भिडियो

काठमाडौंमा सी चिनफिङका २१ घण्टा, के के गरे ?

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण गरेर आज फर्किएका छन्। एयर चाइनको विमानबाट शनिवार साँझ ५ बजे काठमाडौं अवतरण गरेका चिनियाँ राष्ट्रपति सीले काठमाडौंमा करिब २१ घण्टा बिताएका थिए।

उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारत चेन्नाइको अनौपचारिक भ्रमण सकेर नेपाल आएका थिए। विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन्। चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपाली सेनाको विशेष टुकडीले गार्ड अफ अनर प्रदान गरिएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समकक्षी सीलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए।

राष्ट्रपति सी विमानस्थलबाट सिधै कालिमाटीस्थित सोल्टी होटल पुगेका थिए। सीलाई एयररपोर्ट, सिनामंगल, तिनकुने, नयाँबानेश्वर, त्रिपूरेश्वर, कालिमाटी हुँदै होटेल सोल्टी लगिएको थियो।

होटल सोल्टीमा आधा घण्टा आराम गरेपछि उनी समकक्षी भण्डारीसँग भेट गर्न शितल निवास गएका थिए। दुबै देशको राष्ट्रध्यक्षको भेटवार्ता ६ बजेर ३० मिनेटमा भएको थियो। भेटवार्ता पश्चात् राष्ट्रपति भण्डारीले रात्रीभोज ७ बजेर ३० मिनेटमा आयोजना गरेकी थिइन्। राष्ट्रपति सीको सम्मानमा आयोजित रात्रीभोजमा बोल्दै सीले नेपाल अब भूपरिवेष्ठित देशबाट भूजडित देश हुने बताएका थिए। राष्ट्रपति सीले नेपाल भ्रमण वर्ष २०२० मा चिनियाँ पर्यटकलाई नेपाल घुम्न उत्प्रेरित गर्ने प्रतिवद्धता जनाएका थिए।

सो भोजमा सहभागी भएपछि सी को पहिलो दिनको औपचारिक कार्यक्रम समापन भएको थियो।

चिनियाँ राष्ट्रपति सी चिनफिङले पहिलो दिन नै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भेटेका थिए। त्यस लगत्तै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनालाई पनि भेटेका थिए।

त्यस्तै सी र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो।

भेट सकिएलगत्तै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिका लगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्केका छन्। राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा विदाइ गरेकी छिन्।

प्रकाशित: २६ आश्विन २०७६ १२:३० आइतबार

चिनियाँ_राष्ट्रपति सी_चिनफिङ भ्रमण नेपाल चीन राजकीय_भ्रमण