तीन एक दिवसीय श्रृंखला अन्तर्गत पाहुना टोली युएईसँगको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा युएईले दिएको २ सय ६४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरको समाप्तिमा नौ विकेट गुमाएर मात्र १ सय ७९ रन जोड्न सक्यो।
रोहितकुमार पौडेलको कप्तानीमा मैदान उत्रिएको नेपालले जवाफी ब्याटिङ गर्ने क्रममा ओपनर अर्जुन साउद र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन। ओपनर अर्जुन साउदले ७९ बल खेल्दा ५ चौकाको सहयोगमा ५१ रन जोड्ने क्रममा पवेलियन फर्किन पुगेका थिए। चौथो विकेटको जाँदा स्कोरकार्डमा मात्र ४१ रन जोडेको नेपालले ५ विकेट जाँदा अर्जुनलाई गुमाउन पुगेको थियो।
यस्तै ८४ बलको सामना गरेका दीपेन्द्रले ५४ रन जोड्दा ६ चौका प्रहार गरेका थिए। यस बाहेक अर्का ओपनर आसिफ शेखले १२ रन जोड्दा गुल्सन झा १९ रनमा अविजित रहे। यस्तै डेब्युटेन्ट हरिशंकर साह ८ रनमा पवेलियन फर्किए। अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन्। नेपाललाई सस्तैमा समेट्ने क्रममा युएईका आयन अफ्जल खानले सर्वाधिक ४ विकेट लिए। बसिल हामिदले २ तथा जाहोर खान, रोहन मुस्तफा र अहमेद राजाले १÷१ विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले रोहन मुस्ताफाको अर्धशतकको सहयोगमा नेपालामु जितका लागि २ सय ६३ रन बनाएको थियो। युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६३ रनको योगफल बनाउँदा मुस्ताफाले अर्धशतकीय पारी खेलेका हुन्। ७७–२ को स्थितीमा ब्याटिङका लागि आएका मुस्ताफाले ७३ बलमा ७ चौकाको मद्दतमा ५३ रन बनाए। त्यस्तै ओपनर अरविन्दले ४० रन बनाए। अरविन्दले पहिलो विकेटका लागि अर्का ओपनर मुहामेद वासिमसँग ७५ रनको साझेदारी गरेका थिए। वासिमले ४१ कलमा ६ चौका र १ छक्का मद्दतमा ४४ रन जोडे। बलिङतर्फ नेपालका गुल्सन झाले २ तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए।
नेपाल डिसेम्बरमा आइसिसी विश्वकप क्रिकेट लिग टु का लागि नामिबिया भ्रमणमा जाँदैछ। त्यसैले युएईबिरुद्धको श्रृंखलालाई नेपालले अभ्यासको रुपमा लिएको छ। तीन एक दिवसीय श्रृंखलाअन्तर्गत दोस्रो खेल बुधबार र अन्तिम खेल शुक्रबार हुनेछ।
प्रकाशित: २८ कार्तिक २०७९ ११:५० सोमबार