८ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

तिलासक्रायत पर्वको जोहोमा जुट्दै मैथिल

दिनगन्तीले पर्व आउन अझै पुगनपुग दुई साता बाँकी छ। मधेसका प्राचीन मिथिला क्षेत्रका महोत्तरीसहितका जिल्लामा तिलासक्रायत (माघेसंक्रान्ति) पर्वको तयारीमा मैथिल (मिथिलाका बासिन्दा) जुटिसकेका छन्।

अहिले घरघरमै तिल चुट्ने, निफन्ने र आफूलाई चाहिने राखेर बाँकी बजार लैजाने चटारो छ। त्यसैगरी चिउरा र मुरी (विशेष विधिले बनाइएको चामल भुटेर बनाइने भुजा) का लागि धान भिजाउने, चामल कुट्ने, निफन्ने चटारो घरघरै देखिन्छ।

त्यसैगरी पर्वकै लागि उखु किसान उखु पेलेर मिठ्ठा (सख्खर) बनाउन तल्लीन देखिन्छन्। पर्वअघि मिठ्ठाले राम्रो भाउ पाउने किसानको आशा छ।

पर्व नजिकिएसँगै गरिब किसानको व्यस्तता झनै बढ्छ। पर्वविशेषमा आफ्ना उत्पादित फसलले राम्रो मूल्य पाउने आशमा गरिब किसानको व्यस्तता बढ्ने गरेको हो। यसपालि अब १०-११ दिनपछि आउने यो पर्वका लागि महोत्तरीका सबैजसो हटिया (साप्ताहिक बजार) पर्व विशेषका सामग्रीले जम्न थालेका देखिन्छन्।

तिलासक्रायत पर्व यहाँका किसानका लागि नगद आर्जनको अवसर बन्ने गर्छ। पुसको ठिही (चिसो) खप्दै उखु पेलेर बनाइएको मिठ्ठा, पाखोबारीमा लगाइएको तिल, कन्दमूल (तरुल, सुठुनी, पिँडालु) र मासको दालले राम्रो मूल्य पाएपछि किसानलाई यो पर्व नगद आर्जनको अवसर बनेको हो।

त्यसैगरी धान किनेर मुरी (भुजा) र चिउराको व्यापार गर्ने साना व्यापारी पनि आर्जन हुने आशामा छन्। तिलको बजार जमिसकेको छ भने सख्खर, चिउरा र मुरीलगायतको बजार एक–दुई दिनपछि जम्न थाल्ने भंगाहा ५ सीतापुर बजारका किराना पसले रामभगत साह बताउँछन्।

पर्व नजिकिएसँगै थोरै जग्गामा उखु लगाएका किसान भ्याइनभ्याई गरेर मिठ्ठा बनाउन र बनेको सामग्री बजार पुर्याउन तल्लीन छन्। धेरैजसो बस्तीमा पर्वका लागि मिठ्ठा खोज्न व्यापारी र उपभोक्ता घरघरै आएपछि बजार पुग्नुपर्ने समय पनि बचत भएको र राम्रो मूल्य पाइएको किसानको भनाइ छ।

भंगाहा ४ का किसान लखन कापर भन्छन्, ‘पवनी (पर्व) आइपुग्यो, उखु पेल्न र तिल चुट्ने समय एउटै प¥यो, भ्याइनभ्याई छ।’ पर्वको मुखमा कामको मारामार परे पनि मिठ्ठा र तिल बेचेको पैसाले नगद खर्चको राम्रै जोहो हुने गरेको कापर बताउँछन्।

यसैगरी कापरकै छिमेकी भजनसिंह दनुवार पनि पर्वअघि तरुल, पिँडालु र सुठुनी खन्ने तालिकामा छन्। तरुल, पिँडालु र सुठुनी तिलासक्रायत पर्वको खास परिकार भएको हुँदा यी उत्पादनले राम्रो मूल्य दिने दनुवारको भनाइ छ।

