बाग्मती प्रदेश अन्तिम ओभरमा एक रन बनाउन असफल हुँदा खेल टाई भएसँगै मधेस प्रदेशले जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा स्थान बनाएको छ।
एक सय ९१ रनको लक्ष्य पछ्याएको बाग्मती निर्धारित ५० ओभरको खेल सकिन चार बल बाँकी छँदा नै एक सय ९० रनमा अलआउट भयो। बाग्मतीलाई अन्तिम ओभरमा मात्र एक रन जोड्न रोक्दै मधेस प्रदेश खेलमा टाई गर्न सफल भयो। त्यो टाईसँगै १/१ अंक बाँडिएपछि एक खेलअगावै मधेस अन्तिम चारमा प्रवेश गर्यो। मधेस पहिलो पटक प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। बाग्मतीसँग मधेसको हारले लुम्बिनी प्रदेशको सेमिफाइनल सम्भावना पनि जीवन्त रहन्थ्यो। यद्यपि, रोमाञ्चक रूपमा खेल टाई भएपछि मधेस सेमिफाइनलमा पुग्यो। समूह ‘बी’ बाट एक खेलअगावै पुलिस सेमिफाइनलमा पुगिसकेको छ। यस समूहमा समान तीन खेलबाट पुलिसको ६ अंक र मधेसको पाँच अंक छ। यस समूहको अन्तिम खेलमा मंगलबार यी दुईबीचकै प्रतिस्पर्धाबाट समूहविजेता टुङ्गो लाग्नेछ।
अर्को समूह ‘ए’ बाट एपिएफ चार खेलबाट सात अंकसहित शीर्ष टोलीका रूपमा सेमिफाइनलमा पुगेको छ। मंगलबार त्रिभुवन आर्मी क्लबले कर्णालीमाथि जित निकाल्दा सेमिफाइनलमा स्थान बनाउनेछ। आर्मी पराजित हुँदा भने गण्डकी सेमिफाइनलमा पुग्नेछ। आर्मी तीन खेलबाट ४ अंकका साथ तेस्रो स्थानमा छ। गण्डकी चार खेलबाट पाँच अंकका साथ दोस्रो स्थानमा छ।
सोमबार मधेसले महत्वपूर्ण एक अंक बटुल्दा राजेश यादवको प्रदर्शन यादगार रह्यो। बाग्मतीलाई ६ बलमा एक रन बनाउन रोकेका राजेशले बलिङमा ३÷२२ को प्रदर्शन गरे। यस क्रममा उनले बाग्मतीका कप्तान ज्ञानेन्द्र मल्ललाई २ रनमा र विकेटकिपर दुर्गेश थापा खाता नखोल्दै आउट गरे। उनले अन्तिम ओभरमा युवा ब्याटर रिजन ढकाललाई आउट गर्दै महत्वपूर्ण एक अंक पनि दिलाए।
रोशन विकको ६३ रनको अर्धशतकीय योगदानका बावजुद मधेस ४६.२ ओभरमा समेटिँदा एक सय ९० रनको मध्यम योगफल खडा गर्यो। ओपनर सन्तोष कार्कीले २३ रन र राजेशले १६ रन जोडेका थिए। मध्यम लक्ष्यका बावजुद अनुशासित बलिङ प्रेरणामा मधेसले उक्त लक्ष्य रक्षा गर्यो। मधेसका प्रदीप पासवानले तीन तथा रूपेश सिंहले दुई र हरिशंकर साहले एक विकेट निकाले। सोमबार नै सान्त्वना जितको खोजीमा रहेको सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशमाथि पाँच विकेटको सफलता निकाल्यो।
एक सय ५१ रनको लक्ष्य पछ्याएको सुदूरले पाँच विकेटको क्षतिमा १ सय २२ बलअगावै पूरा गर्यो। सुदूरले जितसहित प्रतियोगिताको यात्रा टुङ्ग्याउँदा कर्णालीले अन्तिम खेल मंगलबार आर्मीसँग खेल्नेछ।
प्रकाशित: २२ कार्तिक २०७९ ०२:१६ मंगलबार