भिडियो

जाडोमा भाइरल लोड बढी हुने हुँदा संक्रमणको डर धेरै हुन्छ : डा. सुवेदी (अन्तर्वार्ता)

मुलुकमा तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ। दैनिक ठूलो संख्यामा संक्रमित थपिइरहेका छन्। आखिर यो किन नियन्त्रण हुन सकिरहेको छैन? कहिले, कसरी होला? यिनै सेरोफेरोमा संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीसँग नागरिकज्युजकर्मी पवन बराइलीले कुराकानी गरेका छन् :

खासगरी बाक्लो बस्ती रहेको सहरी क्षेत्रमा संक्रमण बढ्दो देखिन्छ। नियन्त्रणका लागि कस्तो रणनीति अपनाउनुपर्ला?  

मुख्यतः हाम्रो आर्थिक तथा सामाजिक चुनौती के–के हुन्? महामारीबाट कुन वर्गका मानिसलाई बढी असर पुगेको छ? उनीहरूको जीवनमा सहजता ल्याउन कस्ता गतिवधि सञ्चालन गर्ने? जसले गर्दा आवागमन धेरै नहोस्। यस्ता विषयलाई गम्भीर भएर विश्लेषण गरिनुपर्ने हो।  

खोले सबै खोल्ने, निषेध गर्दा सबै निषेध गर्ने रणनीति अपनाइएको छ। यो एकदमै गलत हो। यस्ता कदम चाल्दा विभिन्न पक्षका विज्ञसँग छलफल गरिनुपर्थ्याे। सीमित क्षेत्र- मात्र खासगरी निम्न वर्गलाई सजिलो हुने गतिविधि मात्र खुला गरिनुपर्थ्याे। यसाे गर्दा आवतजावत तथा भिडभाड कम हुन्थ्यो। तर यस्तो रणनीति बन्न सकेन। जति भिडभाड भयो, उति संक्रमण बढ्दै गएको छ। पूर्ण रूपमा निषेध गर्ने र पूर्ण रूपमा खोल्ने रणनीतिले जोखिम बढाएको हो। यस विषयमा विज्ञसँग छलफल गर्न जरुरी छ।  

दसैं नजिकिँदै छ। अब झन् संक्रमण बढ्ने होला। यस्तो बेला कस्तो जीवनशैली अपनाउनुपर्ला?  

गाउँघरमा अहिले कोरोना फैलिसकेको छैन। तर दसैं नजिकिँदै गरेकाले संक्रमण फैलिएका ठाउँबाट ठूलो संख्यामा मानिस गाउँ फर्किने क्रम बढ्दो छ। यसले गर्दा अब गाउँघरमा पनि संक्रमण फैलिने सम्भावना बढेको छ।   

खोले सबै खोल्ने, निषेध गर्दा सबै निषेध गर्ने रणनीति अपनाइएको छ। यो एकदमै गलत हो। 

दसैंमा एकै हातले २० जनाकाे निधारमा टीका लगाइदिनुभएन। हामीकहाँ एक जनाले धेरै जनालाई टीका लगाइदिने चलन छ। यसलाई परिवर्तन गर्नुपर्‍याे। हामीले जीवनशैलीसँगै चाडपर्व मनाउने तरिका पनि परिमार्जन गर्न जरुरी छ। पराम्पराका नाममा घरका बुबाआमालाई खतरामा पार्नुभएन। त्यसैले पहिलेजस्तो दसैंमा गाउँ जान्छु र बुबाआमासँग चाड मनाउँछु भन्ने मानसिकता बनाउनुभएको छ भने त्यो त्याग्नुस्। विषेशगरी सहर अर्थात् धेरै जनघनत्व भएका ठाउँबाट मानिस गाउँमा जाँदा भाइरस पनि पुग्छ। दसैंमा महामारी झन् फैलिँदै गयो भने जहाँ हुनुहुन्छ, त्यहीं बसेर चाड मनाउने मानसिकता बनाउनुस्। दसैंमा सबैले घर नगइदिनुस्। अर्काे साल रमाइलो गरी मनाउँला। अहिले आफूलाई संक्रमण छैन भने पनि भीडभाड गर्दै जाँदा त्यहींबाट संक्रमण सर्न सक्छ। दसैंमा नागरिक आफैंले सतर्कता अपनाउनुपर्छ। सरकारले मात्रै भनेर हुँदैन।  

भीडभाड बढ्दै गएको देखिन्छ। संक्रमण हुने क्रम पनि बढिरहेको छ। पछिल्लो समय मानिसले कोरोनाको मतलब गर्न छाडेका हुन्?  

