प्रविधि

नक्कली तस्विरका लागि माफी

चीन–चाइनिज स्मार्ट फोन कम्पनी हुवाईले बजारमा आउन लागेको आफ्नो नयाँ स्मार्ट फोनको प्रचारका लागि अनलाइनमा पोस्ट गरिएको तस्बिर भ्रमक भएको भन्दै माफी मागेको छ।  हुवाईले गुगल प्लसमा आफ्नो नयाँ स्मार्ट फोनले लिएको तस्बिर भन्दै राखेको तस्बिर प्रोफेशनल क्यामेराले खिचिएको पाइएपछि माफी मागेको हो।

उसले सोसल मिडियामा पोस्ट गरेको तस्बिरमा क्याप्सन दिँदै ‘हामीले सुन्दर सूर्योदयमा इलाको तस्बिर लियौं, तपाईं हाम्रो नयाँ स्मार्ट फोनको प्रयोग गरी कम प्रकाशमा पनि यस्तो सुन्दर तस्विर लिन सक्नुहुनेछ’, लेखिएको थियो । तर तस्बिरमा देखाइएको मेटाडाटामा भने उक्त तस्बिर क्यानोन क्यामेराले खिचेको देखिन्छ । उक्त जानकारी स्मार्टफोनको समाचार साइट एन्ड्रोइड पुलिसले पत्ता लगाएको हो ।

हुवाईले एक विज्ञप्ति जारी गर्दै आफूहरुको भ्रमक तस्बिर राख्ने कुनै योजना नभएको बताएको छ। उसले आफूहरुले उक्त तस्बिर हटाई सकेको जनाएको छ। सन् २०१२ मा नोकियाले पनि आफ्नो मोवाइलबाट लिइएको भन्दै प्रचार गरिएको तस्बिर अन्य प्रोफेशनल क्यामेराबाट लिइएको पाइएपछि माफी मागेको थियो ।
 

 

प्रकाशित: २३ असार २०७३ ०९:०२ बिहीबार

नक्कली तस्विरका लागि माफी