‘एकाध धुर (२० धुरको एक कठ्ठा) मा खमरुवा (तरुल), पिँडालु र अलुवा (सुठुनी) छ, आफ्नै टोल (घरवरिपरिका छिमेकी) ले मागेका छन्’, दनुवारले भने, ‘चाडपर्वमा नगदकै कारोबार हुन्छ, राम्रै आर्जन होला।’ यी कन्दमूल केही दिनसम्म ताजै रहने हुनाले पर्वको तीन–चार दिनअघि खनिने दनुवार बताउँछन्।

अहिले तीन–चार कठ्ठा मात्र जग्गा भएका गरिब किसानले पनि मिठ्ठा, तरुल, पिँडालु, सुठुनी  र तील बेचेर १०–२० हजार रुपैयाँ जोहो गर्ने योजना बनाएका छन्। आफ्नो पाँच कठ्ठा पाखो बारी (सिँचाइ नपुगेको) मै लगाइएको उखु, तिल, सुठुनी र तरुलबाट पोहोर २० हजार आम्दानी भएको भंगाहा ४ कै किसान चन्देश्वर राय दनुवार बताउँछन्। यसपालि अझ बढी आम्दानी हुने चन्देश्वरको विश्वास छ। ‘अन्य कुरा मजदुरी र बरबटैया गरेर गुजारा टारिन्छ’, उनी भन्छन्, ‘नगद खर्च भने आफ्नै बारीको कमाइबाट दुःखसुख चलाइन्छ।’

तिलासक्रायत पर्वमा सख्खर मिसाएर बनाइएको तिल, चिउरा, मुरी (विशेष प्रकारको चामलको भुजा) र जुनेला (अन्नविशेष) लाई (लड्डु), उसिनेको सुठुनी तथा तरुल एवं मासको दाल, अरवा चामल र घिउको खिचडी विशेष प्रकार मानिने मैथिल परम्परा छ। यसै परम्पराले अहिले महोत्तरीसहितका मिथिला क्षेत्रका बस्तीमा यी सामग्रीको जोहोमा सर्वसाधारण लाग्छन्।

पर्वविशेषले जिल्लाका उत्तरीक्षेत्रका बर्दिबास, गौशाला, भंगाहा र औरही नगरपालिका क्षेत्रमा उखु, तिल, सुठुनी, पिँडालु तथा तरुललगायतका बाली बढी लगाइने गरेको छ। पर्वविशेषले आफ्ना उत्पादित बाली सजिलै घरघरै राम्रो मूल्य पाएर बिक्री हुने भएकाले अहिले खासगरी किसानका लागि नगद जोहोको अवसर बनेको हो।

अहिले राम्रो तिल प्रतिकिलो तीन सय ५० र मिठ्ठा एक सय १० ले बिक्री हुँदैछ। त्यसैगरी अब एक सातापछि खनिने तरुल, सुठुनी र पिँडालुले पनि राम्रो भाउ पाउने किसानले आश गरेका छन्। तिलासक्रायत पर्व केही दिनमात्र बाँकी रहँदा यस क्षेत्रका घरघरमै अहिले यो पर्वको तयारीले रौनक बढेको छ।

खासगरी यताका थारूको मुख्य पर्व नै तिलासक्रायत हुँदा थारू बस्ती पर्वको तयारीमा तल्लिन देखिन्छन्। तिलासक्रायत नजिकिएसँगै यहाँका बजारमा पनि पर्व विशेषका सामग्रीको बजार दिनदिनै जमेको छ। साप्ताहिक हटियामात्र नभएर अहिले बस्ती–बस्तीमै तिल, मिठ्ठा, चिउरा, मुरीका बजार जम्दैछन्। केही दिनपछि सुठुनी, पिँडालुको बजार जमाउने तयारीमा किसान जुटेका छन्। –रासस

प्रकाशित: १८ पुस २०८० ०७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App