प्रविधि

'मन्त्रालयको ९० प्रतिशत काम विद्युतीय प्रणालीमार्फत् सम्पन्न गर्नुपर्छ'

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकण्ठ अर्यालले आफ्नो मन्त्रालयको नब्बे प्रतिशत काम विद्युतीय प्रणालीमार्फत् सम्पन्न गर्ने बताएका छन्। सचिव अर्यालले आफ्नो मन्त्रालय र त्यस अन्तरगतका निकायहरुको कामलाई विद्युतीय प्रणालीमार्फत् नै सम्पन्न हुनेगरी मन्त्रालयले कार्यालय व्यवस्थापन प्रणाली तयार गरिसकेको पनि बताए।

प्रविधि पत्रकार मञ्चले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो प्रणाली अन्य मन्त्रालयहरुमा पनि तत्काल विस्तार गर्दै लैजाने योजना सार्वजनिक गरे। उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सो प्रणाली जडान गर्ने काम सुरु गरिएको र त्यसलाई अन्य मन्त्रालय र निकायहरुमा विस्तार गर्न आवश्यक तालिमको प्रारुप पनि तय गरिएको बताए।

सचिव अर्यालले सूचना र प्रविधिमा सबै नागरिकको पहुँच विकास गर्न सरकारले पूर्वाधार विकासमा जोड दिएको पनि दोहोर्‍याए। सचिव अर्यालले सूचना, प्रविधि क्षेत्रको विकासका लागि निजी क्षेत्रको सहकार्य अति जरुरी रहेको समेत दोहार्‍याए। उनले सरकारले जनताको सेवा प्रवाहको कामलाई सहज बनाउन नै सूचना प्रविधिको विकासमा ध्यान केन्द्रित गरेको स्पष्ट पारे।

प्रकाशित: १९ वैशाख २०७९ ११:३३ सोमबार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय डा. बैकण्ठ अर्याल