खेल

सन्दीपको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

फाइल तस्बिर।

नाबालिका किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको छ।

सो मुद्दा मंगलबार घिमिरेको इजलासमा परेसँगै सन्दीपको बयान लिइरहेको छ। किशोरीलाई जबर्जस्तीकरणी गरेको अभियोगमा १२ वर्षसम्मको सजाय माग गर्दै सोमबार मुद्दा दर्ता भएको थियो। जिल्ला सरकारी वकील कार्यालय काठमाडौँले प्रहरीले गरेको अनुसन्धान र प्रतिवेदनको आधारमा मुद्दा दर्ता गरेको हो।

थुनछेक बहस सकिएपछि उनलाई थुनामै राखेर अनुसन्धान गर्ने वा थुनाबाहिर राखेर भन्ने विषयमा अदालतले आदेश दिनेछ। सुरुमा मुद्दाको प्रतिवादी सन्दीपको बयान गरिने अदालती प्रक्रिया हुन्छ। बयानपछि उनलाई थुन्ने वा छोड्ने भन्ने बहस हुनेछ। कानुन व्यवसायीको संख्याको आधारमा बहस कहिले सकिने भन्ने निक्र्यौल हुने काठमाडौं जिल्ला अदालत प्रशासनले जनाएको छ। त्यसपछि पीडित किशोरीले अदालतमै बकपत्र गर्नुपर्नेछ।

मुलुकी अपराध संहिताको दफा २१९ मा जबर्जस्तीकरणी कसुरको विषयमा उल्लेख छ। ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर पनि १८ वर्ष भन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जर्बजस्तीकरणी गरेको मानिनेछ,’ लेखिएको छ।  

त्यसको उपदफा (घ) मा ‘१६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म’ सजाय हुने व्यवस्था गरिएको छ। सन्दीपविरुद्ध यसै दफामा टेकेर मुद्दा दर्ता गरिएको छ।  

नेपाली क्रिकेट टोलीका कप्तान रहेका लामिछानेविरुद्ध काठमाडौंको गौशाला प्रहरीमा जाहेरी दर्ता भएदेखि उनी निलम्बनमा रहेका छन्। गत असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका उनी प्रहरी हिरासतमै रहेका छन्।  

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले सन्दीपमाथि लागेका आरोप विषयमा अनुसन्धान सकेर कात्तिक ४ मा प्रतिवेदन बुझाएको थियो। लगातार तिहार बिदा भएकाले मुद्दा दर्तामा केही दिन ढिलाई भएको हो।  

जाहेरी दर्तापछि प्रहरीले घटनास्थल विवरण, कसूर भएको स्थानको वस्तुस्थिति मुचुल्का, खानतलासी, बरामदी मुचुल्का, ज्यान मरेको कसूर भए लास जाँच मुचुल्का तथा अन्य कसूर भए त्यस्तो कसूरको प्रकृति अनुसार प्रतिवेदन तयार पार्नुपर्ने कानुनी व्यवस्था छ। कुनै पनि आरोपित व्यक्तिलाई अनुसन्धानको लागि एकै पटक वा पटकपटक गरी बढीमा २५ दिनसम्म हिरासतमा राख्ने व्यवस्था छ।

सन्दीपमाथि एक १७ वर्षीया नाबालिका किशोरी बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्। भदौको तेस्रो साता किशोरीका दाजुले प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएका थिए। जाहेरीमा भदौ ५ मा किशोरीको अनुमति बिना भक्तपुरको नगरकोट घुम्ने बहानामा लगेको र जानाजान रात पारी काठमाडौंको सिनामंगलस्थित एक होटलमा पुर्‍याई नशामा लठ्याई दुईपटक बलात्कार गरेको आरोप लगाएकी थिइन्।  

यता सन्दीपले भने आफ्नो आरोप लगाउँदासाथ करिअर सकिनेगरी गोपनीयता भंग भएको अदालतमा गुनासो गरेका थिए। अन्तर्राष्ट्रिय क्रिकेट खेलमा लगातार लोभलाग्दो प्रदर्शन गरेका उनलाई नेपाली क्रिकेट टोली कप्तानको जिम्मेवारी दिइएको थियो। अन्तर्राष्ट्रिय पहिचान बनाएका सन्दिपमाथि जबर्जस्ती करणीजस्तो गम्भीर अपराधको आरोप लागेपछि उनी अनुबन्धित भएको खेलसमेत खेल्न नपाइ नेपाल फर्केका थिए।

प्रकाशित: १५ कार्तिक २०७९ ०६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App