प्रविधि

चिनियाँ सञ्जालमा नेपाल प्रवर्द्धन

चेतनाथ आचार्य
बेइजिङ - चीनमा फेसबुक, ट्विटर, युट्युब र गुगलमाथि प्रतिबन्ध लगाइएको छ। यिनको समकक्षमा चीनले आफ्नै मौलिक सामाजिक सञ्जाल प्रयोगमा ल्याएको छ। फेसबुकको सट्टा विच्याट, ट्विटरको सट्टा विइपो, युट्युबको सट्टा यौखु र गुगल सर्च इन्जिनको सट्टा पाइतु प्रयोगमा ल्याइएको छ। यी सामाजिक सञ्जालमध्ये चीनमा सबैभन्दा धेरै लोकप्रिय विच्याट हो। स्मार्टफोन बोक्ने सबै चिनियाँले विच्याट चलाउँछन्। चीनमा बस्ने विदेशीले पनि विच्याट चलाउँछन्। केही दिन चीनमा घुम्न आउने पर्यटकले पनि विच्याट नै चलाउनुपर्ने बाध्यता छ।

विच्याट व्यक्तिबीच हुने सञ्चार माध्यममा मात्र सीमित नभएर रेष्टुरेन्टको बिल तिर्न, ट्याक्सीको भाडा तिर्न, किनमेल गर्न, हवाईजहाजको टिकट किन्न, रेलको टिकट किन्नदेखि होटल बुकिङ गर्न पनि प्रयोग हुँदै आएको छ। त्यतिमात्र हैन पठनपाठन हुने दूर शिक्षादेखि व्यवसाय प्रवद्र्धन गर्न विज्ञापनको राम्रो मञ्चका रुपमा पनि विच्याट स्थापित हुन थालेको छ। चीनका लागि नेपाली राजदूत लिलामणि पौड्याल हरेक दिन विच्याटमार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्छन्। उनको विच्याट प्रोफाइलमा चिनियाँ भाषामा अनुवाद गरिएका नेपालका पर्यटकीय स्थल, सांस्कृतिक पर्व, पहिचानलगायत सामग्री भेटिन्छन्। चिनियाँलाई नेपालबारे चासो रहेका सामग्री उनले दैनिक रुपमा विच्याटमा राख्ने गर्छन्। उनले राखेका सामग्रीलाई अन्य चिनियाँले सेयर गर्छन्।

चीनका लागि नेपाली राजदूत लिलामणि पौड्याल हरेक दिन विच्याटमार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्छन्। उनको विच्याट प्रोफाइलमा चिनियाँ भाषामा अनुवाद गरिएका नेपालका पर्यटकीय स्थल, सांस्कृतिक पर्व, पहिचानलगायत सामग्री भेटिन्छन्।

नागरिकसँगको कुराकानीमा राजदूत पौड्यालले तीनटा स्रोतबाट चिनियाँ भाषामा नेपालसम्बन्धी सामग्रीलाई आफूले विच्याटमा राख्ने गरेको बताए। दूतावासकै चिनियाँ कर्मचारीलाई नेपालसम्बन्धी महŒवपूर्ण सामग्रीलाई चिनियाँ भाषामा अनुवाद गराएर विच्याट र दूतावासको वेबसाइटमा राख्ने गरिएको छ। त्यसैगरी नेपाल भ्रमण गरेर फर्किएका चिनियाँ पत्रकार तथा अन्य सर्वसाधारणले तयार पारेका सामग्रीलाई पनि राजदूत पौड्यालले विच्याटमा राख्ने गरेका छन्। त्यस्ता सामग्रीमा फोटो र भिडियोसहित नेपालका पर्यटकीय स्थलको परिचय र चिनियाँ पर्यटक त्यहाँ कसरी पुग्ने भन्ने जानकारी उल्लेख हुन्छ। त्यसैगरी नेपालका विभिन्न सांस्कृतिक झाँकी तथा उत्सवलगायत रमाइला जानकारी पनि चिनियाँ भाषामा तयार गरेर राखिएको छ। तेस्रो स्रोतमा दूतावासले तेस्रो पक्षलाई नेपालसम्बन्धी सामग्री बनाउन लगाउने अथवा तेस्रो पक्षले दूतावासको सहमति र सल्लाहमा नेपालसम्बन्धी सामग्री उत्पादन गर्छ।