महामारीका कारण काम गरेर खाने वर्गलाई मुस्किल छ। बाहिरबाट हेर्दा सचेत नभएजस्तो वा सरकारलाई नटेरेजस्तो देखिन्छ। तर उनीहरूलाई बिहान–बेलुका हातमुख जोड्न पनि समस्या छ। बालबच्चालाई कसरी पाल्ने भन्ने समस्या छ। भाइरस अदृश्य हुन्छ। यस्तो अदृश्य कुराको डर देखाउँदा मानिस नडराएका हुन्। त्रास देखाएर मात्रै हुँदैन। विपद्मा परेका श्रमिक वर्गलाई राज्यले सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्थ्याे। त्यो भएन। सरकारले मास्कसम्म निःशुल्क उपलब्ध गराएन। खाद्यान्नको कुरा त परै छाडौं। इच्छा भए मास्क वितरण गर्न सकिने कुरा हो। सरकारले आफैंले नसके सहयोगी व्यक्ति/संस्थालाई अनुरोध गरेर भए पनि खान नपाउने वर्गका लागि खाद्यान्न उपलब्ध गराउनुपर्थ्याे। सरकारले गरेको घोषण पनि ठोस रूपमा कार्यान्वयन भएको देखिँदैन। बिरामीले उपचार पाउन सकिरहेका छैनन । यो विपदमा राज्यले जनतालाई सहयोग गर्न सक्नुपर्थ्याे। 

कोरोना संक्रमणबाट दिनहुँ नागरिकको ज्यान गइरहेको छ। यो नियन्त्रणका लागि राज्यको भूमिका कस्तो हुनुपर्छ?  

परीक्षण जति धेरै गर्‍याे र उति नै संक्रमित पहिचान हुने हो। तसर्थ महामारी नियन्त्रणको पहिलो कडी नै परीक्षण हो। संक्रमित पहिचान भएपछि उसका आसपासका मान्छेको ‘कन्ट्याक ट्रेसिङ’ गर्ने हो। त्यसपछि थप संक्रमित पत्ता लाग्छन्। ती सबैलाई क्वारेन्टिनमा र कोरोना पोजिटिभ भएकालाई आसोलेसनमा राखिनुपर्छ। परीक्षणको दायरा फराकिलो बनाउँदै लगेपछि संक्रमण दर कम हुँदै जान्छ। अस्पतालमा चाप कम हुन्छ। भेन्टिलेटर र आइसोलेसनको आवश्यकता घट्छ।  

पराम्पराका नाममा घरका बुबाआमालाई खतरामा पार्नुभएन। त्यसैले पहिलेजस्तो दसैंमा गाउँ जान्छु र बुबाआमासँग चाड मनाउँछु भन्ने मानसिकता बनाउनुभएको छ भने त्यो त्याग्नुस्। 

हाम्रोमा परीक्षण पाटोमै ठूलो समस्या छ। धेरै मानिस परीक्षण गर्न गएका छैनन्। खर्चका कारण, आवागमन असुविधा तथा डरका कारण। यस्ता समस्याले गर्दा मानिस रोग पकाएर बस्छन्।  

काठमाडौं बाहिर ताप्लेजुङ, पाँचथर, डडेलधुरा, बझाङका मानिसलाई परीक्षण गर्नुपर्याे भने नजिकै ल्याब छैन। त्यस्तो बेला नजिकैको अस्पतालमा पुर्‍याउन  सवारीसाधन व्यवस्था गरियो भने स्वाब परीक्षण गर्न सकिन्थ्यो। त्यो काम राजनीतिक नेतृत्वकर्ताले गर्न सक्छ। त्यसका लागि इच्छाशक्ति चाहिन्छ। परीक्षण प्रक्रिया सजिलो बनायो भने संक्रमित पहिचान गर्न सजिलो हुन्थ्यो। जति धेरै स्वाब संकलन गरियो, उति संक्रमित पहिचान गर्न सक्छौं।  

भनेपछि ठूलो मात्रामा परीक्षण र कन्ट्याक्ट ट्रेसिङ नै कोरोना नियन्त्रणका अस्त्र हुन्?  

