प्रविधि

‘प्रविधिले जलवायु परिवर्तन सम्बोधनमा सहयोग गर्नुपर्छ’

तस्बिर : सिसिओ पब्लिक डोमेन

सन् २०२१ जलवायु परिवर्तनलाई सम्बोधन गर्ने सन्दर्भमा सबैभन्दा महत्वपूर्ण वर्ष हुनेछ। दशकौंदेखि निरन्तर प्रयासको थप कडीका रूपमा सन् २०२१ जलवायु परिवर्तनलाई सम्बोधन गर्न सबैभन्दा महत्वपूर्ण वर्ष हुनेछ। पछिल्ला विकासले यो सम्भव छ भन्ने देखाएका छन्।

पहिलो, विज्ञानले हामीलाई कार्बन उत्सर्जन सशक्त हिसाबले रोक्न मात्र एक दशक समय उपलब्ध गराएको र यो अवधिमा अपेक्षित प्रयास नगरे त्यसले जलवायु परिवर्तनका खराब नतिजा दिने बताएको छ। केही प्रभाव हाम्र्रै घरआँगनमा देखिइसकेका छन्। अस्ट्रेलिया र क्यालिफोर्नियाको डरलाग्दो जंगली आगो, विश्वभर बाढीले गरेको वितण्डाजस्ता उदाहरणले जलवायु परिवर्तनले हाम्रो दैनिक जीवनलाई खलबल पारिसकेको देखिन्छ। तर यही अवधिमा जलवायु परिवर्तन रोक्ने गतिविधिको समर्थनमा पछिल्लो युवा पिँढी (जेनेरेसन जेड) देखि राजनीतिक नेतृत्वसमेत लागेको देखिन्छ। युरोपले आफूलाई पहिलो कार्बन न्युट्रल महादेश बनाउन महत्वाकांक्षा राखेको छ भने समग्रमा विश्व समाज जलवायु परिवर्तनका खतरासँग जुध्न एक देखिन्छ।

दोस्रो, हामीले यो दिशामा आशा गर्न लायक प्रविधिको विकास भएको देखेका छौं। सँगसँगै नीतिगत सुधार पनि भएका छन्, जसका कारण कार्बनबेगरको ऊर्जा पहुँचको सँघारमा हामी पुगेका छौं। केही समयअगाडिसम्म कार्बनबिनाका बिजुलीको निरन्तर आपूर्ति परिकल्पनासमेत गर्न सकिन्नथ्यो। आधारभूत हिसाबले हावा सधैं चल्दैन र सूर्यको प्रकाश रातमा रहँदैन। तर ऊर्जा भण्डारण गर्ने नयाँ प्रविधिको विकास र सौर्य तथा हावाको शक्तिबाट बिजुली निकाल्दा लाग्ने खर्चमा विगत दशकमा आएको ७० देखि ८९ प्रतिशत भएको कटौतीका कारण कार्बन उत्सर्जनबिना ऊर्जा उत्पादन वास्तविकताको नजिक हुन आएको छ।

प्रविधिगत अर्काे अवसर कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टलिजेन्स ‘एआई’) पनि हो। गुगल डाटा सेन्टरमा हुने विद्युत् खपतमा कमी ल्याउन हामीले एआई प्रयोग गरेका छौं। भगिनी संस्था ‘डिप माइन्ड’ सँगको सहकार्यमा डाटा सेन्टरमा आवश्यक ऊर्जा खपतलाई ३० प्रतिशत घटाएका छौं। यस्तो व्यवस्था व्यावसायिक भवन, एयरपोर्ट तथा सपिङ मलमा पनि गर्न सकिन्छ। यसैगरी एआईको प्रयोगले हावाको प्रवाहको प्रक्षेपण गर्न सकिन्छ र हावाबाट निस्कने नवीकरणीय ऊर्जा उत्पादन सहज बन्न सक्छ।

