खेल

बार्सिलोनाका डिफेण्डर जेरार्ड पिकेद्वारा सन्यास घोषणा

बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् ।

उनले शनिबार घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाका लागि अन्तिम खेल खेल्दै बिदा हुने जनाएका छन् भने  तत्काल लागु हुने गरी सन्यास घोषणा गरेका छन्।  

‘मैले सधैँ भन्दै आएको छु कि बार्सा बाहेक त्यहाँ अर्को कुनै टिम हुने छैन र अब पनि त्यही हुनेछ । आउने शनिबार क्याम्प नोउमा मेरो अन्तिम खेल हुनेछ,’ उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै भनेका छन्।

उनकाे अन्तिम खेलमा बार्सिलोनाले ला लिगा अन्तर्गत अल्मेरियासँग खेल्नेछ।

स्पेनिस डिफेन्डर पिके २००८ मा म्यान्चेस्टर युनाईटेडबाट बार्सिलोना आएका थिए भने सन् २०१८ मै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए तर क्लब फुटबललाई भने निरन्तरता दिएका थिए।

उनले बार्सिलोनाका लागि ६०० भन्दा बढी खेल खेलेका छन्।  जसमा आठ ला लिगा उपाधि, तीन च्याम्पियन्स लिग र सात कोपा डेल रे उपाधि सहित ३० ट्रफी जितेका छन्। स्पेनका लागि १०२ क्याप जितेर उनले सन् २०१८ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए।

उनले स्पेनबाट २०१२ को युरोकप र ​​२०१० को विश्वकप जितेका थिए।

प्रकाशित: १८ कार्तिक २०७९ ०६:४६ शुक्रबार

बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके सन्यास फुटबल