भारतमा गंगा नदीको तटमा महागंगा आरती गरिन्छ। गंगालाई जलकी माता मानिन्छ, सीतालाई जमिन अर्थात् थलको। सीताको जन्मस्थली जनकपुरधामको गंगासागर तटमा हुने गंगा आरतीलाई जल र थलको संगम मानिन्छ। जलको संरक्षण र प्रकृतिको पूजा अर्थात् गंगाआरतीले जनकपुरधामको रौनक र गौरव बढाइरहेको छ।
‘सेभ हिस्टोरिकल’ जनकपुरको पहलमा सुरु भएको गंगा आरती आन्तरिक तथा बाह्य पर्यटकका लागि आस्था एवं आकर्षणको केन्द्र बन्दै गएको छ। गंगा आरती हेर्न प्रत्येक साँझ यहाँ पर्यटकको घुइँचो लाग्ने गरेको छ। आरतीमा सहभागी हुन आन्तरिक पर्यटकका अलावा छिमेकी भारत तथा तेस्रो मुलुकबाट समेत पर्यटक आउने गरेका छन्।
गंगा आरतीले जनकपुरधामको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएको मधेस प्रदेशको महान्याधिवक्ता दिपेन्द्र झा बताउँछन्। गंगाआरतीले गर्दा यस क्षेत्रमा पर्यटक बस्ने अवधि बढेको स्थानीय बताउँछन्। गंगाआरती बेलुका हुने भएकाले पर्यटकहरू बस्ने गरेका छन्। गंगाआरतीले होटल व्यवसायमा पनि टेवा पुगेको छ। उनी भन्छन्।
आरतीका लागि गंगासागरको किनारामा तीन वटा मण्डप बनाइएको छ। तीन जना पण्डितले एकैसाथ गीतसंगीतसँगै आरती वाचन गर्छन्। हिन्दु धर्ममा आरती पूजाअर्चनाको एउटा विधि हो। बलिरहेका आरतीका थाली आराध्यसमक्ष एक विशेष विधिले घुमाउने गरिन्छ। आरती सुरु हुनुभन्दा पहिलादेखि नै श्रद्धालुहरूको भीड गंगासागरको तटमा लाग्न थाल्छ।
गंगासागरको चारैतिर श्रद्धालुहरू जम्मा भएर आरतीको आनन्द लिने गर्छन्। जनकपुरधाम आउने विशिष्ट व्यक्ति पनि त्यहाँ पुग्छन्। रामजानकीको विवाहका बेला जानकीकै आग्रहमा भगवान् राम आफ्नो बाणले गंगालाई जनकपुरमा आमन्त्रित गरेको बताइन्छ। त्रेता युगमा मिथिला नरेश निमीको श्रापबाट पुरै शरीर गलिसकेको थियो, त्यसपछि उनको शरीरलाई मन्थन गरियो।
जसबाट मिथि नाउँका बालकको जन्म भएको थियो। सो बालकलाई पानीबाट सिख्त गर्नका लागि संसारकै प्रमुख नदी तथा सरोवरहरूबाट पानी ल्याइयो, सोही पानीबाट गंगासागर पोखरीको निर्माण भएको इतिहास छ। रामजानकीको विवाहको समयमा मटकोर गंगासागर पोखरीमै भएको मान्यता पनि छ।
अहिले पनि प्रत्येक वर्ष रामजानकी विवाह महोत्सवमा मटकोर गंगासागर पोखरीमै हुन्छ र अन्य विशिष्ट उत्सवमा पनि गंगासागर पोखरीकै पानी ल्याउने गरिन्छ। यसले पनि गंगासागर पोखरीको ऐतिहासिक महत्त्व दर्साउँछ।
२०७१ जेठ २५ गतेदेखि सुरु गरिएको गंगाआरतीको उद्घाटन नेपालका लागि तत्कालीन भारतीय राजदूत रञ्जित रेले गरेका थिए। गंगाआरती गर्न भारतको बनारसबाट विशेष पुरोहित बोलाइएको थियो। तिनै पुरोहितले तीन जना युवा पुरोहितलाई गंगाआरती गर्न तालिम दिएका थिए।
६ वर्षअघि गंगासागर पोखरीको पानी अहिलेको जस्तो कञ्चन थिएन। पोखरीको आवरण पनि अहिलेको जस्तो मनमोहक थिएन। यस पोखरीको पानी कालो र आवरण फोहर थियो। जनकपुरधामको मुटुमै अवस्थित यस पोखरीलाई कायाकल्प गरी रमणीय बनाइएपछि अहिलेको गंगासागर बनेको हो।
जनकपुरधामको परिचयमा गंगासागरको महागंगाआरतीले गौरव थपेको छ। र, प्रत्येक साँझ आयोजन हुने यहाँको सन्ध्याकालिन आरातीमा पवित्रताको गंगासागर बर्सिन्छ।
प्रकाशित: २७ असार २०७९ १३:२० सोमबार