भिडियो

कांग्रेस बदलिन्छ, देउवा अब सभापति बन्नु हुन्नः प्रदीप पौडेल (भिडियो)

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी महाधिवेशनमा पार्टीको नेतृत्व फेरिने बताएका छन्। 

नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम ‘फ्रन्टलाइन’मा पत्रकार श्रीराम पौैडेलसँग कुरा गर्दै नेता पौडेलले १४ औं महाधिवेशनले नेतृत्वदेखि सांगठनिक संरचनासम्म धेरै कुरा परिवर्तन गर्ने स्पष्ट पारे। 

‘सबै कुरा परिवर्तन हुन्छ, अब कांग्रेसमा यथास्थितीमा केही रहँदैन’, उनले भने।  अबको महाधिवेशनमा देउवाजी हुनुहुन्न हैन? भन्ने प्रश्नमा पौडेलले भने, ‘उहाँको कार्यकालको परीक्षण भइसकेको छ। यो खालको शैलीले, काम गराइले पुगेन। विकल्प खोजेर पनि ल्याइन्छ।’  

महाधिवेशनपछि यथास्थितीलाई बदलेको कांग्रेस हुने र सैद्धान्तिक, सांगठनिक, नेतृत्व, कार्यशैलीको पक्षबाट परिवर्तन गर्नुपर्ने उनको भनाई छ। ‘अहिलेको चुनौती समना गर्न सक्ने नेतृत्व आवश्यक छ’, उनले भने, ‘पार्टी मात्र होइन राष्ट्रिय राजनीतिका चुनौतीको सामना गर्न सक्ने, समाधान दिनसक्ने नेतृत्व अधिवेशनबाट आउँछ।’

नेता पौडेलले आगामी महाधिवेशनको समय थपिने निश्चित रहेको पनि बताए। ‘१४ औं महाधिवेशन २०७६ को फागुनमा हुनुपर्ने हो। यद्यपि विधानमा विशेष अवस्थामा थप गर्ने व्यवस्था छ। निर्णय त भइसकेको छैन, तर एक वर्ष थपिने निश्चित छ। ०७७ फागुनसम्म गरिसक्नुपर्छ’, उनले भने। 

नेता पौैडेलले तलका संरचना (केन्द्र, प्रदेश, स्थानीय तह)लाई पूर्णता दिने काम बाँकी रहेको, क्रियाशिल सदस्यता, नवीकरण, केन्द्रीय महाधिवेशनअघि सात वटै प्रान्तको महाधिवेशन गर्नुपर्ने काम पनि बाँकी रहेको भन्दै यी काम गर्न डेढ वर्ष लाग्ने तर्क गरे।

सबै पार्टीमा गुट रहेको भन्दै गुटको प्रतिस्पर्धाले पार्टी बलियो हुने उनको धारणा छ। ‘संविधान र संघीयताअनुसार कांग्रेसको संरचनामा ढिलो भएको छ, तर कार्यान्वयन हुनैपर्छ’, उनले भने। 

कांग्रेसलाई सच्याउनुपर्ने आवश्यकता रहेको र वैकल्पिक लोकतान्त्रिक शक्तिमा रुपमा कांग्रेस अघि आउनुपर्नेमा नेता पौडेलले जोड दिए। 

नेता पौडेलले संघीयता कार्र्यान्वयनमा सरकारको पटक्कै इच्छाशक्ति नदेखाएको आरोप लगाए। ‘संविधान कार्यान्वयन, भ्रष्टाचार नियन्त्रणभन्दा पनि सरकार कब्जा गर्ने दिशामा अघि बढेको छ’, उनले भने। 

नेकपाले कांग्रेसले भ्रष्टाचारी संरक्षण गरेको भन्दै आएको उल्लेख गर्दै आफ्नो सरकार हुँदा किन कारवाही नगरेको भनी प्रश्न गरे। ‘सरकार नेकपाको छ, भ्रष्टाचारलाई कारवाही किन गर्दैन्। भ्रष्टाचारी कुनै पार्टीको हुँदैन्। भ्रष्टाचारीलाई कारवाही गरेर सरकारले कांग्रेसलाई सघाउनुपर्छ’, उनले भने। 

प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिले दिएको छानविन प्रतिवेदन अख्तियारमा पठाउन छाडेर निर्दोष घोषणा गर्दै हिँडेकोमा आपत्ति जनाउँदै पौडेलले भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याउनैपर्नेमा जोड दिए। 

प्रकाशित: १५ श्रावण २०७६ १४:०८ बुधबार

नागरिक_फ्रन्टलाइन प्रदीप_पौडेल नेपाली_कांग्रेस १४_औं_महाधिवेशन