यसैगरी स्याटेलाइटमा जडित सेन्सरले सबैभन्दा बढी कार्बन उत्सर्जन कहाँ भएको छ भनेर अत्यन्त सूक्ष्म तहसम्म पत्ता लगाउन सकिन्छ। यसले जलवायुसम्बन्धी पेरिस सम्झौता कार्यान्वयन प्रभावकारितामा सुधार ल्याउनेछ। यसैगरी विश्वका सहरहरूले निकाल्ने कार्बन घटाउन पनि प्रविधि सहयोगी बनेको छ। जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्न विश्वका १० हजार सहर तथा स्थानीय सरकारहरूको सञ्जाल ‘ग्लोबल कोभेनेन्ट अफ मेयर’ का अनुसार पश्चिम युरोपबाहेक अन्य सहरसँग जलवायु परिवर्तन रोक्ने दिशामा गरेका प्रतिबद्धता कार्यान्वयन गर्न न त समय छ न त आवश्यक तथ्यांक तथा स्रोतसाधन। हामीले विकास गरेको ‘इन्भारोमेन्ट इन्साइट्स एक्सप्लोरर’ नामक प्लेटफर्मले सहरका भवन, यातायातले निकाल्ने कार्बन उत्सर्जनको तथ्यांक दिन सक्छन्। यसले ती सहरलाई सौर्य ऊर्जाको सम्भावना पहिल्याउन पनि सहयोग गर्छ। विश्वका सहरले विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा हाल ७० प्रतिशत हिस्सा लिएको सन्दर्भमा यो प्रविधिगत सहयोगले यसलाई घटाउन सहयोग गर्नेछ।

यस्तै प्रविधिले समुदायलाई जलवायु परिवर्तनका असरलाई अनुकूलन गर्न पनि सहयोग गरेको छ। उदाहरणका लागि, सही समयमा जंगली आगोको फैलावट कसरी हुन सक्ला भनेर आँकलन गर्न स्याटेलाइट नक्सांकनले सहयोग गर्छ। भारतमा एआईको प्रयोगले सम्भावित बाढीको भविष्यवाणी गर्न थालिएको छ। बाढी कति शक्तिशाली हुन्छ भन्ने जानकारीले सयौंको संख्यामा जीवनको रक्षा गर्न सकिन्छ। यस्तै ‘मेसिन लर्निङ’ ले गर्ने वर्षात् भविष्यवाणी पहिलेका परपम्परागत तरिकाभन्दा बढी प्रभावकारी बनेका छन्।

यसरी विकसित प्रविधि र तौरतरिकाले कम्पनीहरूले अत्यन्त छोटो समयमा दिगोपनका आफ्ना प्रतिबद्धतालाई कार्यान्वयन ल्याउन सक्ने भएका छन्। गुगलका सन्दर्भमा सन् २०३० सम्ममा डाटा सेन्टर र क्याम्पसहरूमा चौबिसै घन्टा शून्य कार्बन उत्सर्जन गर्ने हिसाबले काम भइरहेको छ। हाम्रो उद्देश्य शतप्रतिशत कार्बनशून्य इलेक्ट्रिक ग्रिडको स्थापना सम्भव मात्र होइन, आर्थिक रूपमा व्यावहारिक छ भनेर प्रमाणित गर्नु पनि हो। हामी आशा गर्छौैं, अन्य कम्पनीहरूले पनि यो प्रयासलाई अवलम्बन गर्नेछन्।

कम्पनीहरूका प्रतिबद्धताबाहेक, विश्वले कार्बन शून्य उत्सर्जनका लागि उचित नीति र ग्लोबल फ्रेमवर्कको निर्माण गर्न आवश्यक छ। यो सम्भव पनि छ। कोरोना महामारीको समयमा व्यक्तिगत सुरक्षा सामग्री (पिपिई), मेडिकल औजार तथा कन्ट्याक्ट ट्रेसिङ एप बनाउन निजी क्षेत्र र सरकारको सहकार्य प्रशंसनीय छ। यसै हिसाबले यी दुई क्षेत्रको सहकार्य जलवायु परिवर्तनलाई सम्बोधन गर्न पनि महत्वपूर्ण रहन्छ। हामीले इतिहासमा देखेका कुरा के हो भने हरेक पुस्ताले चुनौतीको सामना गरेका छन्। हाम्रो पिँढीका लागि जलवायु परिवर्तन सबैभन्दा ठूलो चुनौती हो। सन् २०२१ मा विश्वले यो चुनौतीको सामना गर्न ठोस प्रयास गर्ने अपेक्षा गरिएको छ।

(लेखक गुगलका प्रमुख कार्यकारी अधिकृत हुन् र उनको यो आलेख इकोनोमिस्टको पछिल्लो अंकमा प्रकाशित भएको हो)

प्रकाशित: ४ पुस २०७७ ०५:२२ शनिबार

प्रविधि जलवायु परिवर्तन