खेल

प्रधानमन्त्री कप क्रिकेटः लुम्बिनी र आर्मी विजयी

प्रदेश १ माथि आइतबार ३९ रनको जित निकालेको लुम्बिनी प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइलन सम्भावना जीवितै राखेको छ।  

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा  समूह ‘बी’ को चौथो खेलसँगै लुम्बिनी सेमिफाइनल प्रवेशका लागि अन्य टोलीको नतिजामा भर पर्ने पक्का भएको हो।  लुम्बिनीको समूह ‘बी’ मा चार खेलबाट चार अंक रहेको छ र तेस्रो स्थानमा छ।  दुई खेल कम खेलेको मधेस प्रदेश चार अंकसहित दोस्रो स्थानमा छ। यस समूहबाट अन्तिम चारमा मधेसको बलियो सम्भावना रहेको छ। उसले बाँकी खेल जिते सिधै सेमिफाइनलमा पुग्नेछ। चार खेलबाट दुई अंक जोडेको प्रदेश १ र बिना अंक तालिकाको पुछारमा रहेको वागमती प्रदेश भने समूह चरणबाट बाहिरिसकेका छन्। तीन खेलबाट सत प्रतिशत जितसहित नेपाल पुलिस क्लव एक खेल अघि नै अन्तिम चारमा प्रवेश गरिसकेको छ।

लुम्बिनी प्रदेशले दिएको २ समय ९१ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले ४६ ओभरमा सबै विकेट गुमाएर २ सय ५१ रनमा समेटियो। जवाफी ब्याटिङ गरेको प्रदेश १ का लागि दुई खेलाडीले अर्धशतकीय इनिङ खेलपनि टोलीको हार टार्न सकेनन्। कप्तान सिद्धान्त लोहनीले ६० बलमा १० चौका र दुई छक्का मद्दतमा सर्वाधिक ७४ रन बनाउँदा ओपनर अंकित सुवेदीले ४८ बलमा १० चौकासहित ५२ रनको पारी खेलेका थिए।  

यसैगरी निरज मुखियाले ३७ बलमा ४६ रन जोडे। सोनु मण्डल २०,श्रवण यादव १५ र फिर्दोस अन्सारीले १६ रनको योगदान गरेका थिए। ओपनर निरज र अंकितले पहिलो विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए। बलिङतर्फ लुम्बिनीका दुर्गेश गुप्ता, बसिर अहमद र देव खनालले समान दुई विकेट लिए। यस्तै, नरेश नेपाली, अनिल खरेल र तुलबहादुर थापाले समान एक विकेट हात पारे।

यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले पूरै ५० ओभर खेल्दै आठ विकेटको क्षतिमा २ सय ९० रन बनाएको थियो। लुम्बिनीका कप्तान देवले ९८ बलमा ११ चौका  मद्दतमा  ८९ रन बनाएका थिए। आकाश त्रिपाठीले ४५ रन जोड्दा सन्दीप रिजालले ४४, विशाल विक्रम केसीले ३२ तथा कृष्ण कार्कीले ३१ रनको व्यक्तिगत स्कोर गरेका थिए। बलिङतर्फ दीपक जोशीले सर्वाधिक ४ विकेट निकाल्दा श्रवण यादवले २ तथा लुभ कामतले १ विकेट हात पारेका थिए।

यस्तै आइतबार मुलापानी मैदानमा विभागीय टोली त्रिभुवन आर्मी क्लवले गण्डकी प्रदेशमाथि ६९ रनको जित निकालेको छ। समूह तालिकामा एक स्थानमाथि रहेको गण्डकीलाई हराउने क्रममा आर्मीका सुशन भारीको ५ विकेटको सहयोगमा आर्मीले सहज जित निकालेको हो। यस जितसँगै आर्मीले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सेमिफाइनल सम्भावना कायमै राखेको छ।

४७.४ ओभरमा सबै विकेट गुमाएर दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३३.२ ओभरमा मात्र ९६ रन जोड्न सक्यो। जवाफी ब्याटिङ गरेको गण्डकीका लागि ओपनर समिर कडेलले ३९ रन जोड्दा अर्जुन कुमालले १४ रनको योगदान गरे। कप्तान विपिन खत्रीले १९ रन जोडे। कुनै समय ४१–१ को स्थितीमा रहेको गण्डकीले थप ५५ रन जोड्दा बाँकी ९ विकेट गुमाउँदै आर्मीलाई अंक सुम्पिएको हो। यस क्रममा मध्य क्रमका ब्याट्सम्यानले सम्हालिएको प्रदर्शन गर्न सकेनन्। गण्डकीलाई न्युन स्कोरमा सिमित गर्न आर्मीका सुशनले ९ ओभरभमा १४ रन खर्चंदै ५ विकेट लिए। उनी म्यान अफ दि म्याच पनि घोषित भए। उनका अलावा सहाब आलम र कुशल मल्लले समान २ विकेट लिए। यस जितपछि समूह ए मा आर्मीको ३ खेलमा ४ अंक छ भने दोस्रो स्थानको गण्डकीको ४ खेलमा ५ अंक छ। शीर्ष स्थानको एपिएफएको ४ खेलमा ७ अंक छ । एपिएफ समूह ए बाट सेमिफाइनल प्रवेश गरिसकेको छ।

यसअघि टस हारेर ब्याटिङ गरेको आर्मीका लागि कप्तान विनोद भण्डारीले अर्धशतकीय पारी खेलेका थिए। ५४ रन जोड्ने क्रममा विनोदले ७९ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए।  त्यस्तै कुशल मल्लले  ४५ बलमा ३९ रनको योगदान गर्दा ओपनर अनिल मण्डलले २६ र अर्जुन साउदले  १३ रनको योगदान गरे। अर्जुन र अनिलको जोडीले आर्मीलाई पहिलो विकेटको लागि ४३ रनको साझेदारी गरेका थिए। यसबाहेक भीम सार्की र विनोदले ७९ रनको साझेदारी गरेका थिए। अन्य खेलाडीले भने सम्झन लायक प्रदर्शन गर्न सकेनन्। बलिङतर्फ गण्डकी प्रदेशका विपिन खत्रीले सर्वाधिक चार विकेट लिए। १० ओभर बलिङ गरेका विपिनले दुई मेडन ओभर राख्दै २३ रन खर्चिएका थिए। यसैगरी कमल परियारले दुई विकेट निकाल्दा अमित गुरुङ, सुवास भण्डारीले समान एक÷एक विकेट हात पारे।

प्रतियोगितामा सोमबार पनि दुई खेल हुनेछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा वागमती प्रदेश र मधेस प्रदेश तथा मुलपानी मैदानमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबीच खेल हुनेछ।  

प्रकाशित: २० कार्तिक २०७९ १२:०२ आइतबार

‘प्रधानमन्त्री कप’