प्रविधि

क्यान इन्फोटेक प्रदर्शनी... गाउँगाउँमा औषधि बोक्ने ड्रोन देखि रोबोर्ट सम्म

भिडियो रिपोर्ट:  बिश्वास खनाल,

काठमाडौं – कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गर्ने ‘क्यान इन्फोटेक २०१९’ मेला भृकुटीमण्डपमा मंगलबार सुरु भएको छ। उक्त मेला सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उद्घाटन गरेका थिए। सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीको छाता संगठन क्यानले विगतको भन्दा यस वर्ष फरक ढंगले मेला आयोजना गरेको जनाएको छ।   

‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ नाम दिइएको मेला विगतको तुलनामा यसपटक फरक रहेको  क्यानका महासचिव रंजित पोद्दारले बताए। मेलामा मेडिकल ड्रोन देखि रोबोर्ट सम्म प्रदर्शनमा राखिएको छ। सुबिसु र इ–सेवाको प्रायोजनमा आयोजना गरिएको यस वर्षको मेलामा सहभागीमध्येका भाग्यशाली विजेताले इन्डोनेसियाको बाली र थाइल्यान्डको बैंकक घुम्न जाने अवसर पाउन सक्ने क्यानका अध्यक्ष हेमन्त चौरसियाको भनाइ थियो।

एक सय ७५ स्टल रहेको मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स लगायत स्टल रहेका छन्।

मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क सय रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ।  मेला २० गतेसम्म चल्नेछ। 

 

 

प्रकाशित: १७ माघ २०७५ १४:१० बिहीबार

क्यान_इन्फोटेक औषधि_बोक्ने_ड्रोन रोबोर्ट