८ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

‘एक्स्ट्रा’ कीर्तिमान

यस्ताे पनि

जब तपाईं कुनै फिल्म हेर्नुहुन्छ, त्यहाँ मुख्य कलाकारहरू वरिपरि झुम्मिने, भिडभाड हुनेमा अन्य व्यक्तिहरू देख्नुहुन्छ होला। ती भिडभाडमा देखिने मानिसहरू वास्तविक भिडभाडका सदस्य होइनन्। ती निर्मित भिडभाड हुन्। निर्मित भिडभाडका लागि काम गर्ने कलाकारलाई ‘एक्स्ट्रा’ भनिन्छ।

बेलायतबाट प्रकाशन हुने द गार्डियन पत्रिकाका अनुसार ६० वर्षसम्म लगातार फिल्मी क्षेत्रमा ‘एक्स्ट्रा’ भएर काम गर्ने कलाकार जिल गोल्डस्टोनले हालै गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाएकी छन्।

उनले यस अवधिमा एक हजार नौ सय पाँच फिल्म तथा टेलिभिजन सो अनि विज्ञापनहरूमा काम गरिसकेकी छन्। यतिबेला उमेरमा ८० छोएकी उनले अहिले पनि पाएका काम छोड्दिनन्।

‘रमाइलो लाग्ने कामका लागि मैले पैसा पनि पाउने गर्छु,’ उनले गार्डियनलाई भनेकी छन्, ‘यो जस्तो रमाइलो कुरा के हुनसक्छ?’

लण्डनको दक्षिणपश्चिमी भेगमा जन्मिएकी जिलले तीन वर्षको उमेरदेखि नृत्य गर्न थालेकी थिइन्। १५ वर्षको उमेरमा उनी कलाकार हुने चाहले घर छाडेर भागिन्।

 उनी भन्छिन्, ‘मलाई बाउआमा मन नपरेर होइन, कलाकार हुने रहरले उहाँहरूलाई छाडेर भागेँ। अहिले आएर सोच्दा मैले ठिकै गरेछु भन्ने लाग्छ।’

सन् १९६३ मा पहिलो पटक फिल्मको एक्स्ट्रा भएर काम गरिन्। लण्डनको नाइट क्लबमा विद्यार्थीहरूको भिडमा नाच्नुपर्ने दृश्य थियो। उनले मज्जाले नाचिन्। कहिले भिषण वर्षात्को दृश्यमा माइकल केनजस्ता नायकले टाउको छोपिदिए, कहिले ज्याक निकोल्सनसँगको यौन दृश्यमा मज्जाले खुलिदिइन्।

उनका लागि फिल्मी एक्स्ट्रा हुनु घरेलु व्यापारजस्तो महसुस हुन्थ्यो। कतिसम्म भने एजेन्टले फोन गर्नेबित्तिकै उनी सानो छोरोलाई फुत्त कसैको जिम्मा लगाएर अभिनय गर्न निस्किहाल्थिन्।

फर्केर हेर्दा यतिबेला उनी सन्तुष्ट छिन्, त्यसमाथि कीर्तिमानसमेत बन्यो। यसलाई भनिन्छ, दुवै हातमा लड्डु।

-अच्युत कोइराला

प्रकाशित: १० पुस २०८० ०४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App