन्दर्भमा धर्मराज थापा र हंसपुरे सुवेदीको भनाइ छ, ‘लोकगीत जनताको गलागलाबाट अनवरत बगिरहने छहरा हो। यो स्वच्छ हिमशिखरबाट बगेको कञ्चन जलप्रवाहझैं स्वच्छ र उदार मानवहृदयजस्तै विशाल छ।’ चूडामणि बन्धुले लोकगीतलाई परिभाषित गर्दै भनेका छन्, ‘लोकगीत भनेको लोक जीवनको रागात्मक स्वतःस्फूर्त लयात्मक अभिव्यक्ति हो। यसमा लोक जीवनका दुःखसुख, आँसुहाँसो, आशा निराशाका साथै लोकको चालचलन, विधिव्यवहार, आस्था र मान्यताहरूको मिश्रण हुन्छ।’
बन्धुले भनेझैं होरी पनि लोकजीवनको रागात्मक स्वतःस्फूर्त लयात्मक अभिव्यक्ति हो। होली पर्वको उत्पत्तिसँग पौराणिक प्रसङ्ग गाँसिएको छ। त्यसअनुसार दैत्यराज हिरण्यकशिपुले विष्णुभक्त छोरो प्रह्लादलाई आगोमा डढाएर मार्न अग्नि शमन गर्ने शक्ति भएकी छोरी होलिकासँग षड्यन्त्रपूर्वक आगोमा प्रवेश गराउँदा होलिका डढी तर प्रह्लादलाई केही भएन। यही होलिका दहनको खुसियालीमा होली मनाउन थालिएको ठानिन्छ। हिरण्यकशिपुको षड्यन्त्रमा परेर प्रह्लाद होइन, होलिका मरी। कर्मका कारण प्रह्लादको छवि सत् बन्यो। त्यसैले प्रह्लाद बाँचेको खुसियाली त हुने नै भयो तर होलिका मर्दा किन यस्तो खुसियाली? यो प्रश्न भने छँदैछ। यस पर्वमा विभिन्न गीतहरू गाउँदै रङ खेल्ने गरिन्छ। काठमाडौं, तराई, सुदूरपश्चिमलगायत देशभर यस पर्वसँग सम्बन्धित अनेक गीत प्रचलित छन्। राधा, कृष्ण, राम, सीता आदि पौराणिक पात्र, समाजका दुःखसुखका भाव, पिरती, कामवासना जस्ता विषय होरीमा समेटिएका हुन्छन्।
‘किनका के हाथ कनक पिचकारी,
किनका के हाथ अबिर झोरी?
जोगिरा सररर...!’
‘रामजी के हाथमें कनक पिचकारी,
सियाजी के हाथ अबिर झोरी!
जोगिरा सररर...!’
होरीमा यस्ता गीत गाइन्थे। जोगिरामा सवालजवाफ हुन्थ्यो। मनमुग्ध पार्थे यस्ता गीतले। रङ र उमङ्ग भरिएका गीतको रौनकताले शिशिरको सिरेठोलाई बिदाई गर्थ्याे। होरी बुढापाका, युवा, किशोर सबै मिलेर गाउने प्रचलन हो। समाज विकृत भएसँगै होरी पनि आजकल विकृत बन्दै गएको देखिन्छ। पहिला बुढापाकाले रात परेपछि गाउँको बिचमा रहेको चौपालमा झ्याली, मृदङ्ग, ढोल, डम्फा र तुरकी लिएर समूहगत रूपमा होरी गाउँथे। तर आजकल त्यो समय र परम्परा हराएर गएको छ। अधिकांश युवा रोजगारका सिलसिलामा बिदेसिएका छन्। भएका युवा र बुढापाकाको पर्वरुची पनि मिल्दैन। बुढापाकामा पनि होरी गाउने उत्साह छैन।
त्यसैले अहिले होरी बुढापाकाबाट तडकभडकका साथ युवामा सरेको छ। अहिले होरीमा झ्याली, मृदङ्ग, ढोल, तरकी, डम्फाको धुनसँगै राम, सीता, कृष्ण, राधाका गाथा गाइँदैनन्, महँगा होटल तथा तडकभडकपूर्ण बाजाका चर्का धुनसँगै गायकगायिकाले आफ्ना आधुनिक गीत गाउँछन्। होली पूर्णिमाका दिन सहरभरि कन्सर्टको डड्याङडुडुङ आवाज सुनिन्छ। रङ र रङ्गीन पानीमा गीत पनि रङ्गिन्छ। लोकगीतको एउटा हाँगो पर्व गीत ‘होरी’ले पौराणिक सन्दर्भसँगै संस्कारको पनि अपेक्षा गर्छ तर आजकल त्यस्ता सांस्कारिक गीत होलीमा गाइँदैनन्।
होलीले परम्परादेखि नै रङ्ग्याउने क्षेत्र हो मिथिला। वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म मिथिलाञ्चलका घर, गाँउ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र प्रेम भाव भएको ‘होरी’ गाउने मानिसको अभावका कारण लोप हुँदै गएको छ। होलीमा गाइने यस्ता गीतलाई ‘जोगिरा’ पनि भनिन्छ। सामाजिक छुवाछुत, ठुलासाना जात र भिन्नभिन्न धर्मसंस्कृतिप्रति सद्भाव छर्ने, एकअर्कालाई अंकमाल गर्दै पारस्परिकताको भाव साट्ने परम्परागत पर्वका रूपमा होलीलाई मिथिलामा लिइन्छ। तर होली सौन्दर्यको महŒवपूर्ण अंग जोगिरा लोप हुँदै गएर अब ‘डिजे’ बज्न थालेपछि मैथिली मौलिकता हराउँदै गएको छ।
