प्रविधि

क्यान इन्फोटेक माघ १५ देखि २०सम्म

काठमाडौं – सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०१९ आयोजना गर्ने भएको छ । ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ नाम दिइएको मेला माघ १५ देखि २० गतेसम्म ६ दिन चल्नेछ ।

काठमाडौ ंबाहिर प्रदेश १ को विराटनगरमा पुस १९ देखि २३, प्रदेश २ को वीरगन्जमा पुस २७ देखि ३०, प्रदेश ३ को चितवनमा माघ २५ देखि २९, गण्डकी प्रदेशको पोखरामा फागुन २४ देखि २८, प्रदेश ५ को बुटवलमा फागुन ३ देखि ७ र कर्णाली प्रदेशको सुर्खेतमा फागुन २४ देखि २८ सम्म प्रादेशिक इन्फोटेक आयोजना गरिएको क्यानले जनाएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने सूचना प्रविधि मेलामा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने क्यानले जनाएको छ। मेलालाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । यसपटकको इन्फोटेकमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गर्ने प्रयास गरिएको क्यान महासचिव रञ्जितकुमार पोदारले जानकारी दिए। 

क्यान महासंघले मेलाको यो संस्करणलाई विशेष बनाउन नयाँ–नयाँ स्किमहरु ल्याइएको छ । मेलामा प्रत्येक तीन÷तीन घण्टामा चिठ्ठामार्फत अवलोकनकर्तालाई गिफ्ट ह्याम्पर र एक जनालाई प्रत्येक दिन बम्पर पुरस्कार प्रदान गरिने क्यानको भनाई छ । 

 सूचना प्रविधिको क्षेत्रमा करियर बनाउन प्राविधिक विषय अध्ययनरत विद्यार्थीले मेलास्थलमै बायोडाटा बुझाउन सक्नेछन् । क्यान महासंघले ती बायोडाटालाई आईटी कम्पनीहरुमा पठाइदिनेछ र रोजगारीका लागि आवश्यक सहजीकरण गरिदिने क्यानको दावी छ ।

प्रकाशित: २५ पुस २०७५ ११:१४ बुधबार

कम्प्युटर_एसोसिएसन_नेपाल_(क्यान) क्यान_इन्फोटेक_२०१९