खेल

महिला साफ यु–१५ टोलीको बिदाइ

बंगलादेशमा मंगलबारबाट आयोजना हुने महिला साफ यु-१५ च्याम्पियनसिपमा सहभागी हुने नेपाल महिला टोलीलाई शुक्रबार बिदाइ गरिएको छ। शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमको आयोजना गरेर नेपाली टोलीलाई बिदाइ गरेको हो।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ लगायतको टोलीले बिदाइ गरेको हो। नोभेम्बर १ देखि ११ सम्म आयोजना हुने प्रतियोगितामा नेपाल, बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ। १२ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले भुटानसँग कात्तिक १५ गते खेल्दै च्याम्पियनसिपको यात्रा सुरु गर्नेछ।

डबल राउन्डमा हुने खेलमा नेपालले कात्तिक १९ गते आयोजक बंगलादेशसँग खेल्नेछ। त्यसपछि नेपालले फेरि कात्तिक २३ गते भुटान र कात्तिक २५ गते बंगलादेशसँग खेल्नेछ। डबल राउन्ड रोबिनपछि शीर्षस्थानमा रहने टोलीले च्याम्पियनसिपको उपाधि जित्नेछ।

नेपाली टोलीको कप्तानी दीपा रोकायले गर्नेछिन्। टोलीको प्रशिक्षकमा भगवती रानामगर, सहायक प्रशिक्षकमा मंगल महर्जन, गोलकिपर प्रशिक्षक छन्नुराम चौधरी र फिजियो सरिता बजगाई छन्। एन्फाले टोलीको व्यवस्थापकको जिम्मा पूर्णमाया सुब्बा लिम्बुलाई सुम्पेको छ। यसअघि प्रतियोगिताका लागि मुख्य प्रशिक्षक भगवती रानामगरले २४ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेकी छन। नेपाली टोली सहभागिता जनाउन शनिबार बंगलादेश प्रस्थान गर्ने तालिका रहेको छ।

नेपाली टोली

गोलकिपर: राधिका ओली, सुजाता तामाङ, रूपा धिमाल

डिफेन्डर: सीता रोकाया, अमिता भुल, दीपा मगर, अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु, विपना स्नेही

मिडफिल्डर: सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशीला केसी, सुक्रिया मिया, रेविका नेपाली, मनीषा सेन

फरवार्ड: दीपा रोकाया (कप्तान), समीक्षा मगर, वर्षा ओली, सेनु परियार।

प्रकाशित: १२ कार्तिक २०७९ ०१:५८ शनिबार

अखिल नेपाल फुटबल संघ (एन्फा) महिला साफ यु–१५ च्याम्पियनसिप