खेल

नेरी र अस्मिनाको धैर्यपूर्ण ब्याटिङ

नेरी थापा र अस्मिना कर्माचार्यले नवौं विकेटको लागि ५८ रनको अविजित साझेदारी गरेपछि नेपाल क्रिकेट संघ (क्यान) ११ ले पाहुना टोली मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) लाई दुई विकेटले पराजित गरेको छ।

पोखरा रंगशाला क्रिकेट मैदानमा शनिबार एक सय १४ रनको मध्यम लक्ष्य पछ्याएको क्यान-११ ले नेरी र अस्मिनाको महत्त्वपूर्ण साझेदारीमा जित निकाल्यो। एक समय हारको सँघारमा रहेको क्यान-११ आठ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै ४० ओभरको खेलमा जित निकाल्न सफल भयो। अस्मिनाले विजयी चौका प्रहार गर्दै क्यान–११ को जित पक्का गरिन्।

आठौं नम्बरमा क्रिजमा ओर्लिएकी नेरी ३३ रनमा अविजित रहँदै क्यान-११ लाई पुनरागमन गराउन सफल भइन्। नेरीले ४८ बल खेल्दै क्यान–११ लाई जितको सम्भावनामा पुर्‍याउँदा अस्मिनाले पनि ४८ बलमा अविजित १८ रन जोड्ने क्रममा विजयी सट हिर्काइन्। तीन विकेट पतनमा क्यान–११ ले रनको खाता खोल्न सकेको थिएन। यस क्रममा काजल श्रेष्ठ, सीता रानामगर र इन्दु बर्मा शून्यमै पवेलियन फर्किए। क्यानले खातामा २० रन जोड्न ५ विकेट नै गुमायो। त्यस पछि खाता थप १६ रन जोडेपछि घरेलु टोलीले छैटौं विकेट पनि गुमाउन पुग्यो।

खराब ब्याटिङ सामना गरिरहेको क्यानलाई महत्त्वपूर्ण साझेदारीको खाँचो थियो र अनुभवी नेरीले उत्कृष्ट प्रदर्शन गरेपछि घरेलु टोलीले साँघुरो जित निकाल्यो।

त्यसअघि रुबिना क्षेत्रीले १३ रन र कविता कुवँरले १६ रनको योगदान गरिन्। पाहुना टोलीका लागि रिया राभल र रचेल पोटरले २/२ विकेट लिए। टस जितेर ब्याटिङ गरेको एमसिसीले एक सय १३ रनको योगफल तयार पारेको थियो। क्लाइरी टेलोर र जेन्नी कितजिन्गरले पहिलो विकेटको लागि ३९ रनको साझेदारी गर्दै सुखद सुरुआत गरे।

टेलोरले २० रन र कितजिन्गरले २१ रनको योगदान दिइन्। टेलोरले ५२ बल खेल्दै एक चौका हिर्काइन्। कितजिन्गरले ५६ बलमा दुई चौका प्रहार गरिन्। एलिसा हबर्ड १३ रनमा आउट हुँदा अमान्डा पोटगियटरले १६ रनको योगदान दिइन्।

अमन्डा सीता रानामगरको बलमा स्टम्पिङ हुन पुगिन्। हबर्डलाई रुबिना क्षेत्रीले बोल्ड गरिन्। रुबिनाले आठ ओभरमा एक मेडनसहित तीन विकेट लिँदा १२ रन मात्र खर्चिइन्। सीताले आठ ओभरमा तीन विकेट लिँदा २९ रन बेहोरिन्। क्यान–११ की नेरी थापा प्लेयर अफ दी म्याच घोषित भइन्। नेपाल भ्रमणमा रहेको एमसिसीले पोखरामा दुई ट्वान्टी–२० र दुई एकदिवसीय खेल्नेछ।

प्रकाशित: १३ कार्तिक २०७९ ०३:०१ आइतबार

नेरी र अस्मिनाको धैर्यपूर्ण ब्याटिङ नेपाल क्रिकेट संघ (क्यान) ११