हामीले ‘कन्ट्याक्ट ट्रेसिङ’ पटक्कै गरेका छैनौं। एकजना संक्रमितले ५०–६० जनालाई भेटेको हुन्छ। ती मानिसको कन्ट्याक्ट ट्रेसिङ गरेपछि केहीमा कोरोना पोजिटिभ देखिन्छ। त्यसपछि चरणबद्ध कन्ट्याक्ट ट्रेसिङ गर्ने, अनि मात्रै क्वारेन्टिन र आइसोलेसका प्रक्रिया अघि बढ्छन्। यो तरिका अपनाइयो भने मात्रै महामारी नियन्त्रण हुन्छ।  

विदेशका उदाहारण हेर्ने हो भने चीनको वुहानमा संक्रमण दर धेरै माथि पुगेको थियो। तर त्यो केही महिनाभित्रै नियन्त्रणमा आयो। इटाली र स्पेनजस्ता मुलुकमा हाम्रो देशमा भन्दा धेरै मानिसको मृत्यु भइसकेको थियो। तर उनीहरूले कसरी नियन्त्रण गरे? परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र आइसोलेसन विधि अपनाएका त हुन् नि!  

अहिले धेरै मुलुकमा अर्थतन्त्र चलायमान् हुन थालेको छ। विद्यालय खुल्न थालेका छन्। उद्योगधन्दा सञ्चालन हुन थालेका छन्। तर हामी महामारी नियन्त्रणमा धेरै पछि परिरहेका छौं।  

काठमाडौंलगायत जनघनत्व धेरै भएका सहर थुप्रै छन्। त्यस्ता ठाउँमा ‘कन्ट्याक्ट ट्रेसिङ’ सम्भव होला र?  

काठमाडौं उपत्यकामा ‘कन्ट्याक्ट ट्रेसिङ’ सम्भव छैन भनेको पनि सुनें। धेरै विज्ञले यो सम्भव छैन भनिरहेका छन्। ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न जनशक्ति आवश्यक पर्छ। दिनमा हजारदेखि १५ सयसम्म संक्रमित भइरहेका छन्। तिनको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न कम्तीमा चार/पाँच हजार मानिस चाहिन्छ। यसो गर्दा धेरै सस्तो पनि हुन्छ। उसले नै सबै व्यवस्था मिलाउने काम गर्छ। महामारी नियन्त्रणका लागि करोडौं रुपैयाँ खर्च भएको सुनिरहेका छौं। त्यो भन्दा धरै कम खर्चमा ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न सकिन्छ। यो कुरा महामारी नियन्त्रण भएका मुलुकबाट पनि सिक्न सकिन्छ। चार÷पाँच हजार मानिस ‘कन्ट्याक्ट ट्रेसिङ’का लागि छुट्याइयो भने प्रभावकारी बन्छ। ‘कन्ट्याक्ट ट्रेसिङ’बारे राजनीतिक तहमा बसेका विज्ञले अझै बुझ्न सकेका छैनन्।  

निको भएका मानिसलाई पुनः संक्रमण हुँदैन भन्ने कुराचाहिँ कतिको सत्य हो?  

हरेक दिन नयाँ–नयाँ सूचना आउँछन्। हामीले भनेका कुरा पनि पछि नमिल्ने हुँदै जान्छन्। कसैलाई कोरोना पोजिटिभ भयो र निको भयो भने उसलाई पुनः संक्रमण हुने सम्भावना हुने सम्भावना प्रायः हुँदैन। करोडौं मानिसमध्ये ७/८ जनालाई संक्रमण दोहोरिएको रिपोर्ट आएका छन्। निको भएको २/३ महिनापछि फरक भाइरसले संक्रमण गरेको पनि पुष्टि भएको छ। तर लक्षण नभएको पाइएको छ। त्यस्तोचाहिँ धेरै भएको पनि हुन सक्छ। समग्रमा एकपटक संक्रमण भएका मानिसलाई फेरि हुँदै हुँदैन भन्न सकिन्न। त्यसकारण निको भइसकेका मानिसले पनि मास्क लगाउने, दूरी कायम अनिवार्य गर्नुपर्छ। आफूलाइ भन्दा पनि अरूलाई बचाउन सर्तकता अपाउनुपर्छ। आफूलाई निको भयो भनेर ढुक्क भएर हिँड्न मिल्दैन।

दिनप्रतिदिन संक्रमण बढ्दो छ। महामारी नियन्त्रणभन्दा बाहिर गइसकेको हो?  

अस्पतालमा धेरै डाक्टर/नर्सलाई संक्रमण भइरहेको छ। यो आफैंमा चुनौती हो। यसले स्थिति थप जटिल बनाएको छ। काठमाडौं उपत्यकाबाहिरका अस्पतालमा बेड अभाव भएको छ। आइसियुमा बस्नुपर्ने मान्छे घरमै बस्न बाध्य छन्। महामारी नियन्त्रणभन्दा बाहिर गइसक्यो। अस्पतालमा भेन्टिलेटर छैनन्, अस्पतालका बेड बिरामीले भरिभराउ भइसके। अरू बिरामी अस्पताल जान पाइरहेका छैनन्। यसरी उपचार नपाउने अवस्था आउनु भनेकै महामारी नियन्त्रणभन्दा बाहिर जानु हो। महिनौंदेखि यस्तो भइरहेको छ।  

