खेल

नेपालको जितमा गुल्सन नायक

म्यान अफ दी म्याच पुरस्कार ग्रहण गर्दै नेपालका गुल्सन झा। तस्बिर: नागरिक

तीव्र गतिका बलर गुल्सन झाले अलराउन्ड प्रदर्शन गरेपछि नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा जित निकालेको छ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा एक सय ९२ रनको लक्ष्य नेपालले १३ बल बाँकी छँदा सात विकेटको क्षतिमा पूरा गर्दै तीन खेलको शृंखला १-१ को बराबरीमा ल्याएको छ। यसअघि पहिलो खेलमा भने नेपालले फराकिलो हार बेहोरेको थियो। दोस्रो खेलमा सुधारिएको बलिङ प्रेरणामा नेपालले मध्यम लक्ष्य पायो। जुन लक्ष्य तल्लो क्रमका ब्याट्सम्यान गुल्सनसहित सोमपाल कामी र आरिफ शेखले समालिएर ब्याटिङ गरी पूरा गर्दै जित दिलाए।

खाता नखोल्दै नेपालले पहिलो विकेटका रूपमा ओपनर अर्जुन साउदलाई गुमाउन पुग्यो।

अघिल्लो खेलमा अर्धशतक बनाएका अर्जुन हजरत बिलालद्वारा क्याच आउट भए। समालिन नपाउँदै नेपालले दोस्रो विकेट पनि गुमायो। अर्का ओपनर आसिफ शेख ६ रनमा नै पवेलियन फर्किए। एक छेउबाट इनिङ पतन भइरहँदा अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लले इनिङ समाल्ने प्रयास गरे।

यद्यपि, मल्ल २६ रनमा रनआउट हुन पुगे। त्यसअघि नेपालले कप्तान रोहित पौडल (८ रन) लाई गुमाइसकेको थियो। १७.३ ओभरमा चार विकेट पतन हुँदा नेपालको खातामा ५४ रन थियो। त्यसपछि कुशल भुर्तेलले इनिङ समाल्दै ३५ रन जोडे।

रोहन मुस्तफाद्वारा आउट हुनुअघि उनले ५२ बलमा ६ चौका हिर्काए। २४.४ ओभरमा दीपेन्द्रसिंह ऐरी १३ रनमा आउट भएका थिए। ३० ओभरमा नेपालले छैटौं विकेटका रूपमा कुशललाई गुमायो। तर, त्यसपछिका ब्याटर आरिफ, गुल्सन र सोमपालले समालिएर ब्याटिङ गर्दा जित दिलाए। गुल्सन सर्वाधिक ३७ रन बनाएर आउट भए। आरिफ ३३ रन र सोमपाल १६ रनमा नटआउट रहँदा नेपालले १३ बलअगावै लक्ष्य पूरा गर्‍यो। युएईका स्पिनर मुस्तफाले १० ओभरमा २४ रन मात्र खर्चेर तीन विकेट लिए।

हजरत बिलालले दुई र बासिल हामिदले एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङका लागि आएको युएईले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९१ रनको झीनो योगफल खडा गरेको थियो। युएईले १० ओभरमा ७० रन जोड्दा विकेट गुमाएको थिएन। तर, थप १ सय २१ रन जोड्न युएईले १० विकेट नै गुमायो। नेपाली बलर लयमा फर्किएपछि युएईले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्न सकेन। युएईका ओपनर मुहम्मद वसिमले ५० रन जोडे। वसिमले ४६ बलमा तीन चौका र चार छक्का प्रहार गरे।

अलिसान सराफुले ३५ रन जोडे। ओपनर भ्रित्य अरविन्दले २५ रन र बसिल हमिदले २४ रन बनाए। नेपालको बलिङमा सोमपाल र ललित राजवंशीले तीन विकेट निकाले। सोमपालले ७.२ ओभरमा ३५ रन खर्चिए। ललितले १० ओभरमा ४१ रन खर्चिए। कुशल, दीपेन्द्रसिंह, गुल्सन र करण केसीले १/१ विकेट लिए। नेपाल पहिलो खेलमा ८४ रनले पराजित भएको थियो। तेस्रो तथा निर्णायक खेल शुक्रबार हुनेछ ।

प्रकाशित: १ मंसिर २०७९ ०२:३६ बिहीबार

एकदिवसीय क्रिकेट