भिडियो

सरकारी ढिलासुस्तीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन अनिश्चित

राष्ट्रिय गौरवको आयोजनामा पर्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पूर्वाधारतर्फको सम्पूर्ण काम सकिएको छ। हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आगामि जनवरी एकदेखि विमानस्थलबाट हवाई सेवा संचालन गर्ने लक्ष्य राखेपनि नेपाल सरकार र स्थानीय तहको उदासिनताका कारण तोकिएको समयमा उडान सुरु हुने निश्चित छैन्।  

विदेशी निर्माण कम्पनिले विमानस्थललाई पूर्णता दिएपनि नेपाल सरकार र स्थानीयतहले गर्नुपर्ने महत्वपूर्ण कामको भने अहिलेसम्म टुंगो लागेको छैन। ती कामको सुरुवात नै भएको छैन। काम कहिले सकिन्छ भन्ने कसैलाई थाहा छैन। स्वदेशी निकायले काम फत्ते गरेपछि मात्र विमानस्थल संचालनमा आउने, अन्यथा ढिलो हुने भएपनि ती निकायले तदारुकता देखाएका छैनन्। हवाईजहाजको पहुँचमार्गमा पर्ने लेखनाथको रिट्टेपानी डाँडा कटान, विमानस्थल नजिकैको ल्याण्डफिल साइट व्यवस्थापन, विमानस्थलमा भित्रिने भेलबाढी व्यवस्थापन, आउजाउँमा पहुँच पुग्नेगरि सडक बिस्तार लगायतका मुख्य काम बाँकी नै छन।  

‘बाहिरी संरचनाको केही काम बाँकी छ। पूर्वतर्फ एप्रोचमा पर्ने रिठेपानी डाँडाको ४० मिटर कटान गर्नुपर्ने हुन्छ। त्यस्तै विमानस्थलको दक्षिणतिर डेढ किलोमिटरको दूरीमा ल्याण्डफिलसाइट छ, त्यसलाई स्थानान्तरण गर्नुपर्ने हुन्छ। ती काम नभएसम्म विमानस्थल संचालनमा समस्या हुन्छ,’ आयोजनाका उपप्रबन्धक इन्जिनियर कृष्णप्रसाद पौडेलले भने।  

पहुँचमार्गमा पर्ने रिट्टेपानीको डाँडाको चुचुरोबाट ४० मिटर तलसम्म काट्नुपर्छ। डाँडा कटान गर्नुपूर्व गरिने वातावरणीय प्रभाव मुल्यांकन (इआइए)को प्रक्रिया चलिरहेको छ। इआइए स्वीकृत नभई कटान सुरु हुँदैन। स्वीकृत भएपछि पनि टेण्डर आव्हान गरेर सुरु गर्दा अझै केही महिना लाग्ने आयोजनाका पदाधिकारीको अनुमान छ। डाँडाको १४ मिटर उचाई घटाएपछि बल्ल क्यालिब्रेसन फ्लाइट सम्भव हुन्छ। तर, नियमित उडान–अवतरणका लागि १२ देखि ४० मिटर उचाइ घटाउनुपर्छ। डाँडा कटान गर्दा ६ सय रुख पनि काटिनेछन्।  

यस्तै विमानस्थलको अर्काे समस्या हो भेलबाढी नियन्त्रण हो। वर्षायाममा बजारतिरबाट सोहोरिएर गएको भेलबाढीले विमानस्थलको पूर्वि भेगमा क्षति पुर्‍याउने गरेको छ। आयोजनाले नै भित्रिखण्डको भेल व्यवस्थापनको लागि नालाको आकार बढाएको छ भने बाहिरी काम भने थाती रहेको छ, जुन सिंचाई विभागको जिम्मा हो। विमानस्थलको अर्काे टड्कारो समस्या हो नजिकैको ल्याण्डफिल साइट स्थानान्तरण। ल्याण्डफिल साइट व्यवस्थापन विमानस्थल संचालनको सबैभन्दा ठूलो बाधक मानिएको छ। तर, वर्षाैदेखिको यो समस्या ज्यूँ का त्यूँ छ। पोखरा महानगरले वर्षाैदेखि सहरको फोहर व्यवस्थापन गरिरहेको बाच्छेबुडुवास्थित ल्याण्डफिल साइट  विमानस्थलबाट करिब दुईकिलोमिटर दूरीमा पर्छ।

प्रकाशित: १३ असार २०७९ १२:३४ सोमबार