यस प्रकारका सामग्री नेपाल घुम्न चाहने र नेपालबारे जानकारी राख्न खोज्ने चिनियाँका लागि महत्वपूर्ण हुने राजदूत पौड्याल बताउँछन्। सञ्चारको विकाससँगै लम्बेतान कथा मान्छेले पढ्न र हेर्न छाडेका छन्। तीन मिनेटभन्दा कम समयका भिडियो, आकर्षक फोटा तथा थोरैमा धेरै बुझाउने गरी लिखिएका लेखले मान्छेको ध्यान छिट्टै तान्छ। कतिपय सामग्री त नेपालमा लगानी गर्न चाहने चिनियाँका लागि पनि महत्व राख्ने हुन्छन्। लगानी बोर्डका प्रमुख कार्यकारी सहभागी कार्यक्रमको विवरणलाई चिनियाँ भाषामा अनुवाद गरी विच्याटमा राख्दा थुप्रै चिनियाँले चासो राखेको राजदूत पौड्यालले बताए।

‘विच्याटलाई हामीले निःशुल्क विज्ञापनको प्लेटफर्म बनाएका छौं’, राजदूत पौड्यालले भने, चीनमा विच्याट लोकप्रिय छ र यसमा राखिएका नेपालसम्बन्धी सामग्रीलाई चिनियाँले निकै मन पराएका छन्।’ उनले चीनमा राजदूत भएर आएपछि ‘ट्र्याक टु डिप्लोमेसी’ लाई पनि महत्व दिएका छन्। कहिले उनी आफैं ‘फेसन सो’ मा सहभागी हुन्छन् भने कहिले दौड प्रतियोगिता र हाइकिङमा भाग लिन्छन्। त्यसैगरी चीनमा आयोजित अन्तर्राष्ट्रिय उत्सव तथा विभिन्न प्रयोगितामा नेपाली दूतावास सहभागी हुँदै आएको छ।

बेइजिङमा ६ वर्षदेखि पसल खोलेर नेपाली मूर्ति, थांका र गहना बेच्दै आएका सुवर्ण डंगोल नेपालबाट नयाँ सामग्री आउनासाथ विच्याटमा फोटो खिचेर राख्छन्। उनका ग्राहकमा चाँडै जानकारी पु-याउने माध्यम विच्याट बनेको छ। उनी भन्छन्, ‘मैले विच्याटमा नेपाली सामग्रीको फोटो राखेपछि ग्राहकले कस्तो सामान हो र कति दाम पर्छ भनेर सोध्छन्। मेरा लागि सामानको जानकारी दिने एकमात्र माध्यम विच्याट बनेको छ।’ डंगोलको विच्याट पोस्ट हेरेर पुराना ग्राहक सामान किन्न आउँछन्। तिनले सेयर गरिदिएपछि नयाँ ग्राहक पनि थपिन्छन्।

चीनको क्वाङचौ र सनचनमा ६ वटा नेपाली रेष्टुरेन्ट चलाउँदै आएका अर्घाखाँचीका प्रमोद घिमिरेले आफ्नो व्यवसायको प्रवद्र्धन विच्याटबाटै गर्छन्। उनको एकल स्वामित्वमा लिटलपापा नामक ६ वटा रेष्टुरेन्ट छन्। उनले तीनटा नामबाट विच्याट चलाउँछन्। घिमिरेसँग विच्याटमा जोडिएका र विभिन्न समूहमा भएका पाँचहजार विच्याट साथी छन्। तीनटा विच्याट आइडीबाट उनी दैनिक १५ हजार व्यक्तिमा आफ्नो रेष्टुरेन्ट र व्यवसायको प्रचारप्रसार गर्छन्। उनले दैनिक रेष्टुरेन्टको मेनु, विशेषता, छुट, लोकेसन आदि विच्याटमा राख्छन्। नागरिकसँग घिमिरेले भने, ‘मेरो विच्याट सञ्जालमा भएका १५ हजार व्यक्तिमध्ये दस प्रतिशत मात्र आउने हो भने पनि १५ सयजना आउँछन्। त्यति आए रेष्टुरेन्ट मज्जाले चल्छ।’

गोर्खाका तिलोचन देवकोटा नेपालबाट झोलामा मूर्ति, थांका, रुद्राक्षका माला तथा बुद्धचित्त लिएर चीन आउँछन्। चीन आएपछि उनले आफूले ल्याएका सामानको फोटो भटाभट विच्याटमा राख्छन्। आफ्ना पुराना ग्राहकलाई विच्याटबाटै सामानको फोटो पठाउँछन् र सामान बेचेर नेपाल फर्कन्छन्। चिनियाँको दैनिक जीवनको अभिन्न अंग बनेको विच्याटलाई नेपाली कूटनीतिज्ञदेखि व्यवसायीसम्मले राम्रो विज्ञापनको मञ्च बनाएका छन्।

प्रकाशित: ८ चैत्र २०७५ ०१:१५ शुक्रबार

समाजिक_सञ्जाल प्रवर्द्धन