समाजशास्त्री प्रा. सुरेन्द्र मिश्रले होली पर्वले अहिले काँचुली फेरेको बताउँछन्। मिश्रले भने, ‘तराईका गाउँभरिको फोहोर जम्मा गरेर फागुपूर्णिमाको राति गाउँको कुनै केन्द्रमा आगो लगाइन्छ। त्यही आगोमा गाउँठाउँ, आफन्तपरायाबिच रहेको रिस, राग, कुण्ठा, आक्रोशजस्ता मनोविकार जलाइन्छ। आगोको लप्कासँगै होरी गीत गाउन सुरु हुन्छ। होरी गीत गाउँदै अग्नि दहन गरिन्छ भने गीत गाउँदै घर फर्किन्छ। यसरी मनोविकार जलाउने समयमा गाउने गीतमा आक्रोश, अश्लीलता, कुण्ठा पोखिन्छ। पहिला होरी अति छाडा र अश्लील हुन्थे। सुन्नै नसकिने शब्दमा शत्रुलाई गीतमार्फत गाली गर्ने प्रचलन थियो। आजकल भने यस्तो प्रचलन हटेर गएको देखिन्छ। यस्ता गीत गाउने अघिल्लो पुस्ताका अधिकांश मान्छे अहिले छैनन् अनि त्यस्तो गेय प्रचलन नयाँ पुस्ताले त्यति अनुकरण गरेको पाइएन। अहिलेको पुस्ता त त्यस्ता परम्परागत गीत भन्दा पनि आधुनिक गीत तथा मनोरञ्जनमा रमाउने गरेको पाइन्छ।’
प्रा. रामदयाल राकेश भन्छन्, ‘सम्मत जलाएको ठाउँबाट खरानी शरीरमा दलेर रङ अबिरबाट सम्पूर्ण शरीर सरोबरी पारेर होली लोकगीत गाउँलै सम्पूर्ण गाउँको परिक्रमा गर्ने क्रममा घरघरमा गएर रङ अबिर खेल्ने गरिन्छ। ठुलाठालुको दलानमा गएर होरी गाउँदै झाल, डम्फु र ढोलकको ताला होरी गाउँदै बिहानदेखि बेलुकासम्म यो पर्व मनाइने परम्परा आज पनि छ। होरीका गबैयाहरू आआफ्नो टोलीमा रङ अबिर खेल्दै होरी गाउँदै हिँडेपछि थकान पनि महसुस गर्दैनन्।’
परापूर्वकालदेखि नै होरीमा यौनिकता र अश्लीलता मिसिएको नै पाइन्छ। यद्यपि गीतमा आउने पहिलाको अश्लीलता र आजको अश्लीलतामा फरक छ। होरीमा आक्रोश, यौनिकता र अश्लीलतालाई काव्यिक वा प्रतीकात्मक रूपमा प्रस्तुत गरिनुपर्छ। सांस्कृतिक संयम गुमाउँदा होरी गीतमा पहिलेदेखि नै अश्लील बनेको देखिन्छ। होरीमा अश्लील गीत गाउन छुट छ भन्ने मनोभावनाले हुन सक्छ, अहिले पनि युवायुवतीहरू होरीका बहानामा छाडा बनिराखेका छन्, अशिष्ट भाषामा प्रेम भाव व्यक्त गर्न थालेका छन्।
अछामतिर गाइने होरीको नमुनाः
बृज खेलत होरी राधा गोरी
बृज खेलत होरी राधा गोरी
ए! रंग अबिरको बादलु छाया
बाजा बजी घनघोर भरी
बृज खेलत होरी राधा गोरी।
मध्य पहाडी क्षेत्रको मगर समाजमा प्रचलित होरी:
कौने ओर जाम् मनेवा
कौने ओर जाम् मनोवा
पुरबै जाम् भने सुर्जेले खाला
होहो कौने ओर जाम मनेवा राजै
पश्चिमै जाम् भने बगुवाले खाला
होहो कौने ओर जाम् मनेवा राजै।
चलचित्रमा प्रयोग गरिएका आधुनिक ‘होरी’
आधुनिक शैलीमा गाइएका र वर्तमान पुस्ताले अधिक रुचाएका केही होरी गीत छन्। होलीसँगै सञ्चारमाध्यममा धेरै बज्ने होरी हो ‘होलीले मेरो रंगायो नयाँ चोली’। तराईमा ‘जोगिरा सररर’ गीत लोकप्रिय छ। चलचित्र ‘वसन्ती’मा समाविष्ट गीत ‘फागु हो फागु’ अहिले पनि होलीका अवसरमा बजिरहन्छ। चलचित्र ‘सीता’मा समावेश ‘जनकपुर मे होली हे’, चलचित्र ‘बदरफ्लाई’मा समाविष्ट गीत ‘तिम्रै मेरो मिलनको आयो हेर होली रे’, चलचित्र ‘संरक्षण’मा समाविष्ट गीत ‘होरीमे गोरी’ होलीसँगै सञ्चार माध्यममा बज्ने आधुनिक शैलीका होरी हुन्। त्यसैगरी चलचित्र ‘फागु’ मा रहेको गीत ‘आऊ न आऊ खेलौं होली’, चलचित्र ‘गाजलु’मा समाविष्ट ‘रंगा रंगा’ गीत पनि आधुनिक शैलीमा बजारमा देखिने होरी गीत हुन्। आधुनिक बाजागाजासहित निर्माण भएका यी गीतमा होरी गाउने परम्परागत शैली नभए पनि भाषा, शिष्टता, लयजस्ता तत्त्वका दृष्टिकोणले मनमुग्ध पार्ने प्रकृतिका छन्।
प्रकाशित: १० चैत्र २०८० ०९:४८ शनिबार