भिडियो

बौरिँदै सीमा नाका (भिडियो /फाेटाेफिचर)

तातोपानी - तल नेपाल–चीन सीमारेखा कोरेर बगेको भोटेकोसी नदी। माथि चट्टाने पहाड। बीचमा छ, विशाल छिमेकी मुलुक चीन जोड्ने अरनिको राजमार्ग। तिब्बतको मुखैमा लिपिङ बजार। त्यसपछि कोदारी, अझ तल तातोपानी र झन् तल लार्चा बजार।  

ती सुनसान थिए। रित्ता थिए। बजारका स्वरुप क्षत्विक्षत् थियो। हिँड्ने बाटोघाटो थिएन। भोटेकोसी नदीको एकोहोरो सुसाई र मानवविहीन बस्तीले बजार मसानघाट जस्तै लाग्थे। वर्ष अघिसम्मको सीमा क्षेत्रको यो रुप बदलिएको छ। बिनासकारी भूकम्प र भोटेकोसी बाढीले जीवनमरणको दोसाँधमा पुगेको नाकाका बजार गुल्जार बन्दै छन्। अर्थात् छिट्टै सञ्चालन तयारीमा रहेको उत्तरी चीन जोड्ने मुख्य व्यापारिक नाका तातोपानी बौरिँदै छ।

पुनर्निर्माणमार्फत चार वर्षपछि नाका तंग्रिने तरखरमा पुगेको हो। नाकाको पुनर्निर्माणमा चीन अहोरात्र खटिरहेको छ। पहिरो र नदी नियन्त्रणको काम सकिएको छ। पक्की सडकले नाका जोडिइसकेको छ। अब मितेरी पुलले मात्र नाका चीनसँग जोडिन बाँकी छ। त्यो निर्माण अन्तिम चरणमा पुगेको छ।

‘अब फेरि पनि नाका तंग्रिएला बन्ने सोचेकै थिएनौँ,’ लिपिङ बजारमा भर्खरै बनेको सडक दायाँ–बायाँको खुकुलो माटोमा घाँसको बीउ रोपिरहेकी स्थानीय शान्ति कार्कीले भनिन्। चिनियाँसँगै मजदुरका रुपमा वर्षदेखि पुनर्निर्माणमा खटिइरहेकी उनी नाका सञ्चालनसँगै व्यापारमा फर्कँने तयारीमा रहेको सुनाउँछिन्। भूकम्पअघि उनी झोला पोकामा चिनियाँ सामग्रीको व्यापार गर्थिन्।

२०७२ वैशाख १२ को भूकम्पले नाका तहसनहस बनायो। नाका खुल्ने संकेतसँगै भूकम्पयता १४ महिना बन्द रहेका नाकाका बजार क्रमशः बौरिने खोज्दै थिए। प्रकृतिको प्रहार निर्मम् नै हुने रहेछ ! भूकम्पको एक वर्षपछि २०७३ असारमा तिब्बतको हिमताल फुटेर भोटेकोसीमा आएको बाढीले नाकामा उपद्रो मच्चाइदियो। झण्डै तीन दर्जन घर भोटेकोसीले तानिदियो। सडक छिया–छिया पारेर नदीतिरै लछा-यो। उठ्नै नसक्ने गरी नाका थिचियो। तर नुन सटहीबाट आधुनिक बनेको ऐतिहासिक नाका सँधै यही अवस्थामा रहन सम्भव थिएन। यसको उदाहरण अहिले नाकामा देख्न सकिन्छ।    

पुनर्निर्माणपछि नाकाको जनजीवन सामान्य लयमा फर्कँदै गएको  छ। भूकम्प र बाढीपछि नाका छोडेर हिँडेकाहरु फर्कँन थालेका छन्। कोदारी, तातोपानी र लार्चा बजारमा स्थानीयको बाक्लो चहलपहल सुरु भएको छ। जेठभित्रैबाट नाका सञ्चालनमा ल्याउने सरकारको तयारी छ। पुनर्निर्माणसँगै नाका सञ्चालनमा आउने चर्चाले नाकावासी अझ उत्साही बनेका छन्।

सबै तस्बिर : ध्रुव दङ्गाल, सिन्धुपाल्चाेक । नागरिक    

 

 

प्रकाशित: २३ वैशाख २०७६ १३:४७ सोमबार

ताताेपानी_नाका सिन्धुपाल्चाेक भोटेकोसी_नदी पुनर्निर्माण मितेरी_पुल