खेल

१६ वर्षदेखि कतारमै प्रशिक्षण

कतारका फुटबल खेलाडीले राष्ट्रिय टोलीलाई परिवार मान्छन् र प्रशिक्षक फेलिक्स सान्चेज यही परिवारका प्रमुख सदस्य हुन्,जो युवा टोलीलाई घरेलु मैदानमा हुन लागेको विश्वकपका लागि तयार पारिरहेका छन्।

सान्चेजकै प्रशिक्षणमा कतारले सन् २०१९ मा जापानलाई ३–१ ले स्तब्ध पार्दै एसिया कपको उपाधि जितेको थियो। सान्चेजकै प्रशिक्षणमा कतार घरेलु मैदानमा विश्वकपमा समेत दरिलो उपस्थिति जनाउन चाहन्छ। कतार विश्व फुटबलमा उदाउँदो शक्तिका रूपमा रहेको प्रमाणित गर्ने लक्ष्यमा छ। बार्सिलोनामा युथ एकेडेमीमा १० वर्ष बिताएका सान्चेजले कतारमा प्रशिक्षण सुरु गरेको १६ वर्ष बितिसकेको छ। यस क्रममा उनले कतारका विभिन्न क्लबको समेत प्रशिक्षण सम्हालेका छन्। सन् २००६ मा कतारको एस्पायर एकेडेमीमा उनी प्रशिक्षकका रूपमा भित्रिएका थिए।

‘बार्सिलोनाका एक दशक युवा टोलीलाई प्रशिक्षण दिने क्रममा मैले धेरै कुरा सिकें,’ सान्चेजले भने, ‘तर कतारको राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेपछि मात्र मैले आफ्नो ज्ञानलाई व्यवहारमा उतार्ने अवसर पाएँ।’

एस्पायर एकेडेमीमा सान्चेजले सुरुआती दिनमा दैनिक दुई पटक प्रशिक्षण दिन सुरु गरेका थिए। कतारी फुटबलका लागि सबैभन्दा ठूलो उपलब्धि भनेको सन् २०१० मा कतार विश्वकप २०२२ को आयोजना अधिकार पाउनु थियो। सान्चेजको नेतृत्वमा सर्जियो एलेग्री, अल्बेर्टो मेन्डिज भियान्युभा र कार्लोस डोमिनिच मोन्फोर्टेले कतारको नयाँ पुस्ताका खेलाडीलाई प्रशिक्षणको सुरुआत गरेका थिए।

 यसै क्रममा उनले सन् २०१३ मा कतारको यु–१९ टोलीको प्रशिक्षण सम्हाल्ने अवसर पाए, जसलाई उनले खेर जान दिएनन्। टोलीले सोही वर्ष यु–१९ एसिया कपको उपाधि जित्यो। सो टोलीमा एस्पायर एकेडेमीका पाँच खेलाडी समावेश थिए। उनीहरूले त्यसअघि नै सान्चेजको प्रशिक्षणमा खेलिसकेका थिए। यु–१९ बाट कतारको राष्ट्रिय युवा टोलीको प्रशिक्षण सुरु गरेका सान्चेजले यु–२०, यु–२३ हुँदै सन् २०१७ मा सिनियर राष्ट्रिय टोलीको प्रशिक्षणको जिम्मेवारी पाएका थिए। एसिया कपको विजेता कतार नोभेम्बर २० बाट सुरु हुने विश्वकपको समूह चरण पार गर्नेमा आशावादी देखिएको छ। कतारले इक्वेडरविरुद्धको खेलसँगै विश्वकप यात्राको थालनी गर्नेछ।

कतारसँगै समूह ‘ए’ मा इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स छन्। 

प्रकाशित: १७ कार्तिक २०७९ ०२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App