भिडियो

भूकम्प पछिको लाङटाङ (भिडियो)

लाङटाङ- भूकम्पले क्षति पुर्‍याएको पदमार्ग, निजी आवास र ऐतिहासिक सम्पदा पुनर्निर्माण भएसँगै लाङटाङमा पर्यटकको संख्या बढेको छ।

भूकम्प गएको वर्ष पर्यटकको आगमन नभएको पर्यटकीय क्षेत्र लाङटाङमा दुई वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटक आइरहेका छन्। यो सिजनमा दैनिक डेड सयको हाराहारीमा पर्यटक यहाँ पुगेका छन्।

धुन्चेदेखि करिब दुई दिन हिँडेपछि क्यान्जिन पुगिन्छ। सदरमुकाम धुन्चेबाट १४ किलोमिटर सडक यात्रा पश्चात स्याफ्रु पुगिन्छ। त्यहाँबाट दोमेन, पहिरो, बम्बु, रिमिचे हुँदै लामा होटल बास बस्नका लागि पर्यटक पुग्छन्।

भोलिपल्ट बिहानै खाजा खाएर रिभर साइड, उडल्याण्ड, घोडा तबेला हुँदै लाङटाङ पुगिन्छ। केही पर्यटक त्यहाँ बस्छन् भने केही मुण्डुमा पुग्छन्। भोलिपल्ट मुण्डुबाट क्यन्जिन पुगेका पर्यटक त्यहाँ वरपर रहेका पिक चड्न पुग्ने गरेका छन्।

लाङटाङ जाने पर्यटक चेर्गो री, क्यान्जिन री, लाङसिसा, लाङटाङ ग्लासियर र याला पिक चड्ने गर्छन। ५ हजार मिटर अग्लो चेर्गो रीबाट १२ वटा हिमाल देखिने भएकाले क्यान्जिन पुगेका ८५ प्रतिशत पर्यटक त्यहाँ जाने गरेका छन्।

न्युनतम दुई जनादेखि १५ जनासम्मको समूह लाङटाङ पुग्ने गरेका स्थानीय बताउँछन्। भूकम्पले बगरमा परिणत भएको लाङटाङमा अहिले एक दर्जन होटल सञ्चालनमा आएका छन्। भूकम्पपछि निर्माण भएको हरेक घरमा होटल सञ्चालन गरिएको छ।

लाङटाङ गाउँ नजिकै हिमपहिरोले क्षति गरेको स्थान देख्न सकिन्छ। हिमपहिरोमा परेर त्यहाँ तीन सय भन्दा बढी स्वदेशी तथा विदेशीले ज्यान गुमाएका थिए। लाङटाङ गाउँको पुछारमा पहिरोमा ज्यान गुमाएकाको सम्झनामा स्मारक निर्माण गरिएको छ।

लाङटाङबाट करिव तीन घण्टा हिँडेपछि क्यान्जिन उपत्यका पुग्न सकिन्छ। त्यहाँ करिव तीन सय ५० वर्ष पुरानो क्यान्जिन गुम्बा रहेको छ। त्यहाँबाट लाङटाङ लिरुङ हिमाल, झाङबु, किम्सुङ, छेर्पा छे, गाङछोम्बा लगायतका हिमाल देख्न सकिन्छ।

भूकम्पपछिका दिनमा लाङटाङमा पर्यटकको आगमन बढेको होटल व्यवसायी दिण्डुप लामाले बताए। १५ वर्ष अघिसम्म लाङटाङ आउने पर्यटकले आफैँले खाना खाजा बोकेर आउने गरेका उनको भनाइ छ।

गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्ने लाङटाङ तथा क्यान्जिनमा तिब्बतीयन संस्कृति छ। लाङटाङ तथा क्यान्जिनबासीले ग्याल्बो ल्होसार मान्छन्। धर्म संस्कृति अनुसार खाना तथा बासको व्यवस्था गरेका छन्।

प्रकाशित: २७ कार्तिक २०७५ ०९:०५ मंगलबार

भूकम्प लाङटाङ