खेल

डी ब्रुयनाको गोल निर्णायक

केभिन डी ब्रुयनाको फ्रिकिक गोलमा लेस्टर सिटीमाथि १-० को जितसहित साबिकको विजेता म्यानचेस्टर सिटी शनिबार इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।

पछिल्ला चार अवे खेलमा निकालेको पहिलो जितपछि सिटीले शीर्ष स्थानमा एक अंकको अग्रता लिएको हो। सिटीको १२ खेलबाट २९ अंक छ। दोस्रो स्थानको आर्सनलको ११ खेलमा २८ अंक छ। सिटी ६ वर्षमा पाँचौं पटक प्रिमियर लिगको उपाधि जित्ने लक्ष्यमा रहेको छ। आइतबार नटिङ्घम फरेस्टविरुद्ध जित निकालेमा आर्सनल पुनः शीर्ष स्थानमा फर्कनेछ। १३ खेलबाट ११ अंक मात्र बटुलेको लेस्टर सिटी १७औं स्थानमा छ। लेस्टरको भने पछिल्ला चार खेलमा यो पहिलो हार हो।  

कुर्कुच्चाको चोटबाट पूर्ण रूपमा फिट नभएका कारण सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लयमा रहेका स्ट्राइकर इर्लिङ हालान्डलाई लेस्टरविरुद्ध आराम दिएका थिए। यसै सिजन मात्र जर्मन बुन्डेसलिगाको क्लब बोरुसिया डर्टमन्डबाट सिटी भित्रिएका हालान्डले सबै खाले खेलमा गरेर २२ गोल गरिसकेका छन्। हालान्डको अनुपस्थितिमा ग्वार्डिओलाले जुलियन अल्भारेजलाई अवसर दिएका थिए। जारी सिजन अल्भारेजले दोस्रो पटक पहिलो रोजाइमा अवसर पाएका हुन्। ४९औं मिनेटमा डी ब्रुयनाले गरेको गोल सिटीको जितमा पर्याप्त बन्यो। यसअघि किंग्स पावर स्टेडियममा पहिलो हाफमा घरेलु टोलीलाई दबाबमा राखे पनि सिटीले गोल खाता भने खोल्न सकेन। प्रिमियर लिगमा डी ब्रुयनाको यो ६०औं गोल हो। सन् २०२१ जनवरीपछि सिटीका कुनै पनि खेलाडीले फ्रिकिकमा गोल गरेको पनि यो पहिलो पटक हो।

लेस्टरका याउरी टेइल्सम्यानले टोलीलाई खेलमा फर्काउने अवसर पाए पनि त्यसको सदुपयोग गर्न भने सकेनन्। उनको प्रहार सिटीका गोलपिकर इडरसनले विफल पारेका थिए। सिटीका एल्के गुन्डोगानको प्रहार लेस्टरका गोलकिपर ड्यानी वार्डले विफल पारेका थिए भने रोर्डीको प्रहार पनि वार्डले नै रोके। वार्डले लेस्टरको संकट टार्ने क्रममा सिटीका बर्नाडो सिल्भाको प्रहारलाई पनि सफल हुन दिएनन्। लेस्टरका केलिची इहेनाचोले दुई पटक टोलीलाई खेलमा फर्काउने अवसर पाए पनि दुवै पटक असफल भए। उनको पहिलो प्रहार गोल पोस्ट नजिकैबाट बाहिरिएको थियो। उनको दोस्रो प्रहार भने इडरसनले राके।

प्रकाशित: १३ कार्तिक २०७९ ०१:४२ आइतबार

इङ्लिस प्रिमियर लिग डी ब्रुयनाको गोल निर्णायक