भिडियो

प्रधानन्यायाधीश राणाको ‘हीरा’मा देखिएन ‘खोट’

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको ‘कोटा’मा सर्वोच्च अदालतको न्यायाधीशमा  सिफारिस भएका मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा कुनै लिखित उजुरी नपरेको पाइएको छ। पूर्वप्रधानन्यायाधीश दामोदर शर्माका भतिजा शर्मा न्यायपरिषदको अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश राणाको ‘कोटा’ मा सर्वोच्च अदालतको न्यायाधीश सिफारिस थिए। शर्मासँगै सिफारिस भएका उच्च अदालतका मुख्य न्यायाधीशहरु प्रकाश ढुंगाना र सुष्मलता माथेमा तथा कानुन व्यवसायीहरु कुमार रेग्मी र हरि फुयालविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्नवान गरेकोमा शर्माविरुद्ध कुनै लिखित उजुरी नपरेको समिति सचिवालय स्रोतले जनाएको छ।

सर्वोच्चको न्यायाधीशमा सिफारिस शर्माको न्यायालय यात्रा २०७१ सालमा सुरु भएको थियो। पूर्वप्रधानन्यायाधीश दामोदर शर्माले प्रधानन्यायाधीश हुँदा शर्मालाई  तत्कालीन पुनरावेदनको अतिरिक्त न्यायाधीश बनाएका थिए। २०७२ सालमा बनेको नयाँ संविधानले अतिरिक्त न्यायाधीशको पद खारेज गरेसँगै उनी पदमुक्त भएका थिए। त्यसपछि वकालत पेसामा संलग्न उनी एकाएक न्यायाधीश सिफारिस भएका हुन्। तर शर्माको क्षमता सर्वोच्चको न्यायाधीश बन्न योग्य नभएको भन्दै उनको सिफारिसलाई लिएर आलोचना भएको थियो। तर, शर्माविरुद्ध कुनै उजुरी भने परेन। प्रस्तावित न्यायाधीशद्वय प्रकाश ढुंगाना र हरि फुयालविरूद्ध क्रमश दुइ वटा र एउटा उजुरी परेको छ। वरिष्ठता क्रम मिच्दै राजनीतिक भागबन्डाका आधारमा न्याय परिषद्ले गरेका प्रस्तावित न्यायाधीशको नाम सुनुवाइ समितिले कर्मकाण्डी पारामा स्वीकृत गर्छ या रोक्छ त्यो भने हेर्न बाँकी छ। थप जानकारीका लागि हेर्नुहोस भिडियो रिपोर्ट :

प्रकाशित: ३ वैशाख २०७६ १३:३७ मंगलबार

सर्वोच्च_अदालत न्यायाधीश_सिफारिस प्रधानन्यायाधीश संसदीय_सुनुवाइ_समिति