भिडियो

काम सकिएपछि कोरियामा नबस्नुस: श्रममन्त्री विष्ट

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अवैधानिक भएर दक्षिण कोरियामा काम नगर्न नेपालीहरुलाई आग्रह गरेका छन्। दक्षिण कोरियाबाट फर्केका नेपाली कामदारहरुले  मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री विष्टले भने-'काम गर्ने अवधि सकिएर कोरियामै लुक्न थाल्यौं भने त्यसले नेपालको गौरवमाथि चोट पुग्नेछ। एकजना पनि नेपाली काम सकिएपछि कोरियामा नबस्नुस।'

सरकारी तथ्यांक अनुसार हालसम्म ६३ हजार नेपाली कामदारले दक्षिण कोरियामा रोजगारी पाएका छन। उनीहरुको ज्ञान, सीप र अनुभवले पनि नेपाललाई समृद्ध बनाउन सघाउन पु-याउने मन्त्री विष्टको विश्वास छ। नेपालीहरु इमान्दार छन् भन्ने सन्देश दिन आग्रह गर्दै मन्त्री विष्टले भने- 'वैधानिक हुन्जेल काम गर्नुस, मेहनत गर्नुस। नेपालीहरु अत्यन्त मिहेनती हुन्छन्, अनुशासित हुन्छन् भन्ने सन्देश दिनुस।'

उनले नेपालमा पनि रोजगारीको अवसर सृजना हुनेगरी लगानी गर्न दक्षिण कारियाको निजी क्षेत्रलाई आग्रह गरे। दक्षिण कोरियाले नेपाली कामदारलाई गुणस्तरीय रोजगारीको अवसर दिएको उल्लेख गर्दै मन्त्री विष्टले अब नेपालमै रोजगारीको अवसर सृजना हुने गरी लगानी गर्न आग्रह  गरे।

दक्षिण कोरियाबाट फर्केका कामदारहरुको सीप र अनुभवलाई भरपुर उपयोग गरि मुलुकलाई समृद्ध बनाउन सरकार लागिपर्ने उनको भनाइ थियो। दक्षिण कोरियाले आफ्नै स्रोत र साधनको उपयोग गरेर समृद्धि हाँसिल गरेको उल्लेख गर्दै उनले त्यसबाट नेपालले धेरै पाठ सिक्न सक्ने बताए।

प्रकाशित: ७ श्रावण २०७६ ०८:१६ मंगलबार

गोकर्ण_विष्ट कोरिया_रोजगारी अवैध_नेपाली नेपालमा_लगानी