प्रविधि

अब नेपालले स्याटलाइट तस्बिर किन्न नपर्ने, चीनले सित्तैमा दिने

काठमाडौं– उत्तरी छिमेकी चीनले नेपाललाई निःशुल्क स्याटलाइट तस्बिर उपलब्ध गराउने भएको छ। 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपाललाई आवश्यक पर्ने त्यस्ता तस्विर सित्तैमा उपलब्ध हुने गरी चीन सरकारसँग सम्झौता भएको जानकारी दिइन। ‘विगतमा भूउपग्रहबाट खिचिएका तस्विर किनेर प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ’, उनले भनिन्, ‘उत्तरी छिमेकी चीनसँग ५ वर्षका लागि सम्झौता गरेका छौं।’

मन्त्री अर्यालका अनुसार अनुसार चीनमा आयोजित राष्ट्रसंघीय विश्व भौगोलिक सूचना व्यवस्थापन सम्मेलनका क्रममा नेपाल र चीनबीच स्याटलाइट तस्बिर निःशुल्क उपलब्ध गराउनेबारे सम्झौता भएको हो। सम्झौतापत्रमा नेपालका तर्फबाट सहसचिव जनकराज जोशीले हस्ताक्षर गरेका थिए।

‘उक्त सम्झौताका कारण अब स्याटलाइट इमेज किन्नुपर्ने अवस्थाको अन्त्य भएको छ। तस्विरका लागि अब पैसा तिर्नुपर्दैन’, मन्त्री अर्यालले भनिन्, ‘नापी विभागमार्फत सबै निकायले तस्विर पाउँछन्।’

सम्झौताअनुसार स्याटलाइटबाट खिचिएको नेपालको सम्पूर्ण भूभागको तस्बिर चीनले आगामी पाँच वर्षसम्म निःशुल्क रुपमा उपलब्ध गराउनेछ।

प्रकाशित: २१ मंसिर २०७५ १०:१२ शुक्रबार

स्याटलाइट_तस्बिर नेपाल चीन