प्रविधि

नेपालमा ई–सिम प्रयोगकर्ताको सङ्ख्या २९ हजार पुग्यो

नेपालमा ई–सिम (इम्बेडेड सवस्क्राइबर आइडेन्टिटी मोड्युल) प्रयोगकर्ताको सङ्ख्या २९ हजार नाघेको छ। नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले गत भदौ ३१ देखि हालसम्म २९ हजारभन्दा बढी वितरण भइसकेको जानकारी दिए।

नेपाल टेलिकमले सुरुमा सुन्धारा काउन्टरबाट ई-सिम वितरण गरेको थियो। साथै गत असोज ४ देखि भने नक्साल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोङ्गबु, छाउनी र पुलचोक ग्राहक सेवा केन्द्रबाट वितरण सुरु गरेको थियो भने मङ्सिर ८ देखि भने देशभर ई–सिम उपलब्ध गराइएको हो।

'नेपाल टेलिकमका पुराना ग्राहकले ई-सिम लिन चाहेमा निःशुल्क प्राप्त गर्न सक्छन्। पोस्टपेडको नयाँ ई-सिम लिन चाहनेले अहिले बिक्री भइरहेकै मूल्यमा लिन सक्छन्', प्रवक्ता अधिकारीले भने, 'ई-सिममा ग्राहकले आफ्नो उपकरणअनुसार बढीमा २० वटासम्म नेटवर्कमा जोड्न सक्छन्।' तर एकपटक भने एउटा नेटवर्कमा मात्रै जोड्न सकिने उनको भनाइ छ।

प्रकाशित: २५ फाल्गुन २०७९ १०:४३ बिहीबार