प्रविधि

यस्तो पनि : लम्बिँदै अन्तरीक्ष यात्रा

अन्तरीक्षमा यतिबेला नासाका वैज्ञानिकहरू सुनिता विलियम्स र ब्यारी मिल्मोर अड्किएको सात महिना बितिसकेको छ। जम्माजम्मी आठ दिनका लागि भनेर उनीहरू अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र पुगेका थिए। तर उनीहरूलाई लिएर फर्कनु पर्ने बोइङ कम्पनीको स्टार लाइनरको अक्षमताका कारण उनीहरू अन्तरीक्षमा नै अड्किन पुगेका छन्। 

उनीहरूलाई अब फेब्रुअरीमा ल्याइने तयारी भइरहेकामा अझै एक महिना पछाडि धकेलिएको छ। बोइङको रकेटबाट उनीहरूलाई फिर्ता ल्याउन नसकिएपछि इलन मस्कको कम्पनी स्पेस एक्समार्फत ल्याउने प्रयास भइरहेको छ। उनीहरूलाई लिन भनेर बोइङको रकेट अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रमा पुगे पनि उनीहरूलाई ल्याउन अक्षम भएको थियो। 

खासमा इन्जिनमा केही समस्या देखिएपछि वैज्ञानिकहरूलाई नलिई फर्किएको थियो। त्यसो त बोइङले उनीहरूलाई फिर्ता ल्याउन सक्ने भए पनि नासाले उसलाई अर्को मौका नदिई स्पेस एक्सलाई मौका दिएको आरोप लगाइरहेको छ। हुन पनि तुरुन्तै बोइङ जान तयार भए पनि उसलाई त्यसको अनुमति नदिई स्पेस एक्सलाई अवसर दिएको छ।

यसले बोइङको अन्तरीक्ष यात्राको स्टारलाइनर जेटको भविष्य अन्धकार हुन पुगेको छ। बोइङले यसअघि चन्द्रमामा वैज्ञानिकहरूलाई पठाउन भूमिका खेलेको थियो। यही नाताले आधा शतकभन्दा बढी समयदेखि बोइङले अन्तरीक्ष उडानमा नासालाई सघाएर निकै ठूलो व्यापार पाइरहेको थियो। यतिबेला उसले अन्तरीक्ष उडानसम्बन्धी सम्पूर्ण व्यवसाय बिक्री गर्ने तयारी थालेको छ।

अब स्पेस एक्स अन्तरीक्षमा गएर सुनिता विलियम्स र ब्यारी मिल्मोरसँगै अन्य दुई यात्रीहरू निक हेग र रूसी अन्तरीक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभलाई पनि फिर्ता ल्याउने छ। उनीहरूलाई अन्तरीक्षबाट फिर्ता ल्याउन ढिलाई भइरहे पनि उनीहरूले शारीरिक कसरतदेखि अन्य सामान्य कामहरू गरेर समय बिताइरहेका छन्।

त्यसो त अन्तरीक्ष यात्रीहरूले वर्षमा धेरै पटक अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रमा जाने गर्छन्। उनीहरूको यात्रा बढीमा ६ महिना हुने गरेको छ। त्यसैले उनीहरूको ढिलाई तुलनात्मक रूपमा ढिला भए पनि सुनिता र ब्यारीले खासै गुनासो गरेका छैनन्। उनीहरूको दैनिक घरमा कुराकानीसमेत हुने गर्छ। त्यसो त नासाले अकासीय स्टेसनमा पर्याप्त अक्सिजन र खाना आपूर्ति गर्ने गर्छ।
प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: १० पुस २०८१ १०:२३ बुधबार

#NASA #sunita williams #SPACE