खेल

टेनिस र १० के रोड रेसको मिति तय

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस र चौथो संस्करणको १० के रोड रेस आयोजनाका लागि मिति सार्वजनिक गरेको छ। कमिटिले काठमाडौंमा सोमवार पत्रकार सम्मेलन गरी दुई खेलका राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने जनाएको हो।

स्पोर्ट्स कमिटिले कात्तिक १९ देखि २६ सम्म टेनिस प्रतियोगता आयोजना गर्ने जनाएको छ भने पुस २३ गते शनिबार चौथो वीर गणेशमान सिंह १० के रोड रेस गर्ने जनाएको हो। पहिलो चरणमा आयोजना गर्न लागेको टेनिस प्रतियोगिता सातदोबाटोस्थित टेनिस कोर्टमा गर्ने प्रतियोगिताका संयोजक सञ्जीव तुलाधरले जानकारी दिए। एक साता लामो चल्ने प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिष्पर्धा हुनेछन् भने सातदोबाटोको सबै कोर्टमा प्रतियोगिता गर्ने आयोजकले जानकारी दियो। प्रतियोगिता अन्तर्गत टेनिसको महिला पुरुष विजेताले ८० हजार, दोस्रोले ४० र तेस्रोले २० हजार पाउने जनाएको छ। महिला पुरुष डबल्सको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउनेछन्। यस्तै पुरुष ३५ वर्षमाथि एकलका शीर्ष तीनले क्रमशः ४० हजार,२० हजार र १० हजार पाउनेछन् भने पुरुष ३५ वर्षमाथि डबल्सका शीर्ष तीनले २५ हजार, १५ हजार र ५ हजार पाउनेछन्। 

पुरुष ४५ वर्षमाथि एकलतर्फको शीर्ष तीनले ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् भने ४५ वर्षमाथि डबल्सकाले २० हजार, १० हजार र ५ हजार पाउने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो। यस्तै ५५ वर्षमाथिका एकलले २० हजार, १० हजार र ५ हजार, ५५ वर्षमाथि डबल्सले १५ हजार, ८ हजार र ८ हजार र ६५ वर्षमाथिका शीर्ष तीनले १५ हजार, ७ हजार ५ सय र ५ हजार पाउनेछन्। टेनिस प्रतियोगिता आयोजनाका लागि भाष्करमन सिंहलाई संयोजक र प्राविधिक संयोजकमा प्रशिक्षक सूर्यभुषण बज्राचार्य रहेका छन्। त्यसैगरी, पुस २३ गते शनिबार चौथो वीर गणेशमान सिंह १० के रोड रेस आयोजना गरिने जनाएको छ। रोड रेसको संयोजकमा राजन खत्री रहेका छन्। रोड रेसको पुरस्कार लगायत अन्य विषयमा पछि जानकारी दिइने आयोजकले जनाएको छ।

प्रकाशित: १४ कार्तिक २०७९ १२:१९ सोमबार

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटि वीर गणेशमान सिंह राष्ट्रिय टेनिस