प्रविधि

ट्विटरको नयाँ रूप

गत साता ट्विटरको नयाँ ‘लुक’ सार्वजनिक भएको छ। यो ‘लुक’लाई धेरै ट्विटर प्रयोगकर्ताले मन भने पराएका छैनन्।

ट्विटरले यो नयाँ डिजाइन सरल, चाँडो र प्रयोग गर्न सजिलो भएको जनाएको छ। ‘बोल्ड हेडलाइन’ र नयाँ ‘आइकन’ले यसलाई अझ राम्रो बनाएको ट्विटरको दाबी छ। ट्विटरले प्रयोगकर्ताको ‘प्रोफाइल पिक्चर’लाई वर्गाकारबाट गोलाकार बनाएको छ।

कम्पनीले यसको नयाँ ‘इन्टरफेस डिजाइन’ ट्विटर डट कम, ट्विटर फर आइओएस, ट्विटर फर एन्डोइड, ट्विटडेक र ट्विटर लाइटमा आगामी दिनमा कार्यान्वयन गर्ने जनाएको छ।

ट्विटर प्रयोगकर्ताले गत बिहीबार ट्विटरले गरेको परिवर्तनबारे जोक र ‘मेमे’ बनाएर ट्विट गरेका थिए। परिवर्तन भएको एक घण्टामै नयाँ युजर ‘इन्टरफेस’ अर्थात् ‘युआई’बारे ३० हजारभन्दा धेरै ट्विट गरिए। धेरैले भने नयाँ ‘लुक’बारे गुनासो गर्दै मजाक उडाएका थिए ।

ट्विटरले गत वर्ष प्रयोगकर्ताले देख्ने ट्विटको ‘अल्गोरिदम’ परिवर्तन गर्दा पनि प्रयोगकर्ताले दिएको प्रतिक्रियालाई ध्यान दिएको थियो । कम्पनीले ‘मोमेन्ट्स फिचर’ सुरु गर्दा पनि प्रयोगकर्ताले ट्विटमार्फत् असन्तुष्टि र निराशा व्यक्त गरेका थिए । यसले ‘फेबरेट’ जनाउने ताराको चिन्ह हटाएर फेसबुकको जस्तै ‘हार्ट’ आकारको ‘लाइक बटन’ सुरु गर्दा पनि यस्तै प्रतिक्रिया दिएका थिए ।

ट्विटरको नयाँ डिजाइनमा यसको ‘डाइरेक्ट म्यासेज’ पठाउन सक्ने सुविधालाई पुनर्ताजगी गराइएको छ। यो नयाँ डिजाइनको ‘म्यासेजिङ’ इन्स्टाग्राम, फेसबुक र स्न्यापच्याटको ‘म्यासेजिङ’ जस्तै छ।

प्रकाशित: ५ असार २०७४ ०४:२४ सोमबार