मिर्गाैला डाइलासिस गर्नुपर्ने बिरामीले गर्न पाइरहेका छैनन्। कतिपय बिरामी आर्थिक समस्याका कारण अस्पताल जान सकिरहेका छैनन्। उपचार त पाइन्छ, तर खर्चिलो छ। एउटा इन्जेक्सनकै ७/८ हजार रुपैयाँ पर्छ। भेन्टिलेटरमै बस्नुपर्याे भने झन् धेरै खर्च चाहिन्छ। हर्टअट्याक भएका बिरामीले अस्पताल पुग्नेबित्तिकै उपचार पाउन सकेको छैन।  

हरेक दिन हजार मानिसको परीक्षण गर्दा १ सय ५० जनाको रिपोर्ट पोजिटिभ आइरहेको छ। अर्थात् १५ प्रतिशतमा पोजिटिभ देखिएको छ। यो भनेको धेरै माथि हो। अझ हामीले धेरै कम मात्र परीक्षण गरिहेका छौं। दुई गुणा बढी परीक्षण गर्ने हो भने संक्रमण दर पनि त्यति नै बढ्ने निश्चित छ। काठमाडौंमा धेरै ल्याब छन्। आवगमन सहज छ। तर काठमाडौं उपत्यका बाहिरका मानिसलाई परीक्षणका लागि अर्काे जिल्ला जानुपर्ने भएकाले परीक्षण गराउन सकेका छैनन्। काठमाडौंभन्दा बाहिर पनि धेरै जनघनत्व भएका सहर थुपै्र छन्। परीक्षणलाई प्रभावकारी बनाउनै सकेका छैनौं। यसरी कसरी महामारी नियन्त्रण हुन्छ? मानिसले काम गरेर गुजारा गर्न सक्ने वातावरण बन्नुपर्छ। अनि मात्रै महामारी नियन्त्रणमा आएको भन्न सकिन्छ। त्यो अवस्था छैन। स्थिति अझै भयावह हुने सम्भावना बढ्दो छ।  

जाडोमा कोरोना संक्रमण झन् बढ्ने हो कि?  

श्वासप्रश्वासमार्फत संक्रमण गर्ने भाइरस भएकाले यो जाडो मौसममा बढी फैलिन्छ। किनिक जाडोमा श्वासप्रश्वाससम्बन्धी अन्य रोग पनि बढी देखिन्छन्। जाडोमा रुघाखोकी बढी लाग्ने भएकाले भाइरल लोड बढी हुन्छ। एक व्यक्तिबाट अर्काे व्यक्तिमा भाइरस सर्ने खतरा बढी हुन्छ। बिरामी सिकिस्त हुने जोखिम पनि बढ्छ। त्यसकारण जाडोमा झन् जोगिन आवश्यक छ।  

भनेपछि खोप आएपछि मात्रै ढुक्क हुन सकिने हो?  

भ्याक्सिन (खोप) आए पनि त्यो आफंैले सबै काम गर्दैन। डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) ले ५० प्रतिशतसम्म इफेक्टिभ (प्रभावकारी) भ्याक्सिन आयो भने मान्यता दिने भनेको छ। अहिले बनिरहेका भ्याक्सिनको गाइडलाइन हेर्ने हो भने ‘माइल सिम्टम’ कम गर्याे भने इफेक्टिभ भनेका छन्। जब माइल सिम्टम कम गर्ने र मृत्यु कम गर्ने चाहियो। हामीलाई संक्रमण नै नियन्त्रण गर्ने खोप चाहियो। भ्याक्सिन आए पनि संक्रमण दर केही कम गर्ने हो, पूर्ण रूपमा नहराउन पनि सक्छ।  

इन्फ्लुएन्जाको मुत्युदर कोरोनाको भन्दा १५/२० गुणा कम छ। अर्थात् इन्फ्लुएन्जाको भन्दा कोरोनाको मृत्युदर धेरै छ। फैलन पनि धेरै फैलिन्छ। यसलाई यतिकै छाड्यौं भने समाजले थेग्न सक्दैन। त्यसकारण इन्फ्लुएन्जाजस्तो छाड्न मिल्ने महामारी होइन यो। त्यसकारण परीक्षणलाई प्राथमिकता दिनुपर्छ। हामीले गर्न सक्नेजति गर्‍यौं भने पनि महामारी केही हदसम्म नियन्त्रण हुँदै आउँछ।  

प्रकाशित: १५ आश्विन २०७७ ११:१६ बिहीबार

चिकित्सक कोरोना भाइरस