भिडियो

मल बिना रन्थनिँदै मधेसका किसान

मधेस प्रदेशमा पर्ने सिरहाको भगवानपुर गाउँपालिका–१ सिनुरियाका किसान राजकुमार साहले धान रोप्न खेत तयार पारिसकेका छन्। खेत तयार पारेर रासायनिक मल खोज्न सहकारी र डिलर धाइरहेका साहले मल पाएका छैनन्। उनलाई दुई बिघा खेतका लागि डिएपी, युरिया र पोटास मल चाहिएको छ।

सरकारी स्वामित्वका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले सोझै किसानलाई मल दिँदैनन्। उनीहरूले कृषि सहकारी अर्थात् डिलरमार्फत किसानलाई मल दिने गरेका छन्। तर डिलरमा जाँदा मल छैन भनेर फर्काउने गरेको राजकुमार बताउँछन्।

मधेस प्रदेशमा रोपाइँको समय घर्किदै छ। वर्षा भएका बेला किसानले मल पाउँदैनन्। मल पाएको बेला वर्षा हुँदैन्। जल र मलको पीडाले पिरोलिएका मधेसका किसान सरकारसँग आक्रोश पोख्दै छन्।

रोपाइँका लागि नभई नहुने रासायनिक मल आउने अझै टुंगो छैन। धान रोपाइँका बेला चाहिने युरिया, डिएपी र पोटास मलको पत्तो नहुँदा मधेसका अधिकांश किसान रोपाइँ गर्न सकेका छैनन्।

सरकारी स्वामित्वको मल आपूर्ति गर्ने निकाय कृषि सामग्री कम्पनीले टेण्डरबाट खरिद गर्ने र भारतसँग ‘जीटूजी’ प्रक्रियाबाट ल्याउने गरी दुवैखाले मलको अझै टुंगो छैन्। कम्पनीले ग्लोबल टेण्डरमार्फत खरिद गरेको ३० हजार मेट्रिक टन युरिया र ४० हजार मेट्रिक टन डीएपी मल अझैसम्म भारतको कोलकाता बन्दरगाहसम्म आइपुगेको छैन। स्विस सिंगापुर कम्पनी ठेकेदार रहेको यो मल अझै समुद्री मार्गमै छ।

किसानलाई तत्काल मल अत्यावश्यक छ। तर मल आउने आशा दूरदूरसम्म देखिदैंन। जसका कारण रोपाई भएपनि उत्पादनमा ह्रास आउने निश्चित रहेको किसानहरुको गुनासो छ।  

मधेस प्रदेशमा अहिलेसम्म ३९ प्रतिशत मात्र रोपाइँ सकिएको छ। कूल ४ लाख ५ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा धान रोपाई हुने मधेस प्रदेशमा हालसम्म १ लाख ५८ हजार २० हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ।

यस प्रदेशमा सबैभन्दा बढी सप्तरीमा ५० प्रतिशत, सिरहामा ४२ प्रतिशत, धनुषामा ३५ प्रतिशत, महोत्तरीमा ३० प्रतिशत, सर्लाहीमा ३५ प्रतिशत, रौतहटमा ३२ प्रतिशत, वारामा ४० प्रतिशत र पर्सामा ४२ प्रतिशत रापाइँ सकिएको छ। सहज रुपमा मल उपलब्ध भइदिएको भए रोपाइँको क्षेत्रफल बढ्ने थियो।

तर सरकारी स्वामित्वको आपूर्ति कम्पनीसँग मलको मौज्दात शून्य रहेकोले किसान रोपाइँका लागि रन्थनिनुको विकल्प देखिदैँन।

प्रकाशित: २ श्रावण २०७९ ०७:१५ सोमबार

रोपाइँका नभई नहुने रासायनिक मल आउने टुंगो धान रोपाइँका बेला चाहिने युरिया डिएपी पोटास मलको पत्तो नहुँदा मधेसका अधिकांश किसान रोपाइँ सकेका छैनन्