खेल

पीडा र उत्साहबीच नवौं राष्ट्रिय खेलकुद सम्पन्न

दसौं संस्करणमा कर्णाली प्रदेशमा भेट्ने वाचासहित गण्डकी प्रदेशको पोखरामा बिहीबार समापन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पीडादायी र केही उत्साहपूर्ण रह्यो। ३९ वर्षपछि पोखरामा फर्किएको नेपाली खेलकै ठुलो पर्व राष्ट्रिय खेलकुद एक दुःखद घटनाले पीडादायी रह्यो। यो प्रतियोगिता पोखरेलीका लागि केही उत्साहपूर्ण पनि बन्यो।  

प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई झन्डा हस्तान्तरण गर्दै दसौं संस्करणमा भेट्ने वाचासहित राष्ट्रिय खेलकुद सम्पन्न गरिएको थियो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ११५औं बोर्ड बैठकले दसौं संस्करण आयोजना गर्ने जिम्मेवारी कर्णालीलाई दिएको हो।  

४१ वर्षको इतिहास बोकेको राष्ट्रिय खेलकुद करिब तीन दशकपछि गण्डकीमा फर्कनुले पोखरेलीलाई उत्साह दियो। तर खेलका क्रममा एक दुःखद घटना पनि खेलकर्मीले सामना गर्नुपर्‍याे। प्राविधिक त्रुटिले उद्घाटन सत्र केही खल्लो पनि बन्यो। खेल प्रतिस्पर्धाका क्रममा प्याराग्लाइडिङका खेलाडी निसिम थापाको दुर्घटनामा परी निधन हुनुले नमेटिने घाउ नवौं संस्करणले पायो। जुन गण्डकी प्रदेश र समग्र खेलकर्मीले पनि बेहोर्नुपर्‍याे। राखेपले निसिमप्रति मानार्थ स्वर्ण पदक नै अर्पण गर्‍याे। युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले निसिमका काकालाई मानार्थ स्वर्ण पदक र प्रमाणपत्र हस्तान्तरण गरे। प्याराग्लाइडिङको मुख्य प्रतिस्पर्धा नहुँदै ट्रायलका क्रममा निसिम दुर्घटनामा परेका थिए। त्यसपछि प्याराग्लाइडिङका ६ विधाका कुनै पनि प्रतिस्पर्धा भएनन्। ट्रायलमै गरेको प्रदर्शनका आधारमा पदक निर्धारण भयो।  

नवौं राष्ट्रिय खेलकुदमा महिलातफर् दुई हजार सात सय १३ र पुरुषतर्फ तीन हजार चार सय १४खेलाडीसहित ६ हजार एक सय २७ जनाले ३६ खेलमा तीन सय ९६ विधाका लागि प्रतिस्पर्धा गरेका थिए। यो प्रतियोगितामा आर्मी लगातार तेस्रो पटक राष्ट्रिय खेलमा च्याम्पियन बन्यो।

दुईलाई स्वर्ण

जिम्न्यास्टिकको भल्टिङ टेबल विधामा स्वर्णका लागि एपिएफका सुनिता दर्नाल र सुनील निरौलाको समान ७.२ अंक भएपछि दुवैलाई स्वर्ण पदक दिइयो। राखेपले चार सय चार स्वर्ण पदकका लागि भिडन्त हुने उल्लेख गरे पनि पौडी, आर्चरी, प्याराग्लाइडिङमा २/२ तथा स्क्वास र सफ्ट टेनिसमा १/१ गरी कुल आठ विधाका खेल विभिन्न कारणले हुन सकेनन्।  

यसैबीच जिम्न्यास्टिकमा स्वर्ण बढेपछि फेरि एक बढेर कुल तीन सय ९७ स्वर्ण संख्या पुग्यो। एथलेटिक्सको चार गुणा चार सय मिटर महिला रिलेमा एपिएफका खेलाडी पहिलो भए पनि अयोग्य हुँदा दोस्रो स्थानको आर्मीले स्वर्ण पायो। ५ सय मिटरअगाडि नै एपिएफका खेलाडीले ट्रयाक परिवर्तन गरेपछि दोस्रो भएका आर्मीका खेलाडीलाई स्वर्ण दिइयो र एपिएफ पदकविहीन रह्यो।  

३७ कीर्तिमानमा २० अमान्य

यो राष्ट्रिय खेलकुद प्रतियोगितामामा एथलेटिक्समा १०, भारोत्तोलनमा १७ र पौडीमा २० कीर्तिमान बने। कीर्तिमानबापत खेलाडीले जनही ५० हजार रूपैयाँ पाउनेछन्। पौडीको प्रतिस्पर्धा फिस्टेल एकेडेमीमा भएका थिए। तर निर्धारित दुरीभन्दा त्यहाँको पौडी पोखरीको लम्बाइ तीन इन्च नपुगेपछि पौडीबाजले बनाएका २० कीर्तिमान अमान्य भएको प्राविधिक समितिले जनाएको छ। गण्डकी प्रदेशमा १२ दिनसम्म प्रतिस्पर्धा चल्यो। यद्यपि त्यसअघि क्रिकेट फ्रेन्चाइज लिगमा समय जुधेपछि राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटको विधा भने भदौमा नै सम्पन्न भइसकेको थियो। पौडीकै डुवाना लामाले सर्वाधिक ९ स्वर्ण जित्दा जिम्न्यास्टिकका राजु राईले ९ र एथलेटिक्सकी जयरानीले पाँच स्वर्ण जितिन्। सबैभन्दा कम उमेरकी सुदूरपश्चिमकी पौडीबाज रितिका बुमी सात वर्ष २२ दिनकी हँुदा स्क्वासका धनबहादुर घले पाका खेलाडी रहे। उनी ६१ वर्ष चार दिनका हुन्।  

व्यवस्थापकीय कमजोरी

जिम्न्यास्टिकमा पुरानो म्याटमा टेप टाँसेर खेलाइयो। भलिबल खेलका क्रममा पनि अव्यस्थित रूपमा म्याट ओछ्याउँदा ६ खेलाडी घाइते भए। पटकपटक प्राविधिक समितिले अनुगमन गर्दा पनि पौडीको निर्धारित दुरी कम हुनु दुःखदायी रह्यो। गैरआवासीय नेपाली संघ (एनआरएन) को सहभागिताबारे मापदण्ड नबनाइँदा एक खेल जितेपछि एनआरएनको फुटबल टोली बाहिरिनुपर्‍याे। 

प्रकाशित: ४ कार्तिक २०७९ ०२:०३ शुक्रबार

नवौं राष्ट्रिय खेलकुद