भिडियो

कमल थापालाई प्रधानमन्त्री ओलीले दिए मुर्खको संज्ञा !

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फेरि चाहियो भन्नेहरुलाई मुर्खको संज्ञा दिएका छन्। शुक्रबार भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति संकेत गर्दै २ सय ४० वर्ष शासन गरेर मुलुकलाई अन्धकारको युगमा धकेल्ने, गरिव बनाउने राजतन्त्र फेरी चाहियो भनेर केहीले मुर्खतापूर्ण अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै मुर्खको संज्ञा दिएका हुन्।

उनले देश र जनतालाई माया गरेर इमान्दारिताका साथ राष्ट्र निर्माणको अभियानमा सहभागी हुन पनि सबैलाई आह्वान गरेका छन्। प्रधानमन्त्री ओलीले देशलाई प्रतिगमनतर्फ लैजाने चेष्टा नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराएका हुन्। उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई तथाकथित क्रान्तिको नाममा हिंसा भड्काउने प्रयास नगर्न पनि चेतावनी दिए।

प्रधानमन्त्री ओलीले सरकार मुलुकको शान्ति, सुरक्षा, सुशासन र विकासको काममा लागि परेको दावी पनि गरे। प्रधानमन्त्री ओलीले बेरोजगारी समस्या समाधानको बाटोमा सरकार लागि परेको पनि बताए। प्रधानमन्त्री रोजगार कार्यक्रम’ बेरोजगारी समस्या समाधानका लागि नै सुरुवात गरिएको कार्यक्रम भएको प्रधानमन्त्री ओलीले स्पष्टिकरण दिए। प्रधानमन्त्री ओलीले ४० लाख युवाहरु वैदेशिक रोजगारमा रहेकाले उनीहरुलाई देशभित्रै रोजगारीको अवसर सृजना गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए।

प्रधानमन्त्री ओलीले सबै नागरिकलाई सुरक्षा गर्नेगरी सरकारले आवश्यक सामाजिक सुरक्षाको प्रबन्ध गरिरहेको पनि बताए। कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बेरोजगार युवाहरुलाई देशमै रोजगारीको अवसर सृजना गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम’ लागू गरेको बताए।

प्रकाशित: २४ जेष्ठ २०७६ ११:२६ शुक्रबार

प्रधानमन्त्री_रोजगार_कार्यक्रम केपी_शर्मा_ओली कमल_थापा राजतन्त्र