‘आज मादल बजेको किन ?
गाउँ घर दुनियाँ ब्युँझाउन...’
जनकवि केशरी धर्मराज थापाको यो गीतले भनेझैँ अब पोखरा–९ का आमाहरूले छोराको बिहेमा रत्यौली र तिहारमा देउसी खेल्दा आफै मादल बजाउन सक्ने भएका छन्। वडा कार्यालयले यहाँका २५ महिला समूहका ६५ जनालाई १० दिने मादल बजाउने तालिम प्रदान गरेपछि वडाका आमा मादल बजाउन सक्ने भएका हुन्। तालिम लिएसँगै पोखरा–९ निवासी टीकाकुमारी पोखरेलले भनिन्, “छोराको बिहेमा मादल बजाउन जान्ने मानिस अब खोज्न नपर्ने भयो, आफू र टोलका दिदीबहिनीले मादल बजाउन जान्ने भएपछि कसैको आवश्यकता नपर्ने भयो।”
नेपाली लोक धुन र परम्परागत बाजामा मादलको प्रयोग बढी हुने गर्छ। अर्कोतर्फ तिहारलाई विशेष गरी बत्ती र सङ्गीतको चाड मानिन्छ। तिहारमा प्रत्येकको घरमा बत्ती बाली आँगनमा मादलको धुनसहित देउसी–भैलो खेल्ने गरिन्छ।
रत्यौली र तिहारमा मात्र नभई पूजाआजा, व्रतबन्धजस्ता चार्ड पर्वमा पनि मादल बजाउने गरिन्छ। पोखरा–९ शान्ति वन आमा समूहकी सदस्य ५१ वर्षीय मञ्जु गुरुङले भनिन्, ‘तालिम लिनु अगाडि पनि मादल बजाउने गथ्यौँ, यसअघि तालबिना नै बजाएका रहेछौँ, तालिम लिएपछि कुन गीतमा कुन ताल दिने हो थाहा भयो।”
पोखरा–९ चण्डीका आमा समूहकी रचना खवासले दश दिने तालिममा सिकेका कुरा अब व्यवहारमा पनि लागू गर्छौँ, झ्याउरे, रत्यौली, तिज गीत, भजन, देउसी र भैलोमा पनि मादल बजाउन सक्षम भएको बताइन्। वडा महिला सञ्जालका अध्यक्ष भावना श्रेष्ठले नेपाली संस्कृतिमा मादलको प्रयोग धेरै हुने भएकाले तालिम फलदायी भएको बताइन्।
तालिममा उनीहरूले मादलको धुनसँगै नाचगानसमेत गरेका थिए। सबैलाई आनन्दित बनाउने र साङ्गीतिक माहौल बनाउने मादल प्रत्येक समूहलाई एक एक वटा वितरण गरिएको छ।
ग्राहकले खरी भएको मादललाई सबैभन्दा राम्रो मान्ने गर्छन्। मादलको मूल्य एक हजार पाँच सय रुपैयाँदेखि १४ हजार रुपैयाँसम्म पर्ने गर्छ। उक्त तालिमका प्रशिक्षक प्रदीपराज पलले पोखरा पर्यटकीय क्षेत्र भएकाले पनि यहाँ मादलको प्रयोग बढी हुने गरेको चर्चा गरे।
पोखराका पसलमा राखिने अधिकांश मादल धादिङ, गोर्खा, तनहुँ, पाल्पा तथा पोखराका केही स्थानमा तयार गरिएको बताइएको छ।
तिहारको समयमा मादल बढी बिक्री हुने गरेको पाइन्छ। मादलमा बनाइएको बुट्टाअनुसार मूल्यमा फरक पर्छ। मादललाई नेपालीको मौलिक बाजा मानिँदै आएको छ। तालिममा सहभागी २५ वटै आमा समूहलाई एक एक वटा मादल प्रदान गर्दै वडाध्यक्ष दीपेन्द्र मर्सानीले भने, “मादल हराउनु भनेको आफ्नो मौलिक बाजागाजा हराउनु हो।”
विद्युतीय बाजा ड्रम सेटको प्रयोग बढ्न थालेपछि नेपाली लोक बाजाका रूपमा ख्याति पाएको मादल बजाउनेको अभाव भएको देखेर नै यस्तो तालिम आयोजना गरिएको र मादल बनाउन छोडेका नयाँ पुस्तालाई पनि यसप्रति आकर्षण गर्ने लक्ष्य वडाको रहेको भनाइ उनको थियो ।
“नेवार समुदायले मादललाई ‘मगः खीं’ अर्थात् मगरको मादल भन्ने गर्छन्।” योगा गुरु थमुन श्रेष्ठले भने। मादलका धेरै धुन भए पनि विशेषतः झ्याउरे, समला, सङ्गिनी र मारुनी गरी चार धुन बढी प्रयोगमा आउने गरेको जानकारी प्रशिक्षक पलले जानकारी दिए।
पूर्वतिर किरात समुदायले हुर्रा नाचमा बजाउने मादल ठुलो हुन्छ। मारुनी नाचमा बजाइने मृदङ्गजस्तो हुन्छ। पश्चिम क्षेत्रमा थारु समुदायले बजाउने फरक शैलीको हुन्छ। दाङ, कैलालीलगायत जिल्लामा नाच्दै थारु समुदायले मादल बजाउँछन्। रोल्पा, रुकुममा फरक किसिमको मादल बजाइन्छ भने कास्की, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वतमा घाटु, नचहरि, कृष्ण चरित्र, मध्यपश्चिम तथा पूर्वाञ्चलमा मारुनी र हुर्रा नाचका गीतमा ठुलो मादल बजाइन्छ। मादलको तालले ननाच्ने मान्छेलाई पनि नाचूँ–नाचूँ बनाइदिन्छ। यसको तालले गीत सङ्गीतलाई जीवन्त राख्ने प्रशिक्षक पलले बताए।
प्रकाशित: २४ जेष्ठ २०८० ०९:२६ बुधबार