भिडियो

‘रवीन्द्र मिश्रलाई पार्टी गलत बाटोमा छ, सच्चिनुपर्छ भन्दा नमानेपछि अलग भयौं’ (भिडियाे)

काठमाडौं– प्रस्तावित विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापाले संस्कारको राजनीति र वैकल्पिक शक्ति निर्माणका लागि विवेकशील साझा पार्टीबाट अलग भएको बताएका छन्। 

बुधवार साँझ नागरिक फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै नेता थापाले विवेकशील साझा पार्टीमा निषेधको राजनीति हावी भएकाले आफूहरु अलग हुन बाध्य भएको टिप्पणी गरे। ‘केन्द्रीय समिति बोलाएर आफ्नो बहुमत पुगाउन पकेटबाट सदस्य थप्ने प्रयास गरियो’, उनले भने, ‘उहाँहरुको गणीतीय खेलबाट पार्टी फुटाइएको हो।’ 

प्रदेश संयोजक थप्दा सदस्यलाई नै थाहा नहुने, संयोजन समितिमा छलफलबाट आएका नामलाई निषेध गरेर आफूनिकट राख्ने, हरेक दिन खर्च विवरण सार्वजनिक गर्ने भनिए पनि अहिले ३/३ महिना हुँदा पनि नगरिएको र नेतृत्व पारदर्शी नभएको गुनासो गर्दै थापाले चाँहदा चाहँदै पनि एकीकृत पार्टीमा काम गर्न नसकिएको सुनाए।

‘हामीले बुझेको राजनीतिक अभ्यासलाई अराजनीतिक, कच्चापन, वैकल्पिक भएन भन्नुभयो। एकतापछि एक वर्ष हे-यौं। नेतृत्व विकास भएन, बुद्धिजिवी वर्गले पनि छोड्न थाले’, उनले भने, ‘एकतामा हामीसँग भएको सम्झौता अनुसार पार्टी अघि बढ्न नसक्दा र प्रतिबद्धता पुरा नहुने भएपछि हामी बाहिरियौं।’

आफूहरुले संयोजक रवीन्द्र मिश्रलाई पार्टी गलत बाटोमा रहेको र नेतृत्व सच्चिनुपर्ने सुझाव दिँदा वेवास्था गरेर सहि बाटोमै रहेको जिकिर गरेको उनको आरोप छ। ‘यो दललाई सुधार गर्नुपर्छ, राम्रो बनाउनुपर्छ, अनि वैकल्पिक हुन्छ भनेर मैले रवीन्द्र मिश्रसँग कुरा गरे। हामी गलत बाटोमा छौं भने। तर उहाँले सहि बाटोमै छौं भन्नुभयो। निषेधको राजनीति गर्नुभयो’, उनले भने।

वैकल्पिक शक्तिमा व्यापक जनसहभागिताका लागि विभाग बनाएको तर नेतृत्वले सीमित मान्छे राख्दा अहिलेको अवस्था आएको उनको तर्क छ। उनले सदस्यहरु जबसम्म आत्मनिर्भरको बाटोमा जाँदैनन तबसम्म व्यवहारिक रुपमा वैकल्पिक नहुने बताए। ‘वैकल्पिक शक्ति भनेको संस्कार हो। हामी सीमित भयौ, नेतृत्व सीमित भयो भने त्यो परम्परागत हुन्छ’, उनले अथ्र्याए, ‘युवालाई सहभागी र अग्रजलाई सम्मान गर्दै युवाको नेतृत्व बनाउने उद्देश्य बोकेर विवेकशील नेपाली दल दर्ताको प्रक्रिया अघि बढाएका छौं। बोली होइन व्यवहारले जुट्ने माहोल बनाउँछौं।’

उनले नेपालीहरु तर्कमा जवाफ खोज्ने गरेको भन्दै राजनीतिमा व्यवहार र निरन्तरताको अहम भूमिका हुने बताए। ‘हामी संस्कार परिवर्तन गर्न आएका हौं। अरुलाई हराएर चुनाव जित्न मात्र आएको होइन’, थापाले प्रष्ट पारे। 

अब वास्तविक चुनौती बढेको र व्यवहारमा काम गरेर देखाउने दृढता व्यक्त गर्दै उनले वैकल्पिक शक्ति चाहनेहरुलाई हरेश नखान आग्रह गरे। 

प्रकाशित: २ माघ २०७५ १६:१६ बुधबार

नागरिक_फ्रन्टलाइन उज्वल_थापा विवेकशील_साझा_पार्टी